अचानकको असिनापानीले दरमखोलामा बाढी, जनजीवन अस्तव्यस्त
बागलुङको गलकोट नगरपालिका घोडाबाधे र दुदिलाभाटीमा भीषण वर्षात भएका कारण तल्लो भाग गलकोट नगरपालिका डुबान र बाढीको चपेटामा परेको छ ।
गलकोटको नरेखाटीमा दुईवटा छाप्रो र कुखुराको फार्म बगाएको र गलकोटका हटियामा तीन होटलका छाप्रा बगाएको स्थानी पत्रकार कमल पौडेलले बताए ।
बागलुङमा बन्दै गरेका दुईवटा पक्की पुलको निर्माण सामग्री पनि बाढीले बगाएको छ ।
यस्तै, बागलुङको दरमखोलामा आएको बाढीले गुल्मीको झेदीमा अवस्थित एक अर्को निर्माणाधीन पुलमा क्षति पुगेको छ ।
पुलमा क्षति पुगेपछि बडीघाट नदीमा ताल बनेको छ । उक्त निर्माणाधीन पुलको ढलान सम्पन्न भइसकेको थियो ।
घटनास्थलमा सेनाको उद्धार टोली पुगिसकेको छ । बाढीले कुनै मानवीय क्षति नभएको पत्रकार पौडेल बताउँछन् ।
दिउँसोदेखि परेको पानीले हटियाबजार क्षेत्र जोखिममा परेको छ । हटियाबजारको आसपासमा रहेका दुधिलाभाटी अंग्रेजी स्कूल, स्थानीय ईश्वर बुढाथोकी, १ नम्बर वार्ड अध्यक्ष नेत्रबहादुर बुढाथोकी, होमबहादुर नेपालीको घरमा बाढी पसेको छ भने गलकोट उपस्वास्थ्य चौकी पनि उच्च जोखिममा रहेको छ ।
यसैगरी आइतबार परेको भारी वर्षाले काभ्रेकाे बनेपा पनि डुबानमा परेको छ ।
दिउँसो अकस्मात भएको भारी वर्षापछि अरनिको राजमार्ग अन्तर्गत बनेपा पुलबजार क्षेत्रमा ३ घण्टा सवारी आवागमन पनि रोकिएको थियो । पुलबजारमा बाढी पस्दा केही सवारीसाधन डुबानमा परेका थिए ।
अचानक आएको बाढीले नयाँ वर्ष मनाउन बनेपा, धुलिखेल लगायत स्थानमा पुगेका पर्यटकलाई यातायात अवरुद्ध भएपछि काठमाडौं फर्किन समस्या परेको थियो ।
प्रहरीले बनेपा हुँदै भक्तपुर आउने सडकको विकल्पमा कुशादेवी, ग्वार्खो, नाला भक्तपुरको सडकबाट गाडी पास गराइरहेको छ ।