भक्तपुरकाे दधिकोटमा बर्डफ्लु भेटियाे
भक्तपुरको सूर्यविनायकमा एचवानएनवान भाइरस (बर्डफ्लु) भेटिएको छ ।
सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको अनुस्कृत कुखुरा फार्मका ब्रोइलर कुखुरामा बर्डफ्लु भएको भेटिएपछि गए राति दुई हजार २०० ब्रोइलर कुखुरा नष्ट गरिएको छ ।
पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक मधुराम न्याैपानलेले जानकारी दिए ।
बर्डफ्लु सङ्क्रमित क्षेत्रको चार किल्लाभित्र कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ । खाली खोरलाई सङ्क्रमणमुक्त बनाउँदै बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको उनले बताए ।
यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भएपछि दुई हजार ९८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो ।