हाजार्डको शानदार प्रदर्शन, चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो
इङलिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटी र लिभरपुलबीचको उपाधि होड जति रोचक बनेको छ, लिगको शीर्ष चारमा रहेर यूरोपेली च्याम्पियन्स लिगमा छनोट हुने बाँकी चार क्लबबीचको प्रतिस्पर्धा पनि उत्तिकै रोचक बनेको छ ।
मंगलबार बिहान सम्पन्न खेलमा लन्डन प्रतिद्धन्द्धी वेस्टह्याम युनाइटेडविरुद्ध २–० गोलको जित निकाल्दै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएपछि शीर्ष चारको भिडन्त थप रोचक बनेको हो ।
३३ खेल खेलेको चेल्सीको ६६ अंक छ । चेल्सीपछि चौंथो स्थानमा रहेको टोटनहमको ६४, पाँचौं स्थानको आर्सनलको ६३ र छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको ६१ अंक छ । टोटनहम, आर्सनल र म्यानचेस्टर युनाइटेडले चेल्सीभन्दा एक खेल कम खेलेका छन् ।
उपाधि होडमा रहेको लिभरपुलले ३३ खेलबाट ८२ अंक जोडेको छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८० अंक छ । लिभरपुल र सिटीमध्ये एकले लिग उपाधि जित्ने निश्चित भइसकेकाले चेल्सी, टोटनहम, आर्सनल र युनाइटेडबीच प्रिमियर लिगको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने तीब्र प्रतिस्पर्धा छ ।
यो प्रतिस्पर्धामा आफ्नो दाबेदारी थप बलियो पार्न चेल्सीका लागि स्टार खेलाडी एडिन हाजार्डले फेरि आफूलाई अब्बल सावित गरे । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा हाजार्डले पहिलो हाफको २४ औं मिनेटमा दर्शनीय गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । वेस्टह्यामका पाँचजना डिफेन्डरलाई एक एक गरी पन्छाएर उनले गरेको यो गोलले फूटबल विश्लेषकहरुबाट ठूलो प्रशंसा पाइरहेको छ ।
हाजार्डले ९० औं मिनेटमा रोस बार्कलेको पासमा आफ्नो दोस्रो गोल गर्दै चेल्सीका लागि महत्वपूर्ण ३ अंक सुनिश्चत गरेका थिए ।
स्पेनिस क्लब रियल मड्रिडले कीर्तिमानी रकममा अनुबन्ध गर्ने प्रयास गरिरहेका बेल्जियमका कप्तान हाजार्डले आफू अहिले चेल्सीमै केन्द्रित रहेको सन्देश पनि दिए, यो खेलबाट ।