टिप्पणीबुधबार, २७ चैत्र , २०७५

बर्डफ्लु संक्रमणअघि नै चनाखो बनौं

हिमालखबर

प्राणघातक बर्डफ्लुको संक्रमण देखिनुअघि नै सतर्कता अपनाउन प्रादेशिक सरकार र स्थानीय तहले विशेष ध्यान दिनुपर्छ। 

विश्वनाथ खरेल

बर्डफ्लु एच फाइभ एन वान नामको सूक्ष्म भाइरसको कारणले लाग्ने प्राणघातक रोग हो, जसलाई एभियन इन्फ्लुएन्जा पनि भनिन्छ ।

अति नै छिटो सर्ने यस्तो भाइरस १४४ प्रकारका हुन्छन् । बर्डफ्लु भाइरसको सतहमा रहने एच (हिमाग्लुटिनिन) र एन (न्युरामिनिडेज) प्रोटिनका आधारमा पनि विभिन्न उप–प्रजाति हुन्छन्, जसमध्ये एच फाइभ एन वान र एच सेभेन एन सेभेन बढी घातक हुन्छन् । बर्डफ्लु लागेपछि गर्ने औषधि वा खोप हालसम्म पत्ता लागेको छैन ।

त्यसैले रोग लाग्नुअघि रोकथामका उपाय अपनाउनु नै उचित हो । विज्ञहरूको भनाइमा उचित सतर्कता अपनाए मानिसमा यो रोग कमै सर्छ ।

बर्डफ्लु सर्वप्रथम सन् १८७८ मा चराचुरुङ्गीमा र सन् १९९७ मा मानिसमा देखिएको हो । सन् १९६१ मा दक्षिण अफ्रिकी देशको कुखुरा फार्मबाट फैलिएपछि यो रोगले विश्वव्यापी रूप लिएको हो ।

बर्डफ्लुका कारण विभिन्न देशमा गरी हालसम्म २६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को तथ्यांक छ । संगठनका अनुसार, हालसम्म ६५ देशमा बर्डफ्लु देखिएको छ । बर्डफ्लुबाट अहिलेसम्म २२ अर्ब पक्षी मर्दा वा नष्ट गरिंदा २०० अर्ब डलर क्षति भएको विज्ञहरू बताउँछन् । 

बर्डफ्लुको विषाणु खासगरी रोगी पक्षीहरूबाट मानिसमा सर्छ । तर, मानिसबाट मानिसमा सरेर मृत्यु समेत भएका घटनाहरू चीन, कम्बोडिया, थाइल्याण्ड, भियतनाम र टर्कीमा सार्वजनिक भइसकेका छन् ।

दक्षिण एशियामा यो रोग सन् २००६ मा पहिलो पटक फैलिएको हो । नेपालमा भने सन् २००९ पछिका वर्षहरूमा यसले प्रभाव पार्दै बेलाबेला त्रस्त बनाउँदै आएको छ ।

हेटौंडा उपमहानगरपालिका–७ नागश्वतीमा रहेको एक कुखुरा फार्ममा हालसालै बर्डफ्लुको संक्रमण भएको पुष्टि भएपछि प्राविधिक टोलीको अगुवाइमा २ चैतदेखि प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने अभियान चलाइएको छ । संक्रमण देखिएको स्थानलाई केन्द्रविन्दु मानेर स्थानीय प्रशासनले वरिपरिका करीब तीन किलोमिटर क्षेत्रमा तीन महीनासम्म कुखुरा र अन्य पन्छी नपाल्न आग्रह गरेको छ ।

पशु सेवा कार्यालय मकवानपुरका अनुसार बर्डफ्लु संक्रमित क्षेत्रमा २८ फार्मका ४२ हजार ७०० कुखुरा र चल्ला प्रभावित देखिएको छ । कुखुरा र अण्डा नष्ट गरेर बर्डफ्लु नियन्त्रण आदेश, २०६४ अनुसार उचित क्षतिपूर्ति दिन पशु सेवा विभागमा सिफारिश गर्ने सहमति भएको छ । मकवानपुरमै यसअघि २०६९ साउनमा बर्डफ्लुको भाइरस फेला पर्दा ११ हजार कुखुरा नष्ट गरिएका थिए ।

पछिल्लो समय मकवानपुरका साथै काठमाडौं र पोखरामा बर्डफ्लुको संक्रमणले त्रास बढाएको छ । काठमाडौं उपत्यकामा मात्र करीब एक लाख २३ हजार १३४ कुखुरा नष्ट गरिएको विभागले जनाएको छ ।

मुलुक कुखुराको मासु र अण्डामा आत्मनिर्भर छ । पछिल्ला वर्षमा उपभोग समेत ह्वात्तै बढेको छ । पशु सेवा विभागका अनुसार ६४ जिल्लामा २१ हजार ९५६ व्यावसायिक कुखुरा फार्म छन् ।

देशभर कुखुरापालन भए पनि चितवन, काभ्रे, दाङ, सुनसरी, धादिङ लगायत जिल्लालाई पकेट क्षेत्र मानिन्छ । सरकारी तथ्यांक अनुसार कुखुराको मासुबाट वार्षिक रु.२० अर्ब ५२ करोड ८८ लाख, अण्डाबाट रु.९ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्ला बिक्रीबाट रु.३ अर्ब ६० करोड ७६ लाख र कुखुराको मलबाट रु.४५ करोड ३७ लाखको कारोबार हुन्छ ।

यो व्यवसायमा करीब रु.१ खर्ब लगानी भएको पोल्ट्री व्यवसायी मञ्चको आँकडा छ । जसमा ५५ हजार ८७१ जनाले पूर्ण रोजगारी पाएका छन् । तर, किसानको व्यवसायलाई बर्डफ्लु लगायतका संक्रमणले बेलाबेला प्रभाव पार्ने गरेको छ ।

भारतमा चल्ला सस्तो पाइने भएकाले खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा आयात गरिनु र सिमानामा क्वारेन्टाइन जाँच गतिलो नहुँदा यस्तो संक्रमण भित्रने गरेको छ । एक ठाउँमा संक्रमण फैलिए लगत्तै सबैजसो क्षेत्रमा कुखुराको मासुको उपभोग स्वाट्टै घट्ने हुँदा किसान मारमा पर्ने गरेका छन् ।

चल्लाको अवैध आयात रोक्नुपर्ने, बर्डफ्लु तथा महामारीमा नष्ट भएका कुखुरा र अण्डाको क्षतिपूर्ति दिनुपर्ने आवाज किसानले विभिन्न समयमा उठाउने गरेका छन् । कुखुरा उत्पादनमा अहिले देश आत्मनिर्भर रहेकाले वार्षिक अर्बौं रुपैयाँ विदेशिनबाट जोगिएको छ । त्यसैले किसानका माग सम्बोधन गरी व्यवसाय जोगाउन सरकारी निकाय चनाखो हुन जरूरी छ ।

कुखुरा उत्पादनको मुख्य क्षेत्रमध्ये पर्ने हेटांैडा, पोखरा र काठमाडौंमा पछिल्लो समय देखिएको बर्डफ्लु संक्रमण पूर्णरूपमा नियन्त्रण भइसकेको छैन । कुखुरा फार्ममा यो संक्रमण भएपछि मानिसमा समेत सर्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । कुखुराको हेरचाह गर्ने क्रममै संक्रमण फैलिएको पाइन्छ ।

अर्कातिर, कुखुराको मासु अन्य मांसभन्दा धेरै खपत हुने भएकाले जोखिमको क्षेत्र व्यापक हुन्छ । संक्रमण देखिनुअघि नै सतर्कता अपनाउन प्रदेश सरकारहरू र स्थानीय तहले विशेष ध्यान दिनुपर्छ । (खरेल कृषि विभागका पूर्व योजना अधिकृत हुन् ।)

प्रतिकृया दिनुहोस