अस्ताए गोल्छा अर्गनाइजेशनका ‘मियो’
‘हुलास भए अरु किन खोज्ने ?’ हुलास जस्तापाताको यो विज्ञापन नसुन्ने नेपाली कमै होलान् ।
खरको धूरीमा टीन टल्काउने नेपालीहरुको रहर पुरा गराउन ठूलो मद्दत पुर्याएको हुलास स्टिल मात्र होइन, भृकुटी कागज कारखाना, श्रीराम सुगर मिल, इस्टर्न सुगर मिल, नेपाल बोर्डस, जुट उत्पादन गर्ने अरिहान्त मल्टिफाइबर, अरिहान्त पोलिप्याक्स, अरिहान्त एग्रीफार्मजस्ता उद्योग स्थापनामा ठूलो योगदान गरेका दिवाकर गोल्छा मुलुककै सर्वाधिक रोजगारी सृजना गर्ने औद्योगिक घराना ‘गोल्छा अर्गनाइजेशन’को ‘मियो’ मानिन्छन् ।
हजुरबुबा श्रीरामलाल जी गोल्छाले ९ दशकअघि शुरु गरेको औद्योगिक व्यवसायलाई विस्तार गर्न गोल्छा अर्गनाइजेशन स्थापना गर्ने मुख्य भूमिका निर्वाह गरेका उनै दिवाकर गोल्छाको मंगलवार राती भारतको चेन्नईमा निधन भएको छ ।
६७ वर्षअघि विराटनगरमा जन्मिएका गोल्छाको दुई साताअघि मात्रै मृगौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय व्यापारमा बढी सक्रिय देखिएको गोल्छा अर्गनाइजेशन नेपालमा औद्योगिकरणको शुरुआत गर्ने घराना हो ।
श्रीरामलाल गोल्छाका दुईभाइ छोरा थिए, हंषराज र हुलाशचन्द । हंषराजका पाँचभाइ र हुलाशचन्दका चार भाइ छोरा छन् ।
लोकमान्य, दिवाकर, राजकुमार, दिनेश र महेन्द्र हंषराजको छोरा हुन् भने चन्द्रकुमार, सुरेन्द्र, शेखर र सञ्जय गोल्छा हुलाशचन्दका छोरा हुन् ।
शेखर अहिले उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष छन् । दिवाकर महासंघको प्रथम उपाध्यक्ष भइसकेका थिए । २०६४ सालको संविधान सभामा दिवाकर नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सभासद बनेका थिए ।
राजनीतिमा सहभागी हुने, विदेशी साझेदारहरुसँग सम्पर्कसूत्र बनाउने, जनसम्पर्कमा ध्यान दिने र नयाँ क्षेत्रमा लगानी गर्न उत्प्रेरित हुने दिवाकर ‘चेन स्मोकर’ पनि हुन् ।
दिवाकरले हुलास स्टीलमा जापानी प्रविधि भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले पछिल्लो समय ‘अरिहान्त’ नाममा विभिन्न कम्पनी स्थापना र व्यवस्थापन गर्दै आएका थिए ।
पढ्नुहोस्ः