अमेरिका-चीन व्यापार वार्ता अन्तिम चरणमा
चीन र अमेरिका व्यापार वार्ता निष्कर्षमा पुग्न लागेको अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले बताएका छन् ।
दुई देशबीच उत्पन्न भएको व्यापार विवाद वार्ताद्वारा सुल्झाउन जारी वार्ता निष्कर्षमा पुग्न लागेको उनले दावी गरे ।
अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको नियमित बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री मन्चिनले अमेरिकी चासोलाई सम्बोधन गर्नेगरी व्यापार वार्ता अघि बढिरहेको बताए ।
अहिले विश्व व्यापारमा मन्दी आउनुमा दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीच उत्पन्न व्यापारिक तनाब नै मुख्य कारण रहेको विभिन्न अध्ययन प्रतिवेदनहरु सार्वजनिक भएका छन् ।
अमेरिकी अर्थमन्त्री मन्चिनको व्यापार वार्ता अन्तिम चरणमा पुग्न लागेको भन्ने नयाँ भनाईले विश्व अर्थतन्त्रमा नयाँ मोड आउने विश्वास व्यक्त गरिएको छ ।
नौ महिनादेखि जारी व्यापार युद्धलाई निश्कर्षमा पुर्याउन दुबै देशबीच बेइजिङ र वासिङ्टन डिसीमा घनीभूत वार्ता भइरहे पनि सम्झौताको मिति अझै तय हुन सकेको छैन ।
मुद्राकोषले यसै साता गरेको प्रक्षेपणमा सन् २०१९ को अन्तिम महिनाहरुमा विश्व अर्थतन्त्रमा सुधार आउने उल्लेख छ । कोषका अनुसार, तर त्यसका निम्ति विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न मतभिन्नता जतिसक्दो चाँडो टुङ्ग्याउनु पर्दछ ।
शनिबार सम्पन्न मुद्राकोषको अन्तिम बैठकबाट जारी वक्तव्यमा “व्यापार तनाब सुल्झाउन” आग्रह गरिएको छ । साथै संयुक्तराज्य अमेरिकाको अनुरोधमा विश्व व्यापार संगठनको सुधारमा मद्दत गर्ने बैठकमा सहमति भएको छ । मुद्राकोषमा १८९ मुलुक सदस्य छन् ।
मुद्राकोषकी प्रमुख क्रिस्टिन लागार्डले वासिङ्टन बैठकमा भेला भएका सबै अधिकारीहरुले आर्थिक वृद्धिका निम्ति व्यापारका लाभका बारेमा खुलस्त धारणा राखेको बताईन् ।
अर्थमन्त्री मन्चिनले संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि चीनसँग हतारमा सम्झौता गर्नुभन्दा राम्रो सम्झौता गर्नुपर्ने धारणा रहेको बताए ।
“मितिको कुरा ठूलो होइन, राम्रो सम्झौता हुनु आवश्यक छ,” मन्चिनले भने, “तर मेरो विचारमा केही जटिल विषयमा समय लागेको हो, त्यो टुङ्गिने चरणमा प्रवेश गरिसकेको छ र चाँडै सम्झौता हुन्छ ।”
अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पुर्याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिएका छन् । रासस/एएफपी