लुक्ला हवाई दुर्घटनाः एक को–पाइलट र दुई प्रहरीको मृत्यु
सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ्ग हिलारी विमानस्थलमा आइतबार बिहान भएको हवाइजहाज दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
लुक्लाबाट रामेछापका लागि उड्न लागेको समिट एयरको नाइनएन–एएमएच जहाज छेवैमा रहेको हेलिप्याड पार्किङमा रहेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्किँएको थियो ।
दुर्घटना बिहान ९ बजेर १० मिनेटमा भएको थियो । विमान धावनमार्गबाट चिप्लिएर हेलिप्याडतर्फ लागेको अनुमान गरिएको छ ।
विमानमा अन्य यात्रु थिएनन् ।
दुर्घटनामा समिट एयरका को–पाइलट सुजित ढुंगाना र ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर तामाङ मृत्यु भएको हो ।
अर्का प्रहरी सहायक निरीक्षक रुद्रनाथ श्रेष्ठ भने उपचारका क्रममा काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको बताइएको छ । मृतकको शव सिम्रिक एयरबाट काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको छ ।
दुर्घटनामा समिट एयरको पाइलट रविनाथ रोकाया, मनाङ एयरका को–पाइलट चेतबहादुर गुरुङ घाइते भएका छन् । उनीहरुलाई पनि उपचारका लागि काठमाडौं ल्याइएको छ ।
समिट एयरकी एयर होस्टेस् आर.लामा भने सकुशल रहेको प्रहरीले जनाएको छ ।