सुदूरपश्चिम–११ लाई शुभकामनासहित बिदाइ
गजेन्द्र शाहीको कप्तानीमा रहेको १८ सदस्यीय टोलीलाई धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले शुभकामना सहित बिदाइ गरेका छन्
।
राजर्षि जनक कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम–११ स्पोर्टस् क्लब मंगलबार सर्लाहीतर्फ लागेको हो ।
सुदूरपश्चिम–११ को टोलीलाई आज क्लबको कार्यालयमा एक कार्यक्रम आयोजना गरी बिदाइ गरिएको हो ।
सो अवसरमा बोल्दै मेयर ओडले खेल अनुशासन अनुसार खेलेर सुदूरपश्चिम प्रदेशको इज्जत राख्न टोलीलाई शुभकामना दिए ।
बिदाइ गरिएको टोली आज नै प्रतियोगिता खेल्न सर्लाही लागेको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले आफ्नो पहिलो खेल चैत २८ गते खेल्नेछ । यो टोली गत वर्ष राजर्षि जनक कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको च्याम्पियन बनेको थियो ।
प्रतियोगिताको विजेतालाई दश लाख र उपविजेतालाई पाँच लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । वैशाख ६ गतेसम्म चल्ने खेलमा दुई विभागीय टिम सहित १२ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ दिइनेछ । हरेक दिनको म्यान अफ द म्याच घोषणा गरिनेछ । उक्त खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।