टिचिङका रेजिडेन्ट डाक्टरले आकास्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने
डा. गोविन्द केसीका माग पूरा गराउन दबाबस्वरुप त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जका आवासीय चिकित्सक (रेजिडेन्ट डक्टर्स)ले आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने भएका छन् ।
आज बसेको रेजिडेन्ट डक्टर्स एशोसिएसनको बैठकले उक्त निर्णय गरेको हो ।
“यस्तो संवेदनशील घडीमा डा केसीको जीवन रक्षा हेतु उठाइएको यस कदमलाई साथ दिनुहुन र एक निष्ठावान चिकित्सकको प्राण रक्षाको अभियानमा साथ दिनुहुन हामी सम्बन्धित सबैसँग आग्रह गर्दछौं,” बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
‘चिकित्सक संघलाई आठ संस्थाको आग्रह’
यसैबीच रेजिडेन्ट डक्टर्स एशोसिएसन, नेशनल डक्टर्स एशोसिएन, सोलिडारिटी अफ मेडिकल फ्रटर्निटी, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी र सोलिडारिटी फर केसी अलायन्सले नेपाल चिकित्सक संघलाई डा केसीको मागमा अडिग भई कडा दबाबका कार्यक्रम ल्याउन माग गरेका छन् ।
आठ वटै संस्थाका अध्यक्षहरुद्वारा आज जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, “नेपाल मेडिकल एशोसियसन (चिकित्सक संघ) ले अझै सशक्त भई डा गोविन्द केसीको मागमा अडिग हुँदै नेपालभरका चिकित्सकहरुको संलग्नतामा भोलिबाटै देशव्यापी रुपमा कडाभन्दा कडा दबाबको कार्यक्रम गरी वार्तालाई उचित निष्कर्षमा पुर्याउँदै गुरु डा गोविन्द केसीको प्राण रक्षामा सशक्त भूमिका निर्वाह गर्न संघसँग हामी जोडदार माग गर्दछौं ।”
उनीहरुले सरकारले अनेकौं बहानामा गैर जिम्मवारीपन पुष्टि गरिरहँदा अनशनलाई निष्कर्षमा पु¥याउनु र डा केसीको जीवन रक्षा गर्नु संघको दायित्व भएको स्मरण समेत गराएको छ ।