टिप्पणीबिहिबार, २८ चैत्र , २०७५

भुल्नै नहुने मौलिकपन

वसन्त महर्जन

रुग्ण सम्पदा पुनर्निर्माणका क्रममा आधुनिक समयको माग भन्दै मौलिकता नामेट पार्ने गरी तामझाम गरिनु सभ्यता र संस्कृतिमाथिको आक्रमण हो ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बसन्तपुरस्थित गद्दी बैठक पुनर्निर्माण पछि । तस्वीर: बिक्रम राई

२०७२ सालको भूकम्पपछि ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा कुनै पक्षको पनि विमति थिएन । तर, कसरी पुनर्निर्माण गर्ने भन्नेबारे धेरै विवाद देखिए । यसबाट कतिपय पुनर्निर्माण कार्य अवरुद्ध भए, कतिपयमा ढिलासुस्ती भयो ।

पुनर्निर्माणमा देखिएको विवादका विषय केलाउँदा धेरैजसो सम्पदामा मौलिकताको प्रश्न जोडिएको देखिन्छ । सम्पदामा मौलिकताको महत्वबारे संवेदनशील नहुँदा नै यो समस्या देखापरेको हो । 

सम्पदा पुनर्निर्माणको सन्दर्भमा ‘पुरानो मात्रै भनेर हुन्न, नयाँ युग अनुसार बढ्न पनि जान्नुपर्छ’ भन्ने आग्रह पनि आउने गर्छ, यो घातक सोच हो । यस्तो आग्रहले सम्पदाको स्थापित मान्यतालाई नकारेको छ । सम्पदा भावी सन्ततिलाई हस्तान्तरण गर्नुपर्ने पुर्खाबाट प्राप्त नासो हो । नासो मास्न/फेर्न मिल्दैन, यसको सुरक्षा गर्नु प्रमुख जिम्मेवारी हुन्छ ।

सांस्कृतिक सम्पदाको प्रमुख विशेषता भनेकै यसको ऐतिहासिक पाटो हो । यसै कारण पुनर्निर्माण गर्दा पनि ऐतिहासिकतामा ध्यान दिइन्छ ।

साना–ठूला जुनसुकै सांस्कृतिक सम्पदाको अध्ययनबाट तत्कालीन सभ्यता, संस्कृति, जनजीवनका साथै आर्थिक स्थितिबारे जानकारी प्राप्त हुन्छ । नेपाली समाजमा पाइने सामाजिक–सांस्कृतिक विविधता जस्तै सम्पदामा पनि विविधता पाइन्छ ।

बस्तीको कुरा गर्दा, घरको बनावट हेरेरै जातीय समुदायमध्ये कसको हो भनेर छुट्याउन सकिन्छ । मौलिक नेवार बस्तीमा एउटा घरको छाना अर्कोसँग जोडेर लहरै बनाइएको पाइन्छ भने पहाडमा ब्राह्मण क्षत्री लगायतका घरहरू प्रायः छरिएका हुन्छन् ।

ब्राह्मण क्षत्रीका घरको आँगनमा तुलसीको मठ हुन्छ भने नेवार समुदायको घरको मूल ढोका अगाडि ‘पिखालखु’ भनेर एउटा ठाउँ छुट्याइएको हुन्छ, जसलाई ‘भेलू’ (भैरवको स्थान) मानेर प्रत्येक बिहान पूजा गरिन्छ । यसैगरी अन्य जातजातिको बस्तीको बनावट, घरको शैली र प्रयुक्त कलावस्तु फरक–फरक हुन्छन् ।

यी फरकपन नै मौलिकता हो । देशमा विविध जातजातिको बसोबास भए पनि यी सांस्कृतिक विविधतामा रहेको मौलिकपनमा ध्यान नदिनु अध्ययनको कमी हो ।

जनजीवनसँग धार्मिक तथा सांस्कृतिक विषय नङ र मासु जस्तै जोडिएका हुन्छन्, त्यसको संरचना भने फरक हुन्छ । तामाङ, शेर्पा लगायतका बौद्ध धर्मावलम्बी जनजातिहरूका लागि अत्यन्तै महत्व राख्ने छोर्तेन तथा मानेहरू बस्तीभन्दा अलि पर डाँडामा बनाइएको हुन्छ । नेवार बौद्धहरू भने त्यस्तै संरचना चीभाः र चैत्यहरू बस्तीभित्रै बनाउँछन् ।

यो समुदायको प्रत्येक बस्तीमा गणेशको मन्दिर अनिवार्य मानिन्छ र जात्रापर्वमा प्रत्येक घरले सबैभन्दा पहिले यही मन्दिरमा पूजा गर्छन् । यस्तै, जन्म र मृत्युका साथै अन्य गतिविधिको लगत राख्ने निश्चित ठाउँ ‘छ्वास’ को व्यवस्था गरिएको हुन्छ । हेर्दा सामान्य देखिए पनि सभ्यताको विकास कसरी भएको रहेछ भन्ने देखाउने यी कुराको ऐतिहासिक महत्व छ ।

सांस्कृतिक सम्पदा कुनै निश्चित प्रयोजनका लागि निर्माण गरिन्छ । तर, त्यो प्रयोजन पूरा हुने गरी संरचना जसरी बनाए पनि हुन्छ भन्ने सोच संस्कृतिलाई पटक्कै नबुझनुको उपज हो ।

देवताको मूर्ति रथमा राखेर भीडले तानेर मनाइने जात्राको ठाउँमा ‘मोटरमा राखेर लगे भइहाल्यो नि’ भन्ने सोच पनि सांस्कृतिक मान्यता विपरीत हो । यी जात्रा–पर्व धार्मिक–सांस्कृतिक मात्रै नभई मनोरञ्जनका माध्यम पनि हुन् । मनोरञ्जनका अत्याधुनिक प्रविधि र साधन हुँदाहुँदै पनि जात्रा–पर्वमा मानिसहरू संलग्न हुनुको अर्थ सांस्कृतिक पक्ष जीवन्त रहनु हो ।

मौलिकतालाई बेवास्ता गरेर पुनर्निर्माण गरिने सांस्कृतिक सम्पदाहरू अर्थहीन हुन जान्छन् । साथै, तिनले भ्रम पनि सिर्जना गर्छन् । अर्कातिर, संस्कृतिको नाममा विनियोजन हुने बजेट सांस्कृतिक भावना विपरीत खर्च भए राष्ट्रिय सम्पत्तिको दुरुपयोग साबित हुन्छ ।

सांस्कृतिक सम्पदाहरू हाम्रो गौरव र नासोसँगै पर्यटनका आकर्षण पनि हुन् । यदि मौलिकता नै भएन भने बाह्य जगतलाई हाम्रो आफ्नो भनेर देखाउने के कुरा बाँकी रहला ?

प्रतिकृया दिनुहोस