प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको संसदीय सुनुवाइ आज
प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ आज हुने भएको छ ।
संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिले दिउँसो दुई बजे थपलियाको सुनुवाइ गर्न लागेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा रहेका थपलियालाई संवैधानिक परिषदले ११ चैतमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिको लागि सिफारिस गरेको थियो ।
सुनुवाइ समितिले १७ चैतमा सुनुवाइ प्रकृया शुरु गरेपछि समितिमा थपलियाविरुद्ध छ वटा उजुरी परेका छन् । उनीविरुद्ध कर्मचारी समायोजनमा मनपरी गरेको, बजेट निकाशा रोकेको लगायतका उजुरी परेका छन् ।
थपलिया बहालवाला सचिव पनि हुन् ।
थपलियाको सुनुवाइ हुनुपूर्व बिहान ११ बजे उनीविरुद्ध उजुरी गर्ने उजुरीकर्तासंग छलफल गरिने समितिले जनाएको छ ।