जय प्रदाको भित्री बस्त्र बारे आपत्तिजनक टिप्पणी, उजुरी दर्ता
भारतको रामपुरमा आइतबार भएको एक चुनावी सभामा भारतीय समाजवादी पार्टीका नेता आजम खानले प्रतिस्पर्धी पूर्व अभिनेत्री उम्मेदवार जयाप्रदाका बारेमा गरेको टिप्पणीलाई लिएर भारतीय चुनावका बीच विवाद चुलिएको छ ।
खानले चुनावी सभामा प्रतिस्पर्धी जयाप्रदाका बारेमा टिप्पणी गरेका थिए, “रामपुरवासीले जसलाई बुझ्न १७ वर्ष लगाए । मैले त १७ दिनमा चिनिसकेको थिएँ, उनको अण्डरवियरको रङ खाकी छ भनेर ।”
खानको यस प्रकारको टिप्पणीलाई भारतीय महिला आयोग, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ, सुषमा स्वराजलगायत वरिष्ठ महिला नेत्रीहरू विरोध गरेका छन् ।
राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माले आजम खानसँग स्पष्टीकरण मागेकी छन् ।
जयाप्रदाले आजम खानको उम्मेदवारी रद्द हुनुपर्ने बताएकी छन् । खानले चुनाव जितेमा समाजमा महिलाको स्थिति अझ खराब हुने उनको भनाइ छ।
यस विषयमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले केही बताएका छैनन् ।
उनको मौनताप्रति सोसल मिडियामा प्रश्न उठिरहेका छन् ।
यसअघि जयाप्रदा समाजवादी पार्टीमा थिइन् । यो लोकसभाको चुनावअघि उनी भाजपामा प्रवेश गरेकी थिइन् ।