टिप्पणीमंगलबार, ३ बैशाख , २०७६

कतिन्जेल ‘सेकेन्ड सेक्स’ ?

शेखर खरेल

समाजले दोस्रो दर्जामा खुम्च्याएका महिलाको अवस्था र हैसियत हिजोको गोरेटोबाट आज मूलबाटोमा बदलिए पनि त्यसलाई राजमार्ग बनाउन थुप्रै प्रयत्नको खाँचो छ

फ्रान्सेली अस्तित्ववादी एवं नारीवादी चिन्तक सिमोन द बोभ्वाँले सन् १९४९ मा धेरैको मथिङ्गल हल्लाइदिइन् । त्यस वर्ष प्रकाशित उनको पुस्तक ‘द सेकेन्ड सेक्स’ (मौलिक फ्रान्सेली ‘ल दोजियम सेक्स’) ले महिलाको ऐतिहासिकता, मिथ, शरीर, यौनिकता, अर्थ र राजनीतिदेखि अवसर र उन्नयनका हजारौं प्रश्न उठाउँदै पुरुषवादी समाजलाई बेस्सरी तरङ्गित गरिदियो ।

पुरुषको सुविधा र परिभाषाभित्र रहेको महिलाको परिचय र ‘स्पेस’ बारे विशद चिरफार गर्दै बोभ्वाँले समाजले पुरुषलाई पहिलो र महिलालाई दोस्रो सेक्स (दर्जा) मानेको तर्क प्रस्तुत गरिन् । विश्वको आधुनिक युगमा बोभ्वाँको ‘द सेकेन्ड सेक्स’ कोसेढुङ्गा बनेकै कारण अहिलेसम्म पनि

महिलाको अवस्था, हैसियत र यौनिकताबारे हुने चर्चा र तर्क–वितर्क यसै पुस्तकको वरिपरि घुम्छ । पूर्वीयदेखि पश्चिमा परिवेशसम्म महिलालाई उसको शरीर र यौनिकतासँग जोडेर हेरिन्छ ।

महिलालाई माया र स्नेहको खानी अनि पुरुषलाई सौर्य र वीरताको संवाहकको रूपमा मानव इतिहासदेखि नै परिभाषित (खासमा विभाजित) गरिंदै आएको छ । घरेलु कामधन्दा, परिवारको हेरचाह महिलाको पोल्टामा राखिंदै उनीहरूको सीमा तोकिएको छ ।

बोभ्वाँले यिनै परम्परावादी मान्यतालाई आफ्नो पुस्तक मार्फत चुनौती दिएकी थिइन् । विडम्बनाचाहिं, आज पनि संसारका धेरै देश र समाजमा महिलाको हैसियत सन् ४० को दशकको फ्रान्स भन्दा विकराल छ ।

आज पश्चिमा मुलुकहरूमा महिलाले जस्तो हैसियत बनाएका छन्, त्यसको पछाडि उनीहरूको लामो संघर्षको इतिहास छ । यद्यपि, गन्तव्यबाट महिला अझै पनि धेरै टाढा रहेको मान्यता राख्नेहरूको जमात त्यहाँ ठूलै छ ।

यति हुँदाहुँदै पनि इस्लामिक, दक्षिण एशियाली, केही ल्याटिन अमेरिकी र धेरै अफ्रिकी मुलुकहरूले पश्चिमा मुलुकमा महिलाले निर्माण गरेको हैसियतप्रति ईष्र्या गर्न सक्छन् । नेपालमा महिलाको अवस्था यहाँको सामाजिक संरचनासँग सम्बन्धित छ ।

हिजो मुलुकको नब्बे प्रतिशत भन्दा बढी जनसंख्या कृषि पेशामा आश्रित हुँदा महिलाको भूमिका चुलाचौका र खेतबारीमै सीमित थियो । तर जसै कृषिप्रतिको निर्भरता घटेर त्यसलाई व्यापार र नोकरीले विस्थापित गर्न थाल्यो, पुरुष सँगसँगै महिलाले पनि ती नयाँ पेशा अपनाउन थाले ।

नेपालमा महिलाको भूमिका भौगोलिक अवस्थिति, सामाजिक परिवेश र जातीय पृष्ठभूमिले समेत निर्धारण गरेको पाइन्छ । जस्तैः पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका महिला व्यापार व्यवसायमा सक्रिय छन् । तर, तराईका रैथाने समुदायका महिलामा यस विपरीतको परिस्थिति छ ।

नेपाली समाजमा अझै पनि नोकरी र व्यापार जस्ता पेशालाई पुरुषोचित कर्मका रूपमा हेर्नेको संख्या ठूलो छ । सेना र प्रहरी जस्ता सुरक्षा क्षेत्रको रोजगारीको कुरै छाडौं, निजामती तथा निजी र अनौपचारिक सेवाका क्षेत्रहरूमा महिलाको उपस्थिति पुरुषको दाँजोमा न्यून नै देखिन्छ ।

बरू, राजनीतिमा महिलाका निम्ति संवैधानिक तवरमै आरक्षणको व्यवस्था गरिंदा स्थानीय तहदेखि संघीय संसदसम्म महिलाले पहुँच बनाउन सकेका छन् । तर, महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा उनीहरू पछाडि पर्छन् वा पारिन्छन् ।

नेपालमा महिलाको भूमिका भौगोलिक अवस्थिति, सामाजिक परिवेश र जातीय पृष्ठभूमिले समेत निर्धारण गरेको पाइन्छ । जस्तैः पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका महिला व्यापार व्यवसायमा सक्रिय छन् ।

घरको चौकोस नाघेर काम गर्नु चुनौतीपूर्ण मात्र नभई बाहिरको वातावरण कतिपय अवस्थामा असुरक्षित हुन्छ । गृहिणीहरू घरेलु हिंसाका शिकार बने जस्तै कामकाजी महिलाहरूले सार्वजनिक यातायातदेखि कार्यस्थलसम्म यौन दुव्र्यवहार र उत्पीडनको सामना गर्दै आएका छन् ।

समाज महिला मैत्री होस् वा नहोस्, नेपाली महिलाले प्रतिकूल परिस्थितिका सामु आफूलाई कदापि निरीह सावित गरेका छैनन् । यही साहस र पेशागत निपुणताका कारण महिलाहरूले समाजका हरेक क्षेत्रमा अहिले आफ्नो उपस्थिति प्रभावशाली बनाइरहेका छन् ।

राजनीति होस् वा समाजसेवा, निजामती होस् वा निजी क्षेत्र, उद्यम–व्यापार होस् वा पेशागत क्षेत्र, ‘पब्लिक डोमेन’ मा महिलाको उपस्थिति प्रखर बनिरहेको छ । एउटा निश्चित राजनीतिक घटनाक्रमका कारण वा निमेषभरमै यो परिवर्तन संभव भएको होइन । देशको लोकतान्त्रिक परिवर्तनमा महिलाहरूले निर्वाह गरेको भूमिका, शिक्षा र चेतनाको जगमा नै आजका महिला ‘पब्लिक डोमेन’ मा उभिन सफल भएका हुन् ।

आज नेपाली महिलाले जुन हैसियत बनाएका छन्, त्यो पर्याप्त भने छैन । हिजोका महिलाले कोरेको गोरेटो आजका महिलाका प्रयत्नले मूलबाटोमा बदलिएको हो । त्यसलाई राजमार्गमा बदल्न थुप्रै प्रयास गर्न बाँकी नै छ ।

एक जना महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख हुँदैमा वा आधा दर्जन मन्त्री वा सचिव भए भन्दैमा समग्र महिलाको अवस्था उठान भएको सम्झनु अल्पबुझाइ हो ।

छाउपडी, दाइजो, घरेलु हिंसा र छोरीको भ्रूणहत्या जस्ता कुसंस्कार रहुन्जेल नेपाली महिला पनि पुरुष बराबर नै छन् भनिनु मूढाग्रह सिवाय केही होइन । जब पुरुषसरह उनीहरू निःसंकोच सार्वजनिक वृत्तमा विचरण गर्न सक्ने हैसियत बनाउनेछन्, नेपाली महिला स्वतः ‘फस्र्ट सेक्स’ हुनेछन् । 

पढ्नुहाेस्:

वर्षा थापाको अन्तर्राष्ट्रिय सफलता

‘फ्रन्टलाइन’मा महिला

आत्मविश्वासको उडान

 

प्रतिकृया दिनुहोस