समाचारआइतबार, १ बैशाख , २०७६

लुक्ला दुर्घटना : आलुबारीको विमानस्थल र नयाँ वर्षको ‘दुर्भाग्य’

लुक्ला दुर्घटनाबारे केही आम प्रश्न, जवाफ र जानकारी

हिमालखबर

नयाँ वर्ष २०७६ को पहिलो दिन आइतबार बिहान मौसम उघ्रिएको थिएन । त्यही बेला बिहान ९ः१० बजे सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ–हिलारी विमानस्थलमा विमान दुर्घटना भएको खबर सुनियो ।

तस्वीर सौजन्यः एयरलाइन गाई ट्विट

दुर्घटनामा समिट एयरका सहचालक सुजित लामा ढुंगाना र लुक्ला विमानस्थलमा कार्यरत् प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर तामाङ र रुद्रनाथ श्रेष्ठले ज्यान गुमाए । सुजित र रामबहादुरको घटनास्थलमै र रुद्रनाथको उपचारका क्रममा निधन भएको थियो ।

दुर्घटनामा समिट एयरका मुख्य पाइलट रवीन्द्र रोकाया र मनाङ एयरका सहचालक चेतबहादुर गुरुङ घाइते भएका छन् । उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ ।

लुक्लाबाट रामेछापका लागि उड्न लागेको समिट एयरको लेट एल ४१० यूभीपी–ई२० विमान विमानस्थलभन्दा करीब ४० मीटर दायाँ हेलिप्याडमा रहेको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो ।

विमान धावनमार्गबाट ‘चिप्लिएर’ हेलिप्याडतर्फ पुगेको प्रारम्भिक अनुमान छ । हवाईजहाज र हेलिकोप्टर दुवैमा यात्रु नभएकाले थप मानवीय क्षति भने हुन पाएन ।

१५ फागुनमा ताप्लेजुङमा भएको विमान दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको ज्यान गएको घटना ताजै रहेका बेला यो दुर्घटना भएको छ ।

सगरमाथा आरोहणको मौसम शुरू भएको छ, सँगै आधारशिविरसम्म पदयात्रा गर्नेका लागि पनि यो उत्तम समय हो । त्यसैले पनि निरन्तरका यस्ता दुःखद् समाचारले मुलुकको हवाई क्षेत्रमा रहेको समस्याप्रति सरकार थप चनाखो हुनुपर्ने देखिन्छ ।

लुक्ला दुर्घटनाबारे केही आम प्रश्न, जवाफ र जानकारी ।

विमान किन रामेछाप ?

लुक्ला विमानस्थल जाने सोझो बाटो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो । तर, विमानस्थल प्रशासनले रनवे मर्मतका लागि १ अप्रिल देखि २१ जूनसम्म साँझ १० बजेदेखि बिहान ८ बजेसम्मका लागि विमानस्थल बन्द गरेका कारण लुक्ला जाने अधिकांश विमानले रामेछापबाट उडान भर्दै आएका छन् ।

तस्वीर स्रोतः एभिएसन सेफ्टी नेटवर्क

काठमाडौंबाट रामेछाप विमानस्थलको दूरी आधा घण्टाको छ । सन् १९७९ मा बनेको यो विमानस्थलको रनवे चार वर्षअघि मात्र कंक्रिट गरिएको थियो ।

समिट एयरको यो विमान पनि चालक दलका तीन जना र १८ जना यात्रुसहित रामेछापबाट साढे ८ बजे लुक्लातर्फ उडेको थियो । लुक्लामा यात्रु ओरालेपछि खाली जहाज पुनः रामेछाप फर्कने तयारीमा थियो ।

दिउँसो अत्यधिक हावा र हुस्सु लाग्ने गरेका कारण लुक्लामा बिहान उडान गरिन्छ ।

को थिए सुजित लामा ढुंगाना ?

दुर्घटनामा ज्यान गुमाएका सहचालक सुजित लामा ढुंगानाको उमेर ३४ वर्ष थियो । ओखलढुंगाका घर भई चाबहिल बस्ने उनले एक वर्षअघि मात्रै विवाह गरेका थिए ।

तस्वीर स्रोतः सुजित लामा ढुंगानाको फेसबूकबाट

समिट एयरका अपरेशन म्यानेजर सागर आचार्यका अनुसार, ढुंगाना १२ फेब्रुअरी २०१७ देखि कार्यरत थिए । फिलिपिन्समा पाइलट कोर्स गरेका उनको यही जहाजमा ६ सय घण्टाभन्दा बढी उडाएको अनुभव थियो ।

“उहाँले गत जनवरीमा मात्र चेक गणतन्त्रमा मल्टी ग्रुप कोअर्डिनेशन (एमजीसी) तालीम लिनुभएको थियो”, आचार्यले भने ।

सुजितले आफ्नो फेसबूकमा विमानका मुख्य चालक रोकायासँग चेक गणतन्त्र जान लागेका र उडान भर्दै गरेका तस्वीर राखेका छन् ।

विमानमा रहेकी एअर होस्टेस रश्मी लामा भने सामान्य घाइते भएकी छन् ।

यात्रु सकुशल ओरालेर ‘टेक–अफ’ गर्नै लागेको यो विमान यो हिसाबले दुर्घटना हुनु ‘दुर्भाग्य’ भएको आचार्य बताउँछन् । “यस्तो भूगोल र मौसमका लागि अनुभवी पाइलटहरू भएको विमानमा यस्तो किसिमको दुर्घटना सायदै कसैले कल्पना गर्छ, त्यसो त दुर्घटना स्वयम्मा अकल्पनीय र दुर्भाग्य हुन्छ”, उनी भन्छन् ।

लेट एल ४१० र दुर्घटनाको कारण

समिट एयरको लेट एल ४१० विमान चेक गणतन्त्रमा निर्माण भएको हो । दुई इञ्जिन भएको टर्बोलेट यो विमान छोटो दूरीका लागि उपयुक्त मानिन्छ ।

समिट एयरसँग यही कम्पनीका चार विमान छन्, जसमध्ये एक दुर्घटनामा क्षतिग्रस्त भएको छ ।

तर, यसअघि पनि यही एयरको विमान लुक्लामै दुर्घटनाग्रस्त भएको थियो । मे २७, २०१७ मा काठमाडौंबाट लुक्लातर्फ सामान बोकेर गइरहेको लेट एल ४१० को अर्को विमान अवतरणका क्रममा दुर्घटना भएको थियो, जसमा पाइलटसहित दुई जनाको मृत्यु भएको थियो ।

गतवर्ष पनि समिट एयरको यही कम्पनीको विमान अवतरणका क्रममा मुस्किलले बचेको भिडियो सार्वजनिक भएको थियो ।

के विमान चिप्लिएरै दुर्घटना भएको हो त ? यसमा पनि अनुमान मात्र गर्न सकिन्छ ।

समिट एयरका आचार्य चिप्लिएरै विमान दुर्घटना भएको भन्नेमा आशंका व्यक्त गर्छन् । “उड्नका लागि मौसम प्रतिकूल देखिन्न, चिप्लिने अवस्था पनि पाइलटको जानकारीभन्दा बाहिर पर्दैन”, आचार्य भन्छन्, “प्राविधिक गल्ती वा मानवीय वा अन्य कारण अब फ्लाइट डेटा र ककपिट संवाद अध्ययनपछि मात्रै भन्न सकिन्छ ।”

लुक्लाको जोखिम

सर्वोच्च शिखर सगरमाथाको द्वार मानिने लुक्लाको यो विमानस्थलको रनवे विश्वमै चुनौतीपूर्ण मानिन्छ । कतिपयले यसलाई संसारका जोखिमपूर्ण विमानस्थल पनि मानेका छन् ।

तस्वीर सौजन्यः सुपरटोपो डटकम

‘सर्ट टेक अफ एण्ड ल्याण्डिङ’का कारण चुनौतीपूर्ण मानिएको लुक्ला विमानस्थलको रनवे ५२५ मिटर मात्र लामो छ । २८४५ मिटर उचाइ र छिनछिनमा हावा र झरीका कारण यो विमानस्थलमा उडान भर्न अनुभवी चालकहरूलाई मात्र अनुमति दिने गरिन्छ ।

एक तथ्यांकका अनुसार हालसम्म लुक्ला विमानस्थलमा सानाठूला ११ वटा विमान दुर्घटना भइसकेका छन् । ८ अक्टोबर २००८ मा यती एयरलाइन्सको फ्लाइट १०३ ट्विन अटर विमान अवतरणकै क्रममा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।

सन् १९६४ मा सोलुखुम्बुको खुन्दे गाउँमा अस्पताल निर्माणका लागि सामग्री ओसार्न सर एडमण्ड हिलारीले व्यक्तिगत पहलमा यो विमानस्थल बनाएका थिए ।

तेञ्जिङ नोर्गेसँगै पहिलोपटक सन् १९५३ मा सगरमाथा चढेका हिलारीले सम्म जमिन चाहे पनि स्थानीयले जमिन नदिएका कारण भिरालो आलुबारीमा विमानस्थल बनाउनुपरेको बताइन्छ ।

अर्को एक तथ्यांकअनुसार, सन् २०१६ मा मात्र एक लाख १९ हजारभन्दा बढी विमानमार्फत लुक्ला पुगेका थिए । यसले जोखिमपूर्ण उडानमा पनि स्वदेशी पाइलटले कुशलतापूर्वक उडान भरेका अनगिन्ती उदाहरण पुष्टि गर्छ ।


प्रतिकृया दिनुहोस