अन्तर्वार्ता/विचारशुक्रबार, २९ चैत्र , २०७५

“पर्यटनको लाभ कसरी लिने भनेर नेपालले कामै गरेको छैन”

हिमालखबर

चीनको स्वशासित क्षेत्र मकाउस्थित मकाउ विश्वविद्यालयका सह–प्राध्यापक हुन्, ग्लेन जेम्स मकार्टनी। टुरिजम् मार्केटिङमा विद्यावारिधि गरेका मकार्टनी गएको १६–१७ चैतमा काठमाडौंमा आयोजित लगानी सम्मेलनमा ‘पर्यटकीय गन्तव्य विकास’ सत्रका वत्ता थिए। सह–प्राध्यापक मकार्टनीसँग नेपालले पर्यटनबाट फाइदा लिन गर्नुपर्ने कामहरूका विषयमा हिमाल ले गरेको संवादको सारसंक्षेपः

ग्लेन जेम्स मकार्टनी । तस्वीर: www.tileweb.org

नेपालको पर्यटन उद्योगलाई कसरी हेर्नुभएको छ ? 
नेपाल पर्यटनको सम्भावना भएको देश हो, यसमा द्विविधा छैन । यहाँको प्रकृति, संस्कृति, गौतम बुद्धको जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाको विकल्प संसारमा कतै पनि छैन ।

मकाउको कुरा गर्दा, त्यहाँ पर्यटक आकर्षित गर्ने खासै केही छैन । तर, सन् २०१८ मा तीन करोडभन्दा बढी पर्यटक मकाउ पुगेका थिए । सन् २००१ देखि क्यासिनो खेलमा लिइएको उदारीकरण नीतिले त्यहाँ पर्यटकको संख्या बढाएको हो । पहिले सिंगापुरमा पनि केही थिएन ।

उनीहरूले गुरुयोजना अनुसार पर्यटकीय आकर्षणका संरचना विकास गरे, आज सिंगापुर खर्चालु पर्यटकहरू जाने गन्तव्य भएको छ । नेपालमा पर्यटक कसरी आकर्षित गर्ने भन्ने प्राथमिकता स्पष्ट हुनुपर्छ ।

पर्यटन विकासका लागि नेपालको स्पष्ट योजना भएन भन्न खोज्नुभएको ?
त्यस्तो पनि होइन । तर अहिलेकै कामगराइले यहाँको पर्यटन उद्योग धेरै माथि जान्छ जस्तो लाग्दैन । लगानी सम्मेलनमा नेपालको तर्फबाट बोल्ने हरेक वक्ताले देशको आर्थिक विकासमा पर्यटन महत्वपूर्ण हुने बताए । जुन धेरै सकारात्मक हो । तर, यहाँ पर्यटनको लाभ कसरी लिने भन्नेमा खासै काम भएको देखिंदैन ।

जस्तैः जर्मन सरकारको सहयोगमा नेपालले सन् १९७२ मा ‘पर्यटन गुरुयोजना’ बनाएको रहेछ । उक्त गुरुयोजनाले दिएका अधिकांश सुझाव अझैसम्म कार्यान्वयन भएका छैनन् । संसारको अग्लो स्थान सगरमाथा पुग्ने मात्र होइन, हेर्ने पनि धेरैको चाहना हुन्छ । तिनलाई आकर्षित गर्न स्पष्ट योजना र पूर्वाधार चाहिन्छ । पर्यटक ल्याएर मात्र हुँदैन, उत्कृष्ट सत्कार र सुविधा दिन पनि सक्नुपर्छ ।

पर्यटनमा नेपालको प्राथमिकता के हुनुपर्छ ?
दुई ठूला छिमेकी देश चीन र भारतका पर्यटक ल्याउन सके मात्र नेपालले धेरै लाभ लिन सक्छ । ट्रेकिङका लागि नेपाल संसारमा प्रख्यात छ । हिमाली क्षेत्रको ट्रेकिङमा जोखिम त हुन्छन्, तर पर्यटकलाई नेपालको ट्रेकिङ ट्रेल पूर्ण सुरक्षित छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।

नेपालको पर्यटन क्षेत्रमा पर्याप्त अनुसन्धान भएको छैन । पर्यटकले यहाँको के कुरा मन पराए, के मन पराएनन् भन्ने जानकारी नीति निर्मातालाई हुनुपर्छ । नेपालले तत्काल गर्नुपर्ने काम पूर्वाधार विकास हो । सडक राम्रो हुनुपर्‍यो, सबै ठाउँमा एटीएम चल्नुपर्‍यो, इन्टरनेट सहजै चलाउन पाउनुपर्‍यो ।

नेपालले सन् २०२० मा भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, यसबारे के भन्नुहुन्छ ?
सन् २०२० मै नेपालको भ्रमण किन गर्ने ? यसको स्पष्ट जवाफ दिन सक्नुपर्छ । अर्काे कुरा, पर्यटकको संख्या महत्वपूर्ण होइन । धेरै पर्यटक भन्दा पनि धेरै खर्च गर्ने र लामो समय बस्ने पर्यटकबाट बढी फाइदा हुन्छ ।

धेरै कोठामा भन्दा पनि महँगो कोठामा बस्ने पर्यटक ल्याउन जोड दिनुपर्छ । यस्तै, स्तरीय सुविधा दिने क्षमता विकास नगरी पर्यटक ल्याउन मात्र जोड दिंदा नकारात्मक सन्देश जान सक्छ । यसमा नीतिनिर्माताहरू सचेत बन्नुपर्छ ।

संसारभर दिगो पर्यटनको अवधारणा विकास भइरहेको छ, नेपालका पर्यटकीय गन्तव्यको अवस्था कस्तो पाउनुभएको छ ?
कुनै पनि क्षेत्रमा पर्यटन विकास गर्दा आर्थिक लाभसँगै वातावरण र स्थानीय संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्छ भन्ने अवधारणा दिगो पर्यटनले बोकेको छ, जुन निकै जायज हो । सीमित व्यक्तिलाई मात्र केही समय लाभ हुने गरी पर्यटन विकास गरिनुहुँदैन ।

पर्यटनले स्थानीय बासिन्दालाई लाभ दिन सक्यो भने दिगो पर्यटन विकासमा उनीहरू नै लाग्छन् । स्थानीय संस्कृति संरक्षण गर्ने भनेर मात्र हुँदैन, त्यसलाई आर्थिक उपार्जनसँग जोड्न सक्नुपर्छ । सगरमाथा लगायतका पर्यटकीय गन्तव्य फोहोर भएकोे समाचार आउँछन् । त्यहाँ पनि स्थानीयवासीलाई पर्यटकीय ठाउँ फोहोर हुँदै जाँदा पर्ने असरबारे बुझाउन सक्नुपर्छ । यसमा सरकार र अन्य सम्बद्ध पक्षहरू गम्भीर हुनुपर्छ ।

पर्यटन प्रवद्र्धनमा नेपालले के कस्तो प्रयोग गर्न सक्छ ?
हरेक देशका आ–आफ्नै रणनीति हुन्छन् । नेपालले पनि काम गरिरहेको होला । उत्तरी यूरोपमा रहेको फारो आइल्याण्ड्स त्यहाँको सरकारले मर्मतका लागि अप्रिलको अन्तिम साता बन्द गर्ने घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्रीले पर्यटकका लागि आइल्याण्ड्स बन्द हुने भए पनि मर्मत कार्यमा केही पर्यटक स्वयंसेवीका रुपमा सहभागी हुनसक्ने बताएका छन् ।

नेपालले पनि सन् २०२० मा भ्रमण वर्ष मनाउन लागेको सन्दर्भमा सरसफाइ र पदमार्ग मर्मतका लागि सगरमाथा क्षेत्र एक साताका लागि बन्द गर्न सक्छ । यसबाट पहिलो त नेपालले सन् २०२० मा भ्रमण वर्ष मनाउँदैछ भन्ने सन्देश संसारभर जान्छ, अर्को– पदमार्ग सुधार र सगरमाथा क्षेत्रको सफाइ पनि हुन्छ ।

तपाईंको विचारमा नेपालमा भोलि ‘ओभर टुरिजम्’ को जोखिम पनि आउला ?
कुनै पनि गन्तव्यले असीमित पर्यटक धान्न सक्दैन । यूरोपका धैरै शहरमा पर्यटकका कारण समस्या भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । नेपालको सन्दर्भमा अहिले नै ‘ओभर टुरिजम्’ को समस्या नआए पनि भविष्यमा आउन सक्छ । त्यसैले वैकल्पिक गन्तव्यहरू विकास गर्नुपर्छ ।

नेपालको पर्यटनमा विदेशी लगानी आउने सम्भावना कस्तो देख्नुहुन्छ ?
कुनै पनि लगानीकर्ताले सबैभन्दा पहिले बजार हेर्छ, जुन नेपालमा विस्तार हुने प्रशस्त संभावना छ । पर्यटकीय आकर्षणका संरचनाहरू बनाएर मकाउ र सिंगापुरले पर्यटक ल्याउन सक्छन् भने नेपालमा त प्राकृतिक रूपमै असीमित आकर्षण छन् ।

लगानीकर्ताले हेर्ने अन्य कुरामा कर प्रणाली, नियामक निकायको व्यवहार, श्रमिकको उपलब्धता आदि पर्छन् । लगानी सम्मेलन मार्फत नेपाल सरकारले सबै क्षेत्रमा राम्रो गर्ने सन्देश दिन खोजेको देखिन्छ । अब पूर्वाधार कसरी विकास हुन्छ, भाषण गरिए जस्तो व्यवहारमा देखिन्छ या देखिंदैन भन्नेबाट लगानी कति आउँछ भन्ने निर्भर गर्छ ।

कुन क्षेत्रमा लगानीको सम्भावना बढी छ ?
नेपालमा शहरी क्षेत्रबाट टाढा शान्त वातावरणमा एकीकृत रिसोर्टको सम्भावना देखिन्छ । एउटै स्थानमा पर्यटकले थिम पार्क, क्यासिनो, मीटिङ/सेमिनारका लागि सुविधायुक्त हल र बस्ने व्यवस्थित ठाउँ सहितको रिसोर्ट बनाउन सकिन्छ । सरकारले सम्मेलनमा शोकेसको रुपमा राखेका आयोजना पनि राम्रा छन् । त्यसलाई लगानीकर्ताले कसरी लिन्छन्, विस्तारै थाहा होला ।

प्रस्तुतिः शरद ओझा

प्रतिकृया दिनुहोस