रिपोर्टआइतबार, १ बैशाख , २०७६

मौरी पाल्ने गाउँ

हिमालखबर

- प्रविर ददेल, रुकुम

रुकुमको सिस्ने गाउँपालिका–३ का किसानहरूले मौरीपालनबाट आकर्षक कमाइ गर्दै गाउँकै परिचय स्थापित गरेका छन्।
रुकुमको सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले घरमै बसेर मौरीपालनबाट गुलियो फाइदा लिंदै आएका छन् ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ की मौरीपालक किसान तिलसरा खड्का खत्री । सबै तस्वीर : प्रविर ददेल

उनले एकै सिजनमा २५० धार्नी कात्तिके मह बिक्री गरेर रु.५ लाख ५० हजार कमाएको बताए । कात्तिक महीनामा फुल्ने विभिन्न फूलका रसबाट माहुरीले उत्पादन गर्ने मह गुणस्तरीय र स्वास्थ्यबद्र्धक मानिन्छ । रुकुमको बजारमा मह प्रतिकिलो रु.८०० र प्रतिधार्नी रु.२ हजारमा बिक्री हुने गरेको छ ।

मौरीपालन व्यवसायमा १० वर्षदेखि आबद्ध सिस्ने–३ पोखराकै कमलाल खड्का पनि एकै सिजनमा २०० धार्नीसम्म मह बिक्री गरेको सुनाउँछन् । ओमप्रकाश र कमलाल जस्तै पोखरा गाउँका धेरै किसानले मौरीपालनबाट राम्रो कमाइ गरिरहेका छन् ।

साविकको पोखरा गाविसका १ र ४ वडामा गरी १३७ घरमा मौरीका घार छन् । उनीहरू मह बिक्रीबाट औसतमा वार्षिक साढे २ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन् । “यहाँका सबै घरमा मौरीका घार भएकाले पछिल्लो समय पोखरालाई मौरी पाल्ने गाउँ भनिन थालेको छ”, अगुवा मौरीपालक किसान ओमप्रकाश भन्छन् ।

यस वर्ष कात्तिके मह प्रशस्त उत्पादन हुँदा किसान उत्साहित छन् । गाउँबाट झण्डै रु.४५ लाख बराबरको २२५० धार्नी मह बिक्री भएको कमलाल बताउँछन् । अर्का किसान भागीदल खड्काका अनुसार, एक घार मात्र मौरी हुनेले पनि ५ देखि ८ धार्नीसम्म मह बिक्री गरे । पारखीहरूले असोज पहिलो सातादेखि पुसको अन्तिमसम्म निकालिने मह बढी खोज्छन् । मौरीपालनतर्फ थप किसानको आकर्षण देखिन थालेपछि गत वर्ष सिस्ने गाउँपालिकाले मौरीको घार वितरण गरेको थियो ।

पोखरा गाउँमा उत्पादित मह बिक्री गर्न बजारको समस्या छैन । उपभोक्ता र व्यापारीहरूले असारदेखि नै गाउँमै आएर अग्रिम भुक्तानी गर्ने गरेको स्थानीय किसान बताउँछन् । यहाँका किसानले मुढे, खोपे र आधुनिक घारमा मौरी पालिरहेका छन् । यस क्षेत्रमा सेरेना जातको मौरी पालिएको छ । किसानका अनुसार, यो मौरीले एउटा घारबाट एक सिजनमै सात धार्नीसम्म मह उत्पादन गर्छ ।

नजिकैको जंगलमा मौरी चराइँदै ।

चरनको अभाव
पोखरा गाउँ विषादी वर्जित क्षेत्र भएकाले यहाँ उत्पादित महको राम्रो माग हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयले २०६५ सालमा विषादीमुक्त गाउँ घोषणा गरेयता बालीनालीमा रोग कीरा लागे जैविक विधि प्रयोग गरिंदै आएको छ । “यसै कारण यहाँको मह गुणस्तरीय मानिन्छ”, जिल्ला कृषि ज्ञान केन्द्र, रुकुमका प्रमुख अमरराज शर्मा घिमिरे बताउँछन् ।

महको कमाइबाट किसान सन्तुष्ट रहे पनि उनीहरूलाई चरन क्षेत्रको अभावले पिरोल्ने गरेको छ । गाउँमा मौरी चर्ने ठाउँको अभाव हुँदा घारलाई झिम, तिमिले लगायत स्थानीय जंगलमा लैजाने गरेको किसानहरू बताउँछन् । यी जंगलमा घार पु¥याउनै झण्डै एक दिन लाग्छ ।

चरन क्षेत्रकै समस्याका कारण किसानले घारबाट पूरै मह काढ्दैनन् । “चरन अभावका बेला मौरीले त्यही मह आहाराको रूपमा प्रयोग गर्छन्”, ओमप्रकाश भन्छन् ।

प्रतिकृया दिनुहोस