‘कांग्रेसमा नीति र नेतृत्व परिवर्तन आवश्यक’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेपाली कांग्रेस पार्टीको महाअधिवेशन एवम् महासमिति पार्टीको सर्वोच्च निकाय हो, यसको निर्णय नै सर्वोपरि हुने बताएका छन् ।
नेपाली कांग्रेसमा महासमिति बैठकले गरेको निर्णयलाई केन्द्रीय कार्यसमितिले उल्ट्याउने, बेवास्ता गर्ने कार्य गर्दछ भने यो भन्दा घोर अप्रजातान्त्रिक निर्णय के हुन सक्छ भनी प्रश्न गरेका छन् ।
उक्त कुरा प्रजातान्त्रिक विचार केन्द्र, रौतहटले २९ औं जनआन्दोलन दिवसको उपलक्ष्यमा स्थानीय चन्द्रपुर नगरपालिकामा ‘वर्तमान राजनीतिक सन्दर्भमा लोकतान्त्रिक आन्दोलनका चुनौतीहरू’ विषयक शुक्रबार आयोजित विचार गोष्ठीमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै बताएका हुन्।
केसीले गोष्ठीलाई सम्बोधन गर्दै अगाडि भने, “नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेर पार्टी अगाडि बढ्न सक्दैन, कांग्रेसलाई बलियो बनाउन आम कार्यकर्ताले व्यक्तिगत एवम् गुटगत स्वार्थबाट माथि उठेर काम गर्नुपर्छ ।”
उनले ‘वाइडबडी प्रकरण, विना टेण्डर बुढीगण्डकी आयोजना सुम्पने काम, फोर जी काण्ड लगायत भ्रष्टाचारका काण्डले सरकार चौतर्फी भ्रष्टाचारमा लिप्त रहेको प्रमाणित हुन्छ ।
सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको देख्दा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आवाज किन कमजोर भइरहेको भनी प्रश्न गरे । दुई तिहाइ बहुमतको शक्तिशाली सरकार चौतर्फी असफल भइरहेको छ, नेपाली कांग्रेस केही बोल्दैन किन भन्ने प्रश्न गर्दै कांग्रेसले सरकारको प्रजातन्त्र र जनविरोधी कामका विरुद्ध आक्रामक भएर प्रस्तुत हुन जरुरी रहेको कुरामा केसीले जोड दिए ।
विचार गोष्ठी सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रौतहटका सभापति एवम् पूर्व सांसद कृष्ण यादवले रौतहट जिल्लामा पार्टीका सबैलाई समेटेर लैजाने प्रयास भइरहेको छ, संगठन बलियो भए मात्र सबैले अवसर पाउने हो, असहयोग गर्दा पार्टीलाई नै नोक्सान हुने बताउँदै सहयोगका लागि सबैलाई आह्वान गरे ।
नेपाली कांग्रेसका नेता एवम् रौतहटबाट संघीय संसद्का सांसद देवीप्रसाद तिमल्सिनाले निर्वाचनका बेला कार्यकर्ता राम्रोसँग परिचालन हुन नसकेकै परिणाम पार्टीको पराजय भएको, पराजयकै कारण संसद्मा कांग्रेसको उपस्थित कमजोर भएकाले संसद्मा कांग्रेसले सशक्त भूमिका खेल्न नसकिरहेको बताए । पार्टीमा आमूल सुधार र परिवर्तनको खाँचो रहेको कुरामा उनले जोड दिए ।
नेपाली कांग्रेसका नेता एवम् राजनीतिक विश्लेषक लोकेश ढकालले विचार गोष्ठीमा विशेष अतिथिको रूपमा सम्बोधन गर्दै ‘नेपाली कांग्रेसमा नीति र नेतृत्व दुवै खराब भएकाले नै कांग्रेस इतिहासमै सबैभन्दा कमजोर र चुनौतीको घडीमा आइपुगेको बताए ।
उनले कांग्रेसमा नीति र नेतृत्व दुवैको परिवर्तन आवश्यक भएको औंल्याउँदै नेतृत्व परिवर्तनका लागि महाधिवेशनको प्रतिक्षा गर्नुपर्ने भएकाले नीति र विचार परिवर्तनका लागि अहिलेदेखि नै पार्टीमा वैचारिक बहसको खाँचो रहेकोमा जोड दिए ।
ढकालले कांग्रेसले विशेष गरेर १२ बुँदे समझदारी, शान्ति सम्झौता, संविधान निर्माणको कार्य भइरहँदा पार्टी स्थापनाकालीन सिद्धान्त र बीपीका विचारलाई पर्वाह नगरेका कारणले नै कमजोर भएको बताए । पार्टीले संघीयता, धर्मनिरपेक्षता लगायत मुद्दामा पुनर्विचार गर्नुपर्नेमा विशेष जोड दिए।
कार्यक्रम प्रजातान्त्रिक विचार केन्द्र, रौतहटका सभापति रविनचन्द्र कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।