कालीकोटवासीलाई स्तरीय स्वास्थ्य सेवा कहिले ?
कालीकोट जिल्ला अस्पताल ६ महीनादेखि एम्बुलेन्स विहीन छ । दैलेखको रति खोलामा एम्बुलेन्स दुर्घटनामा परेपछि ६ महीनादेखि अस्पताल एम्बुलेन्स विहीन बनेको हो । एम्बुलेन्स नहुँदा बिरामी र आफन्तका लागि सास्ती खेप्नुपरेको छ ।
तर, दुईवटा एम्बुलेन्स कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा खरीद गर्ने र एक्सरे मेसिन पनि ल्याउने प्रक्रियामा रहेको अस्पताल प्रशासनले जनाएको छ ।
अहिले प्रसूती व्यथा लागेका महिला र बिरामीलाई निजी बोलेरो गाडीमा स्थानीयले महंगो रकम तिरेर जिल्ला अस्पताल पुर्याउने गरेका छन् ।
रक्त सञ्चार सेवा सहज नभएकाले आकस्मिकरूपमा रगत चाहिए नेपाली सेना, प्रहरी र स्वास्थ्यकर्मीले नै रगत दिएर बिरामीलाई बचाउने गरेको पृथ्वी रक्तदानका अध्यक्ष रमित मल्लले बताए ।
एक वर्षअघि अवरुद्ध भएको शल्यक्रियासहितको स्वास्थ्य सेवा सुचारु भएको अस्पतालले जनाएको छ । काठमाडौंबाट डा. विज्ञान प्रजापतिको नेतृत्वमा टीम आएपछि गत साउनदेखि सीएस (पेट चिरेर बच्चा निकाल्ने) शल्यक्रिया सुरु गरेका हुन् ।
दरबन्दीअनुसारका स्वास्थ्यकर्मी, उपकरण र विद्युतको अभाव खेप्दै आएको जिल्ला अस्पतालले पछिल्लो चरणमा उपचार गर्ने पर्याप्त ठाउँको पनि समस्या भोगिरहेको छ । “समस्या त थुप्रै छन् ।” कालीकोटको महाबै घर भएका निमित्त मेडिकल सुपरिटेण्डेन डा. भिष्म पोखरेलले भने, “भएको जनशक्ति र उपकरण र स्थानबाटै सुधारको प्रयास गरेका छौं ।” उनले एक्सरे मेसिन, एम्बुलेन्स, पर्याप्त जनशक्ति र औषधि नहुँदा पनि व्यवस्थापन गरेर सेवा दिइरहेको दाबी गरे ।
नयाँ भवन निर्माण गर्न पुरानो भवन भत्काएपछि हाल साँघुरो ठाउँबाट सेवा दिनुपरेको डा. नहकुल शाहीले बताए । “नयाँ भवन बन्दै छ ।” शाहीले भने, “अस्पतालको स्तरोन्नतिसँगै सेवा सुविधा पनि थप हुनेछन् ।” कालीकोटमा निःशुल्क स्वास्थ्य सेवा नारा र प्रचारमा मात्र सीमित भएको सञ्चारकर्मी पुष्पराज भट्टराईको आरोप छ ।
जिल्ला अस्पतालसहित दर्जन बढी स्वास्थ्य संस्थामा निःशुल्क औषधि नाम मात्रको छ भने तीन दर्जन बढी स्वास्थ्यकर्मीको दरबन्दी खाली छ । कर्मचारी समायोजनको असर कालीकोटका स्वास्थ्य संस्थामा पनि परेको छ ।
एक्सरे मेसिन नहुँदा सामान्य बिरामीलाई समेत उपचारका लागि सुर्खेत, नेपालगञ्जलगायत अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै अस्पताल विकास समिति अध्यक्ष सरोज बोगटीले सबै उपकरण व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता गरे ।
-तीला भण्डारी