नेपाललाई वैदेशिक व्यापारमा दैनिक ३ अर्ब ७० करोड घाटा, आठ महिनामा रु. २३ अर्बको चामल आयात
देशको शोधनान्तर (भित्रिने र बाहिरिने रकमबीचको अन्तर) स्थिति फेरि बढेको छ ।
नेपाल राष्ट्र ब्याङ्कले ३ वैशाखमा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक र वित्तीय स्थिति प्रतिवेदनले फागुन महिनासम्ममा देशको शोधनान्तर घाटा रु. ५९ अर्ब घाटाको स्थितिमा पुगेको छ ।
माघसम्ममा यस्तो घाटा रु. ४९ अर्ब ३२ मात्र थियो । एकै महिनामा शोधनान्तर स्थिति झण्डै रु. १० अर्बले घाटामा गएको हो ।
शोधनान्तर स्थिति पुससम्ममा रु. ६३ अर्ब ६८ करोड घाटामा थियो भने मंसिरमा यस्तो घाटा रु. ८५ अर्ब ३२ करोड थियो ।
चालु आर्थिक वर्षको पहिलो आठ महिना (फागुनसम्ममा) देशले अन्तर्राष्ट्रिय व्यापारमा रु. ८ खर्ब ८८ अर्ब घाटा बेहोरेको छ ।
फागुनसम्ममा देशले रु. ६१ अर्ब २२ करोडको निर्यात गर्दा ९ खर्ब ४९ अर्बको आयात गरेको छ ।
कृषिप्रधान देश भनिने मुलुकमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै रु. २३ अर्बको चामल, १० अर्ब ५० करोडको तरकारी तथा ६ अर्ब ६५ करोडको फलफूल आयात भएको छ ।
वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या घटेसँगै रेमिटेन्सको वृद्धिदरमा पनि केही संकुचन आउने सम्भावना देखिएको छ ।
फागुनसम्ममा वैदेशिक रोजगारीमा जानेको संख्या ३८ दशमलव ३ प्रतिशतले घटेको छ ।
यो अवधिमा रेमिटेन्सको आप्रवाह भने वार्षिक विन्दुगत आधारमा २३ दशमलव ४ प्रतिशतले (डलरमा ११ दशमलव ६ प्रतिशत) बढेर रु. ५ खर्ब ८२ अर्ब पुगेको छ ।
गत माघमा भने रेमिटेन्स २८ दशमलव ५ प्रतिशत (डलरमा १६ प्रतिशत) ले बढेको थियो ।
फागुनसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव २ प्रतिशत छ । गत वर्षको यही अवधिमा मूल्यवृद्धि दर ६ प्रतिशत थियो ।