८५० वर्ष पुरानो विश्व चर्चित चर्चमा आगलागी
फ्रान्सको पेरिसमा रहेको विश्व चर्चित ‘नोट्र–डाम क्याथड्रल चर्च’मा आगलागी भएको छ ।
आगोले ८५० वर्ष पुरानो उक्त चर्चको माथिल्लो भाग जलेर खसेको छ ।
नेपाली समय अनुसार सोमबार राती लागेको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरु लगातार जुटिरहेका छन् ।
फ्रान्सको इतिहास र सभ्यता बोकेको उक्त चर्चमा आगो कसरी शुरु भयो भन्ने कारण भने खुलेको छैन । तर चर्चमा जीर्णोद्वारको काम भइरहेकोले सोही क्रममा आगलागी भएको हुनसक्ने अनुमान रहेको बीबीसीले जनाएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आगलागी भएलगत्तै सो ठाउँको अवलोकन गरी इतिहासमा क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपति म्याक्रोनले नोट्र डाम क्याथेड्रलको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सबै फ्रान्सेली मिलेर चर्चलाई पुरानै अवस्थामा फर्काउने उनले बताएका छन् ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीको घटना थाहा पाएपछि ट्वीट गर्दै हेलिकप्टरबाट पानी खन्याइर आगलागी रोक्न सल्ला दिएका छन्।
उक्त चर्च संसारको सबैभन्दा प्राचीन मध्येको एक हो । त्यहाँ हरेक वर्ष लाखौंको संख्यामा मानिसहरु घुम्न र प्राथनाका लागि पुग्ने गर्दछन् ।
आगलागीको कारण पत्ता लगाउन एक समिति गठन गरिएको अधिकारीहरुले बताएका छन् ।