संसदीय समितिले माग्यो मेडिकल कलेज विरुद्धका उजुरी
चर्को शुल्क लिने मेडिकल कलेजविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको मेडिकल कलेजको शुल्क विवाद अध्ययन उपसमितिले उजुरी माग गरेको छ ।
उपसमितिले मेडिकल कलेजका कार्यबाट मर्का परेको विषयमा विद्यार्थी, अविभावक, जन प्रतिनिधि, सर्वसाधारण तथा सरोकारवालाबाट उजुरी माग गरेको हो ।
कलेजहरुले एमबीबीएस, बीडिएस तथा अन्य तहहरुमा सरकारले तोकेभन्दा बढी शुल्क लिने र सो शुल्क नबुझाउनेलाई तनाव उत्पन्न गराएको समाचार सार्वजनिक भएपछि संसदको शिक्षा तथा स्वास्थ्य समितिले शुल्क विवाद लगायतका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
उपसमितिले २८ चैत्रदेखि १५ दिनसम्म पत्राचार वा इमेल गरी उजुरी र गुनासो पठाउन सूचना गरेको छ ।
मेडिकल कलेजको विकृति, विद्यार्थीमाथि शोषण, शुल्कको ठगी लगायतका विषयमा हिमालखबरले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ ।
पढ्नुहोस्