टिप्पणीशनिबार, ३० चैत्र , २०७५

औषधी सिमल

कमल मादेन

स्थानीय परिवेशमा पाइने सिमल जस्ता औषधिजन्य वनस्पतिबाट लाभ लिन हामी नीतिगत र व्यावहारिक दुवै रूपमा चुकिरहेका छौं।

फूल फुलेको सिमलको रूख । तस्वीरहरु: कमल मादेन

यस वर्ष माघ–फागुनमा काठमाडौंबाट बीपी राजमार्ग हुँदै सुनसरीसम्म दुई पटक ओहोरदोहोर गर्दा एकाध ठाउँमा बाटोछेउ सिमलका बोट फुलेका देखिए । सिमल दुर्लभ वनस्पति नभए पनि अन्य वनस्पति झैं जताततै पाइन्न । 

समुद्री सतहबाट १४०० मिटर उँचाइमा पाइने सिमललाई अंग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री, कटन ट्री आदि भन्छन् । हामीकहाँ लिम्बू, राई, गुरुङ, नेवार, तामाङ, चेपाङ, मुसहर र थारू समुदायले क्रमशः तेंगो, गेयोङ्मा, चोङगोन्छी, सिन्बासु, काग्धोङ, ग्लाउसी, सिमार र सेमार भन्छन् । यसको वैज्ञानिक नाम भने ‘बम्बाक्स सेइबा’ हो । सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तक अनुसार स्वीडेनका वनस्पतिविद् एवम् जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए ।

नेपाल सहित दक्षिणएशियाका सबैजसो देश तथा चीन, इन्डोनेशिया, लाओस, मलेशिया, म्यान्मार, फिलिपिन्स आदि मुलुकमा सिमल पाइन्छ । युरोपमा भने यो भेटिंदैन । कार्ल लिन्नियस दक्षिणएशिया नआए पनि उनका एक चेला कार्ल पिटर थुन्जवर्ग श्रीलंका पुगेका थिए । तिनैले त्यहाँबाट सिमलका नमूना स्वीडेन लगेका हुन सक्छन् ।

चारकोसे जंगलमा खोलाका बगरतिर सिमलका बडेमानका रूख कतैकतै भेटिन्छ । रूख अग्लो भएकै कारण यसको फूलको तस्वीर नजिकबाट खिच्न सकिन्न । झरेका फूलमा स्त्रीकेसर र पुंकेसर दुरुस्त देखिंदैनन् । फूलको बाहिरी आवरण कडा र गाढा खैरोमा कालो रङ मिसिएको देखिन्छ । भित्रपट्टि गाढा रातो रङका पाँच वटा पुष्पपत्र हुन्छन् । हल्का पहेंलो रङ मिसिएको फूल फुल्ने सिमल पनि हुन्छ, तर यस्तो रूख विरलै भेटिन्छ ।

अनुसन्धानात्मक लेखहरूका अनुसार सिमलको फूल मध्यरातपछि बिहानसम्ममा फक्रन्छ । फूलको रस चुस्न रातमा चमेरो र बिहानीपख चराहरू झुम्मिन्छन् । २०१९ जनवरीमा प्रकाशित बर्डस् एसोसिएटेड विद रेड सिल्क–कटन ट्री, अम्रावती डिष्ट्रिक्ट महाराष्ट्र शीर्षकको अनुसन्धानात्मक लेख अनुसार सिमलको फूलमा ८१ प्रजातिका चरा आकर्षित भएको पाइएको थियो ।

बहुगुणकारी
सिमल फूलको पुष्पपत्रलाई तरकारी तथा अचार बनाएर खाने प्रचलन छ । तर, औषधिजन्य वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखहरू अनुसार सिमलका विविध अवयव विभिन्न शारीरिक समस्यामा लाभदायक हुन्छन् ।

यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ । यस्तै, टाउको दुख्दा पातको रस एक/दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२ मा प्रकाशित ‘प्लान्ट्स एण्ड पिपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने लेखेका छन् । 

सिमलको जरा गुलियो हुन्छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । अनुसन्धानात्मक लेख अनुसार सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गरिएको छ । अर्को रोचक जानकारी अनुसार, महीनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुन्छ ।

धेरैजसो अनुसन्धानात्मक लेखहरूमा सिमललाई यौन सम्पर्कबाट सर्ने केही समस्या नियन्त्रण गर्न प्रयोग गरिने उल्लेख छ । यसलाई विशेषतः योनीबाट बग्ने सेतो चिपचिपे पदार्थ रोक्न प्रयोग गरिएको बताइन्छ ।

हाम्रै परिवेशको कुरा गर्दा, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभागका नरहरि आचार्य र राजेश तामाङ लिखित इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल (सन् २०१७) शीर्षक पुस्तक अनुसार, चेपाङ समुदायले पेट दुख्ने, आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन् । सिमलको विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ ।

उल्लिखित अध्ययन र उदाहरणहरूले सिमल औषधिजन्य जडीबुटी रहेको देखाउँछन् । तर, वनस्पति र जडीबुटी अनुसन्धानकर्ताले अक्सर फलानो समुदायले फलानो वनस्पति फलानो समस्या हटाउन प्रयोग गर्छन् भन्ने मात्र लेख्दै आएका छन् ।

अबको अध्ययन–अनुसन्धानले हाम्रा महत्वपूर्ण जडीबुटीजन्य वनस्पतिलाई के कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्नेबारे सुझाउनुपर्छ । व्यवसायीकरण हुनसक्ने जडीबुटीमा नेपाल सरकारले अहिलेसम्म अत्यन्त न्यून काम गरेकाले यसमा सम्बद्ध सरकारी निकाय र संघसंस्थाहरू लाग्नुपर्छ ।

वन नीति, २०७१ को दफा ११ को उपदफा ७ मा ‘व्यवसायीकरण हुनसक्ने जडीबुटी एवं गैरकाष्ठ वन पैदावार खेतीको प्रविधि विकास गरी वन क्षेत्र र बाहिर विस्तार गरिने’ उल्लेख छ । व्यवहारमा भने ‘माल पाएर चाल नपाएको’ हाम्रो स्थितिले औषधिमा परनिर्भरता बढाइरहेको छ ।

स्वदेशी तथा विदेशी व्यापारीले कम राजस्व तिरेर हाम्रा वनस्पति विदेश निर्यात गर्छन् र तिनै जडीबुटीबाट बनाइएका औषधि हामी महँगो दाममा खरीद गरिरहेका छौं । कतिसम्म भने, निकासी हुने हाम्रा केही वनस्पति कुन प्रजाति हो भन्ने राम्ररी यकिन समेत नगरी व्यापारीलाई छोडपुर्जी दिने गरिएको छ ।

हाम्रा जडीबुटी आफैंले खपत गरी पर्याप्त औषधि उत्पादन गरेर आत्मनिर्भर बन्न सक्ने संभावना छ । त्यसो गर्न नसक्ने हो भने पनि औषधिजन्य वनस्पतिलाई प्रशोधन गरेर मात्र निकासी गर्ने नीति अवलम्बन गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस