डा केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहिन
अनशनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच आज भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
केसीका अन्य माग पूरा गर्न दुवैपक्ष सहमति नजिक पुगे पनि चिकित्साशास्त्र अध्ययन् संस्थानका नवनियुक्त डिन डा केपी सिंहको राजीनामा वा वर्खास्तगीका विषयमा कुरा नमिलेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो ।
“डिन र भिसीको राजीनामामा कुरा अड्केको छ, केसी सरको मुख्य माग नै त्यही हो,” वार्ता टोलीमा सहभागी रेजिडेन्ट डक्टर्स एशोसिएसनका अध्यक्ष डा लिजन महर्जनले भने, “भोलि फेरि वार्ता हुनेछ, सरकारी टोलिबाट केही सकारात्मक कुरा आउँछ कि हेरौं ।”
यसअघि सरकारी वार्ता टोलीले डा केसीको जीवन रक्षाका लागि राजीनामा गर्न डिन केपी सिंहसँग आग्रह गरे पनि उनले कसैको दबाबमा राजीनामा नदिने बताएको र त्रिवि उपकुलपति तीर्थ खनियाँले पनि डिन केसीलाई राजीनामा दिन वाध्य नपार्ने र आफूले राजीनामा नगर्ने बताएपछि वार्ता सफल हुन नसकेको बुझिएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका बेथिति अन्त्यका ९ बुँदे माग राखी डा केसी १६ दिनदेखि अनशनमा छन् । उनको यो दशौं पटकको आमरण अनशन हो ।
बारम्बार अनशनले गलेको डा केसीको स्वास्थ्य १६ औं दिन पुग्दा चिन्ताजनक हुन लागेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।