समाचारमंगलबार, ३ बैशाख , २०७६

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु २४ घाइते

कमल रिमाल

उदयपुर र खोटाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । गएराति भएका दुर्घटनामा परि २४ जना घाइते छन् ।

काठमाण्डौंबाट दिक्तेलतर्फ जाँदै गरेको ना ४ ख ७४११ नम्बरको बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ रिठ्ठाबोटमा दुर्घटना हँुदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का प्रजबहादुर राई (४०) को मृत्यु भएको छ ।

दुर्घटनामा चालक भक्तपुरका टिकाराम खत्री सहित १४ जना घाइते छन् । गम्भीर घाइते ६ जनालाई उपचारका लागि काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै उदयपुरको उदयपुरगढी १ विष्णुचौरमा स १ ज ५०६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा उदयपुरगढी १ मुर्मे निवासी ४५ वर्षीया केशरमाया परियारको मृत्यु भएको छ ।

१० जना घाइते भएका छन् । गम्भिर घाइते उदयपुरगढी १ कीे ३८ वर्षीया राधिका भुजेल र उनका छोरा १४ वर्षीय बिनोद भुजेललाई उपचारका लागि काठमाण्डौं लगिएको छ । अन्य घाइतेहरुको विराटनगर र उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उदयपुरको लिम्चुङबुङ गाउपालिका ५ भित्तेढुंगामा सोमबार नै बा ८ च ७७७६ नम्बरको बोलेरो जीप दुर्घटना हुंदा ९ जना महिला र बालबालिका घाइते भएका थिए ।

 

 

प्रतिकृया दिनुहोस