समाचारसोमबार, २ बैशाख , २०७६

सुनसरीमा वृद्धको हत्या

कमल रिमाल

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ सर्बैया टोलमा गएराति दुई युवा मिलेर वृद्धको हत्या गरेका छन् ।

राति साढे ११ बजे भोक्राहा नरसिंह–७ का २९ वर्षीय शंकर मण्डल र २५ वर्षीय बुदु मण्डलले सोही वडाका ७५ वर्षीय जागेश्वर मण्डलको हत्या गरेको प्रहरीले बताएको छ ।

पुरानो रिसइबीका कारण दुई युवाले वृद्धलाई कुटेर मारेको प्रहरीको भनाइ छ । वृद्ध मण्डलको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीका अनुसार, गत २० चैतमा सोही ठाउँमा बजारमा तरकारी बिक्री गर्ने विषयमा मृतक र हत्यामा संलग्न युवाको परिवारबीच विवाद भएको थियो ।

सो क्रममा कुटपिट हुँदा एकजनाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर दुई परिवारबीच पुनः विवाद भएको प्रहरीको भनाइ छ ।

वृद्धको शरीरमा चोट नदेखिएकाले पोस्ट मार्टमबाट मात्रै कसरी हत्या गरियो भन्ने खुल्न सक्ने एसपी अधिकारीले बताए ।

हत्यामा संलग्न दुवैजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस