ब्लगआइतबार, १ बैशाख , २०७६

सय वर्षअघिको वैशाखी

कनकमणि दीक्षित

जलियाँवाला बाग नरसंहारको सय वर्ष पुगिसक्दा हामीले चाहिं खोज, चिन्तन र मनन गर्नु पर्दैन ?

ठीक एक शताब्दीअघि, पञ्जाबको अमृतसर शहरमा बीभत्स काण्ड भयो । नयाँ वर्ष २०७६ को स्वागत गरिरहँदा सय वर्षअघिको त्यो घटना सम्झनु उचित हुन्छ, किनकि यो पनि नेपालको इतिहासको पाटो हो ।

विक्रम संवत् १९७६ वैशाख १ गते (१३ अप्रिल १९१९), आइतबारको त्यो दिन अमृतसरमा शिख समुदायको प्रमुख चाड वैशाखी मनाइँदै थियो । नजिकै रहेको हर्मिन्दर साहेब (‘गोल्डेन टेम्पल’) बाट निस्केको घुइँचो करीब चार बिघा क्षेत्रफलमा रहेको शहरी बगैंचा, जलियाँवाला बागमा जम्मा भएको थियो । त्यो जमात त्यहाँ एकत्रित हुनुको कारण बेलायती उपनिवेशीय शासकको विरोध गर्नु पनि थियो ।

शहरको सुरक्षा प्रमुख रहेका, ब्रिटिश सेनाका कर्णेल रेजिनल्ड डायर त्यहाँ आइपुगे, ‘यी भारतीयलाई सबक सिकाउनुपर्छ’ भन्ने अठोट सहित । बेलायती सेनामा भर्ती भएका २–९औं गुर्खा राइफल्स, ५४औं शिख रेजिमेन्ट तथा ५९औं सिन्द राइफल्सका शिख, गोर्खा, बलोच र राजपूत सिपाही लिएर त्यहाँ आएका थिए, कर्णेल डायर ।

कर्णेलले ठूला दुइटा मेशीनगन सहित गाडी पनि सँगै ल्याएका थिए, तर साँघुरो गल्लीका कारण बागका पाँच ढोकामध्ये एउटैमा पनि छिराउन सकेनन् । सिपाहीको हातमा थ्री–नट–थ्री ‘लि एन्फिल्ड’ बन्दूक त थिए नै, र उनले यिनैबाट आफ्नो योजना पूरा गर्ने भए ।

नयाँदिल्लीको लालकिल्लामा रहेको स्वतन्त्रता संग्राम संग्रहालयमा जलियाँवाला बाग काण्ड दर्शाउन राखिएको एक ‘डायरामा’ ।

कर्णेलले बागका पाँचवटै ढोकातर्फ फायरिङ गर्न आदेश दिएपछि १० मिनेटसम्म हत्याको शृंखला चल्यो, हजारौंको भीडमा कोलाहल मच्चियो, सिपाहीले वृद्ध, बच्चा, बालक, महिला कसैलाई छाडेनन् । लासको चाङ बढ्दै गयो, भागदौडमा गोली नलागेका पनि मरे । कतै जान नसकेकाहरु त्यहाँ रहेको एक इनारमा हाम्फाले, पछि त्यहाँबाट १२० लास निकालियो ।

बेलायती अधिकारीको गन्तीमा जलियाँवाला बाग नरसंहारमा ३७९ जनाको मरण भयो, करीब ११०० घाइते भए । भारतीय स्रोतका अनुसार १००० जति मारिए र १५०० जति घाइते भए । निहत्था नागरिकलाई एकै ठाउँमा यसरी नियोजित हत्या गरिएपछि पूरै उपमहाद्वीपमा बेलायती शासकमाथि घृणाको भावना ह्वात्तै बढ्यो, र भारत स्वतन्त्रताको बाटोमा लम्कियो ।

यो काण्डको सय वर्ष पुग्नै लाग्दा भारतको विपक्षी पार्टी, भारतीय राष्ट्रिय कंग्रेसका नेता शशि थरुरले लेख मार्फत बेलायतले एक शताब्दी पुरानो त्यो नरसंहारका लागि माफी माग्नुपर्ने धारणा राखेपछि स्वभावतः यो चर्चाको विषय बन्यो । बेलायती संसदको प्रमुख प्रतिपक्ष, लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ‘पूरा, प्रष्ट र विना हिच्किचाहटको क्षमायाचना हुनुपर्ने’ विचार राखे ।

ऐतिहासिक गल्ती र ज्यादतीको लागि कुनै पनि देशका पछि आउने नेताहरुले क्षमायाचना माग्नु अप्ठेरो कुरा हो । ‘इतिहास, इतिहास हो, उतिबेला जताततै ज्यादती भएकै हुन्थ्यो, एक–एक घटनालाई लिएर माफी माग्दै हिंडे कहाँ साध्य हुन्छ र’ — यस्ता कुरा हाउस अफ कमन्स्मा पनि उठ्यो ।

तर, उही बेलाको राज्यको निरन्तरता आजको सरकारलाई मान्ने हो भने उदार दृष्टि लिएर क्षमायाचना गरिएका धेरै उदाहरण छन् । क्यानडाका प्रधानमन्त्रीले भारतीय स्वतन्त्रता संग्राममा संलग्नलाई ‘कोमागाता मारु’ नामको पानीजहाज कलकत्ता फर्काएकोमा १०२ वर्षपछि क्षमायाचना गरे ।

जापानी प्रम शिन्जो आबेले हवाई टापुको पर्ल हार्बरमा बमबारी गरेकोमा ७५ वर्षपछि माफी मागे । बाराक ओबामा अमेरिकी राष्ट्रपति हुँदा हिरोशिमा पुगेर सन् १९४५ मा आणविक बम खसालेकोमा पश्चात्ताप व्यक्त गरे ।

जलियाँवाला बागको सन्दर्भमा बेलायती प्रम टेरेसा मे त्यति उदार हुन सकिनन् । माफी र क्षमायाचनाको कुरा गरिनन्, बरु संसदमा उनले गत हप्ता भनिन्, ‘जे भयो र जति दुःख भयो त्यसको लागि हामीलाई गहिरो अफसोच छ ।’

जलियाँवाला बागको फायरिङमा बेलायती सेनामा कार्यरत नेपाली नागरिक समेत संलग्न थिए । त्यहाँ थ्री–नट–थ्री बन्दूकको ट्रिगर नेपाली हातले पनि दबाएको थियो ।

अर्कैको कमाण्डमा गरिएको १०० वर्षअघिको त्यो नरसंहारका लागि वर्तमान नेपाली समाज र राज्यले क्षमायाचना गर्ने कुरा त नहोला । तर, हामी जलियाँवाला बाग घटनाबारे खोज, चिन्तन र मनन पक्कै गर्न सक्छौं ।

प्रतिकृया दिनुहोस