हामीलाई पनि साथ लिएर गए मुलुकमा समृद्धि आउँछ : डा. कोइराला
नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले विपक्षीहरुलाई पनि समृद्धितर्फको यात्रामा सँगसँगै लैजान सत्तारुढ दल समक्ष आग्रह गरेका छन्।
मुलुक अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनले सँगै समृद्धिको यात्रामा लैजान आग्रह गरे ।
“हामी सकारात्मक प्रतिपक्षको भूमिका खेल्न चाहन्छौं, हामीलाई पनि साथ लिएर गए मुलुकमा समृद्धि आउँछ ”, भरतपुरमा नवनिर्मित जेम्स वर्ल्ड फन पार्कको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने ।
कोइरालाले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रबाट फनपार्क सञ्चालनमा आएको भन्दै यसले समग्र जिल्ला र देशको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कोइरालाले फनपार्कको दोस्रो परियोजना ‘चितवन आई टावर’को शिलान्यास गरेका थिए ।
चितवन भेटघाट समूहले रु २५ करोडभन्दा बढीको लागतमा एक सयभन्दा बढी खेल समावेश गरी पार्क निर्माण गरेको हो ।