यसपालि पनि बुद्धकृष्णले नै छेडे जिब्राे
४७ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यसपटक पनि जिब्रो छेडेका छन् ।
पाचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा उक्लिएपछि कर्मी नाइकेहरूले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूपबत्ती बालेपछि उनको जिब्रो छेडिएको हो ।
एक महीनाअघि तयार पारी तेलमा डुबाइराखिएको १० इञ्च लामो सुइराले हजारौँ मानिसकै अगाडि श्रेष्ठको जिब्रो छेडिएको थियो ।
जिब्रो छेडेपछि बाग श्रेष्ठ महाद्वीप बोकेर करीब पौने एक घण्टासम्म बोडेका टोलटोल घुमेका थिए । घुमिसकेपछि पुनः भाँगु टोलमा पुगी महालक्ष्मी मन्दिरभित्र प्रवेश गरी सुइरो निकालेर मन्दिरमा ठोकिएपछि जात्रा सम्पन्न भएको मानिन्छ ।
चैत मसान्तका दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो उठाएपछि जिब्रो छेड्ने श्रेष्ठले निराहार व्रत बसेर वैशाख दुई गते जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकी लगाएर नाट्येश्वरको पूजा गरेका थिए ।
प्वाल भएको जिब्रामा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने श्रेष्ठले बताए । “परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रा लोप हुनबाट जोगाउन यस वर्ष पनि मैले जिब्रो छेडेको हुँ,” उनले भने ।
यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेडेका उनकी आमाको निधनपछि बोडेका जुजुभाइ बाँसश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेडेर यो जात्रालाई निरन्तरता दिए । गत वर्ष पुन: जिब्रो छेडेका बुद्धकृष्णले यस वर्ष साताैँ पटक जिब्रो छेडेका हुन् । उनले जिब्रो छेड्नाले लागेको रोग सन्चो भएको तथा परिवारमा पनि राम्रो भएको उनी बताउँछन् ।
विसं २०६० सम्म उनकै दाजु कृष्णचन्द्रले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाएका थिए । किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कंकाल (बउचा) ले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले बोडेभरि पासो राखिदिए ।
बोडेमा दुःख दिन आएको ख्याक तान्त्रिक कर्माचार्यको पासोमा पर्यो । कर्माचार्यले लामो कपाल र जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुँघुरु बाँधिदिए ।
उनले पिशाचको जिब्रो छेडी बलेको महाद्वीप र काठको गह्रुंगो भारी बोकाएर बोडे घुमाए । कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्न तयार रहेको बतायो । कर्माचार्यले अबउप्रान्त बोडे देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंवदन्ती छ ।
एकरात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले कर्माचार्यलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै कर्माचार्यले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म कायमै छ ।
वाचानुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो । त्यसपछि ऊ नआउने भएपछि कर्माचार्यले सोहीअनुरूप बोडेवासीबाटै जिब्रो छेडाएको किंवदन्ती रहेको स्थानीयवासी बताउँछन् ।