टिप्पणीबुधबार, ४ बैशाख , २०७६

आउला त्यो दिन

रुपा जोशी

समाज परिवर्तनको क्रम हेर्दा लाग्छ, मेरा नातिनीहरूले आफ्ना आमाभन्दा सम्मानजनक जीवन बिताउन सक्नेछन् तर, समतामूलक समाज निर्माणका लागि एउटा महत्वपूर्ण तगारो अझै बाँकी छ।

पति किरणराज जोशीलाई स्वयम्बरको टीका लगाइदिंदै लेखिका ।

मेरी बुढीसासू बिहे हुँदा ९ वर्षकी हुनुहुन्थ्यो, सासू ११ वर्षकी । त्यतिबेला केटी माग्न आएपछि कुल–खानदान हेरेर ‘लौ त’ भन्ने चलन थियो । तराईमा जन्मेकी मेरी आमाले आफ्नी आमाको काख १० वर्षको उमेरमै छोड्नु प‍र्‍यो, काठमाडौंको घरमा भित्रिनलाई ।

मामा घरकी हजुरआमाले उतिबेलै आमालाई ‘घर खाने’ ज्ञान हस्तान्तरण गरिसक्नुभएको थियो— मुख्यतः कसरी सासू रिझाउने ! ४५ वर्षअघि मेरो बिहेको कुरो चल्दा १६ वर्षकी म, स्कूल पढ्दै थिएँ । मलाई चाहिं ‘घर खाने र रिझाउने’ सीप सिकाइएन । कसैले सोध्दा, आमाले ‘सिकिहाल्छे नि’ भनेको सम्झन्छु ।

मलाई बिहे गर्न पटक्कै मन नभए पनि झण्डै पाँच दशक अघिको माहोलमा, नाइँ भन्ने कुरो आउँदैनथ्यो । बाबुआमा, अझ विशेषगरी बाबुले भनेपछि उ बेला अकाट्य नै हुन्थ्यो, इन्कारीको गुञ्जाइस नै थिएन । समय र समाज बदलिंदै जाँदा, दशकौंपछि मेरा तीनै जना छोराछोरीले ३० वर्षको हाराहारीमा आफ्नो रोजाइको बिहे गरे ।

सबैले आफ्नो जीवनसाथी आफ्नो विरादरी (जात) भन्दा बाहिर रोजे, हामी सबैलाई स्वीकार्य भयो । कान्छी छोरीले आफ्नो बिहेको विधिमा ‘कन्यादान’ बहिष्कार गर्ने निर्णय गरिन्— ‘म वस्तु वा गाई हैन दान गरिनलाई’ भन्दै । शतक पार गरेकी जिजुमुमादेखि पूरै परिवारको समर्थन जित्‍न सफल भइन्, र त्यही अनुसार उनको बिहे सम्पन्न भयो । आफ्नै परिवारका यी घटना नियाल्दा पनि नारी स्वतन्त्रताका हकमा समाजले मारेको फड्को बारे केही अड्कल गर्न सक्छु ।

उमेरले गर्दा कत्ति फरक पर्छ– बच्चामै बिहे हुनु र आत्मनिर्भर भई आफ्नो निर्णय आफैं गर्न सक्ने उमेरमा अर्को व्यक्तिसित जिन्दगी बिताउने फैसला गर्नुमा । आफ्नाबारे केही सोच्न सक्ने नहुँदै घुम्टोभित्र पसाइँदा केटीहरूको व्यक्तिगत विकास नै रोकिन्छ । मेरो बिहे पढ्न प्रोत्साहन गर्ने घरमा भए पनि, आफ्नो आकांक्षा बुझ्न र के पढ्ने छनोट गर्न मलाई निकै समय लागेको थियो ।

१८ वर्षकी हुँदा म आमा बनिसकेकी थिएँ । युनिसेफमा काम शुरू गरेपछि मात्र बोध भयो– जीउ परिपक्व नहुँदै गर्भ रहँदा र सानैमा सुत्केरी हुँदा के के जोखिम थिए, भन्ने । अझ कामको सिलसिलामा गाउँ घुम्दा धेरै दिदीबहिनीले ३० वर्ष पुग्दासम्म ६–७ वटा सन्तानको आमा भइसकेको कुरा सुनाउँथे ।

लैंगिक विभेदका धेरै खाडल पुरिंदै गए पनि, नागरिकता सम्बन्धी विद्यमान व्यवस्थाले अहिलेसम्मका सबै उपलब्धिलाई गिज्याइरहेको छ।

शहरतिर हजुरआमाको पालाको जस्तो सुनिने यो कुरा कतिपय गाउँमा हिजो–आजकै हो । बच्चा पाउने मेशीन जस्तो वर्षेनि पेट बोक्ने, त्यसमाथि लालाबालाको देखभाल र घरको कामधन्दा भ्याई–नभ्याई हुँदा आफ्नो बारेमा सोच्ने कहिले ? मलाई लाग्छ केटा र केटी बीचमा समाजले खनेको खाडल पुर्नका लागि आधारभूत काम हो– बालविवाहको अन्त्य ।

कत्ति दिदीबहिनीले छोराको आशामा लस्करै छोरी जन्माएको बताउँथे । मेरै पनि पहिलो सन्तान छोरा भएपछि परिवारजनलाई एक किसिमको राहत महसूस भएको थियो । अहिले, विशेषगरी शहरतिर छोरा कुर्ने चाहना विलाउँदैछ । एउटै सन्तान छोरी पाएर ढुक्कले बस्नेहरू बढेका छन् ।

मेरै दुवै छोरीहरू छोरी पाएर दंग छन् । मैले जेठी छोरी जन्माउँदा ‘छोरी पाउँदा पनि कस्तो दंग परेकी’ भन्ने बुढीसासू अहिले १०४ वर्षको उमेरमा सबैलाई ‘बुझयौ, पाउनुपर्ने छोरी नै रैछ !’ भन्न थाल्नुभएको छ ! समाजले छलाङ अवश्य मार्दैछ ।

संसारैभरि, र हाम्रो भेकतिर पनि, हुर्काइका बेलादेखि नै केटा र केटीका लागि बेग्लाबेग्लै अलिखित नियमहरू बनाइएको छ । परम्परा वा चलनका नाममा मनभित्र गडेका त्यस्ता नियम हटाउन निकै कसरत गर्नुपर्छ ।

कतिपय यस्ता कुरामा छोराछोरी नै मेरा गुरु बनेका छन् । पढेलेखेकी, देश–विदेश डुलेकी, मानवअधिकारबारे जानकार ठान्ने मलाई त्यसबेला आफैंलाई लोप्पा खुवाउन मन लाग्यो, जब जग्गेमा जेठी छोरीलाई दुलाहाको खुट्टा ढोग्न भनिंदा ज्वाईंले रिसाउँदै त्यसो गर्न दिएनन् । मैले त्यो विधिबारे धेरै सोच्दै नसोची, ‘चलन’ मानेर निरन्तरता दिएकी रहिछु ।

अहिले नातिनातिनाको हुर्काइ देखिरहँदा लाग्छ, मैले छोराछोरी हुर्काउँदा केही कुरामा लैंगिक ‘यथास्थितिवाद’ लाई पनि निरन्तरता दिएकी रहेछु । यद्यपि, पुस्तान्तर हुँदै गर्दा यस्ता विषयमा प्रगति हुँदै गएको छ । मेरी सासू सानैमा आफ्ना भाइहरूसित भकुण्डो खेल्दा, आफन्तले उहाँकी आमालाई ‘छोरीलाई छाडा बनाउन लागेकी’ भनेर हपारेका थिए रे !

मैले जेठी छोरी जन्माउँदा ‘छोरी पाउँदा पनि कस्तो दंग परेकी’ भन्ने बुढीसासू अहिले १०४ वर्षको उमेरमा सबैलाई ‘बुझ्यौ, पाउनुपर्ने छोरी नै रैछ !’ भन्न थाल्नुभएको छ ! समाजले छलाङ अवश्य मार्दैछ।

म चाहिं दाजुहरूसँग उहाँहरू जस्तै खेल्दै–पढ्दै हुर्किएँ– लुगा लगाइ, हिंडाइमा‍ केही छेकबार भएन । अहिले भूमण्डलीकरणको समयमा मेरा छोरीहरूले आफ्ना छोरी हुर्काउने क्रममा लैंगिक हिसाबले सोचविचार गरेर व्यवहार गर्छन् । म उनीहरूसित पनि सिक्दैछु, र आफूले नजानेर त्यसबेला गरेका गल्ती महसूस गर्दैछु ।

पहिरन र बोलीले पनि बालबालिकाको संसार हेर्ने दृष्टिमा प्रभाव पार्छ भन्नेमा चनाखा छन् उनीहरू । त्यसैले सक्दो ‘जेन्डर न्युट्रल’ तरिकाले व्यवहार गर्छन् हुर्कंदो उमेरका छोरीहरूसँग । कठिन छ, तर कोशिश गरेका छन् । छोरी भनेपछि, पुतली र ‘घर–घर’ खेल्नुपर्ने, गुलाफी लुगाफाटा लगाउनुपर्ने मान्यतालाई लत्याउँदै उनीहरूले हवाईजहाज, डायनोसरका बुट्टा भएका, कालो, हरियो, नीलो रङका केटाले लगाउने भनिएका जस्ता लुगा खोजीरोजी लगाइदिन्छन् ।

बार्बी पुतली त बहिष्कार नै गरेका छन् । दिमाग चलाउनुपर्ने खेललाई जोड दिएका छन् । नातिनीहरूलाई घरमा ‘कस्ती राम्री !’ या ‘नक्कली’ भनिंदैन बरु, उनीहरूको व्यवहार, खेल वा अरू कार्यमा जोड दिंदै ‘गज्जब राम्रो ग‍र्‍यौ’, ‘स्याबास् !’ भनेर तारिफ गरिन्छ ।

आफ्ना छोरीहरू ठूलो भएर, आत्मविश्‍वासका साथ समाजले कोरेको ‘केटीको दायरा’ लाई फड्केर अघि बढ्न सक्नेछन् भन्ने विश्वास उनीहरूमा देखिन्छ । यी लैंगिक समानतातिर लम्कने स–साना, तर महत्वपूर्ण पाइलाहरू हुन् ।

हुन त घरमा उनीहरूले गरेको मिहिनेतलाई चुनौती दिइरहेको छ, बजार र मिडियाले– उही परम्परागत केटा र केटीको चित्रण गरेर । तर, समाज उदारीकरणतर्फ लम्किइरहेको हुँदा मेरा नातिनातिना वयस्क हुँदासम्म शायद केटा र केटी बारेको परम्परागत सोच पनि परिवर्तन भइसक्नेछ ।

वरिपरि नियाल्दा अहिले नै नेपाली समाजमा छोरीहरूले विभेदको चौघेरो नाघ्न निकै प्रयत्‍न गरेका छन् । केटाहरूले मात्र गर्न सक्ने भनिएका फाँटमा केटीहरू चम्किन थालेका छन् । वैदेशिक रोजगारीका कारण पुरुषविहीन बन्दै गएका गाउँतिर बाध्यताले नै सही, महिलाको पोल्टामा उनीहरूका पतिले गर्ने काम आएको छ ।

त्यसले उनीहरूको निर्णय गर्ने क्षमता बढाएको छ, बजारतिर जाने आँट दिलाएको छ, बालबच्चाका बारेमा फैसला गर्ने जिम्मेवारी विकास भएको छ । बिस्तारै सही, नारीहरू मुखर हुँदैछन्, आत्मविश्‍वास बढाउँदैछन्, परनिर्भर हुन नरुचाउने भएका छन् । परिवर्तनको यो क्रम सही बाटोमै चलिरहे, मेरा नातिनीहरूले आफ्ना आमाभन्दा अझ्ै सम्मानजनक जीवन बिताउन सक्ने वातावरण बन्दैछ ।

तर नारी र पुरुषलाई समान आदर, समान अधिकार दिने समतामूलक समाज निर्माणमा अझ्ै एउटा महत्वपूर्ण तगारो बाँकी छ । लैंगिक विभेदका धेरै खाडल पुरिंदै गए पनि, नागरिकता सम्बन्धी विद्यमान व्यवस्थाले अहिलेसम्मका सबै उपलब्धिलाई गिज्याइरहेको छ ।

मेरो छोरा र नातिले आफ्ना सन्तानलाई सीधै वंशजको आधारमा नागरिकता दिलाउन सक्छन् । तर, मेरी छोरी र नातिनीले त्यसो गर्न अझै सक्दैनन् । मेरी जेठी छोरीले गैरनेपाली नागरिकसँग बिहे गरेकी छिन्, नेपालमै रहेकोे भए त उनका छोरीहरू ‘अनागरिक’ नै हुनुपर्ने रहेछ । अब हाम्रा छोरी–नातिनीहरू बिचरा नबनुन् ।

पढ्नुहोस्ः

कतिन्जेल ‘सेकेन्ड सेक्स’ ?

समावेशी सुन्दरी

‘फ्रन्टलाइन’मा महिला

आत्मविश्वासको उडान

प्रतिकृया दिनुहोस