टिप्पणीसोमबार, २५ चैत्र , २०७५

बारा विपत्‌काे सन्देश

मिलन बगाले

हावाहुरीको प्रकोप हाम्रा घरबस्तीको कमसल निर्माण सुधार गर्ने जनाउ घण्टी हो, यसतर्फ स्थानीय र प्रादेशिकसँगै संघीय सरकार समेत संवेदनशील बन्नुपर्छ।

हावाहुरीबाट तहसनहस बाराको फेटा गाउँपालिका–६ पुरैनियास्थित गछिया टोल । तस्वीरः किरण नेपाल

काठमाडौंमा बढेको जाडो सम्झेर गएको माघ दोस्रो साता सिरहा, धनुषा र बाराका गाउँबस्तीमा एक साताको काममा निस्कँदा अलि बाक्ला लुगा बोकेको थिएँ, त्यतातिर शीतलहर पो चलेको छ कि भनेर । तर, त्यहाँ पुग्दा गत वर्षको तुलनामा खासै जाडो थिएन ।

तराई–मधेशलाई यो वर्ष शीतलहरले पिरेन । यो सुखद पाटो बिर्साउने गरी यतिबेला अकल्पनीय विपत्‌ले मधेशका केही बस्तीलाई पिरेको छ । १७ चैत साँझकाे भुमरी सहितको हुरीले बारा र पर्साका केही बस्ती तहसनहस मात्र पारेन, ठूलो क्षति समेत भयो । विपत्मा परी २७ जनाले ज्यान गुमाए, सयौं घाइते भए ।

हरेक वर्ष चैत–वैशाखमा हावाहुरी आउँथ्यो, असिना पानी पथ्र्यो । हुरीले एकाध घरका छाना उडाउँथ्यो, त्यसले ठूलो विपत्‌काे रूप लिंदैनथ्यो । यसपालि भने हामीले मधेशमा विनाशकारी हुरी भोग्यौं । जम्माजम्मी तीन मिनेट चलेको हुरी र भुमरीले पक्की घरदेखि पानी तान्ने हाते पम्प समेत ढलाएको देखियो ।

बिजुलीका पोल ढले, गाडीहरू समेत पल्टिए । बस्तुभाउ गोठमै किचिए । बालीनाली सोत्तर भयो । हुरीको असर बारा र पर्सा जिल्लामा परेको छ र त्यसमा पनि बाराको फेटा गाउँपालिका धेरै प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार हुरीका कारण १ हजार ५९ घर पूर्णरूपमा भत्किएका छन् भने २४०० घर क्षतिग्रस्त भएका छन् ।

तराई–मधेशका बस्तीको निर्माण शैलीलाई सरसर्ती नियाल्दा देहातमा तीन किसिमका घर देखिन्छन् । देहातका बस्तीमा ढलान गरिएका पक्की घरको संख्या दिनदिनै बढ्दो छ । यस्तै, पिलर हाली वा नहाली इँटाको गारो लगाएर खपडा वा जस्तापाताको छानो लगाई अर्धपक्की घर बनाउने चलन पनि छ ।

आम रूपमा भने बाँसको टाटीमा माटो लिपेर तथा फुस वा खपडाको छानो लगाएर बनाएका कच्ची घर छन् । तर, वैदेशिक रोजगारका कारण कमाइ बढ्दै जाँदा यहाँका घरहरूले आकार र अनुहार बदल्दैछन् ।

सुधारौं कमसल निर्माण
हिजोआज काठमाडौं होस् या देशैभर, पक्की घर बनाउने निर्माणकर्मीमा तराई–मधेशका कामदारको बाहुल्य छ । छड बाँध्ने, सिमेन्टको मसला घोल्नेदेखि फर्माको काममा मधेशका निर्माणकर्मी सिपालु छन् । तर, यो निर्माण शिल्पको बलियो प्रयोग मधेशका देहात र बजारमा खासै देखिंदैन । यसकै कारण हो, हावाहुरीमा कच्ची र अर्धपक्की घर त सोत्तर भए नै, अलि ढंग नपु¥याई बनाइएका र कमसल ढलानका घर समेत भत्किए ।

बाँसको टाटी र फुसको छाना भएका घरहरू आगलागीको चपेटामा परी पूरै गाउँ जलेको घटना मधेशमा वर्षेनिजसो दोहोरिन्छ । जमीनबाट जग धेरै नउठाई घर बनाउँदा डुबानमा परेको खबर पनि सुनिन्छ । यसपालि हुरीको विपत्ले घरबस्ती बलियो नबनाए आफूले पनि नछोड्ने जनाउ दिएको छ ।

हुरी प्रभावित क्षेत्रमा राहत, उद्धार, सहयोग र उपचारको चरण सकिएपछि घरबस्तीको पुनर्निर्माण गर्दा गम्भीरता आवश्यक छ । अब अलिअलि पैसा र जस्तापाता बाँडेपछि पुनर्निर्माण भइहाल्छ नि भन्ने मानसिकताले काम हुनुहुँदैन । धेरैथरी प्रकोप झेल्न सक्षम बलियो घर बनाउन प्रोत्साहनसँगै आर्थिक र प्राविधिक सहायताका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले ध्यान दिनु जरूरी छ ।

फुसका घर लड्दा ढुंगा–माटोको घर लड्दाभन्दा कम मानवीय क्षति हुन्छ । फुसका हलुका घरभित्र च्यापिएको मानिसलाई सहजै उद्धार गरेर बचाउन सकिन्छ । तर हावाहुरीमा घर असाध्यै हलुका भएकोले नै भत्किएको हो भन्ने तथ्य भुल्नुहुँदैन ।

प्रकोप थेग्नै नसक्ने गरी घर बनाउनुु जोखिमपूर्ण हुन्छ । प्रश्न घर हलुका या गह्रौं भन्ने होइन, घरले विपत्‌मा भर दिन सकोस् । हावाको झाेक्का, आगोको लप्का, पानीको बहाव र भूकम्पको सामान्य कम्पनले घर क्षतिग्रस्त नबनोस्, शीतलहरले नपिरोस् ।

गुणस्तरीय निर्माण सामग्री प्रयोग गरी बनाइएको ढलान घर बलियो मानिन्छ । तर, सबैले ढलान घर बनाउन सक्दैनन् । अर्कातिर, पक्की घरलाई प्राथमिकता दिएर देशभरको रैथाने निर्माण संस्कृतिको विनाश गर्नु पनि हुँदैन । चलनचल्तीका स्थानीय शैलीमा प्रविधिगत सुधार ल्याई सुरक्षित ओत बनाउन प्रोत्साहन गर्न सकिन्छ ।

हाम्रा गाउँठाउँका सुन्दर घर, स्थानीय परिकार, सीप र संस्कृति गरीबीका परिचायक होइनन् । गरीबी र संस्कृति फरक कुरा हुन् । पक्की घर बनाउने प्रविधि प्रयोग गर्दा पनि निर्माण शैलीमा स्थानीयपन र सांस्कृतिक विविधता झल्काउने गरी बनाउने प्रयास गर्न सकिन्छ । प्रविधि, निर्माण सामग्री र संस्कृतिको सुन्दर संयोजन नै बलियो र जीवन्त निर्माणका आधारशिला हुन् । आर्थिक हैसियतले धान्न सक्ने, प्रकोपसँग जुध्न सक्ने र स्थानीयको सीप नमासिने गरी बलिया घर बनाउनेतर्फ सबैको ध्यान पुग्न जरूरी छ ।

बर्खायाम पनि अब धेरै टाढा छैन, यसैले प्रकोप पीडितका लागि घर बनाउँदा हावाहुरीको विपत् झ्ेल्न सक्षम मात्र बनाएर पुग्दैन । डुबान, आगलागी, शीतलहर, भूकम्प जस्ता विपत् झेल्न सक्ने गरी घरबस्ती निर्माणका लागि तीन तहकै सरकारले पीडितलाई सघाउनुपर्छ । प्रकोप प्रभावित क्षेत्रमा विकास भएको ज्ञान विस्तारै अन्य बस्तीमा पनि फैलिंदै गए हामी प्रकोपको सामना गर्न सक्ने हुन्छौं ।

हावाहुरी प्रभावित क्षेत्रमा अहिले राहत वितरणसँगै पुनस्र्थापनाका लागि अस्थायी आवास बनिरहेका छन् । हावाहुरीले आगलागीको प्रकोप पनि ल्याउने हुँदा अस्थायी आवास बनाउँदा यसतर्फ ध्यान दिनुपर्छ । आगो बाल्ने ठाउँ सुरक्षित होस्, प्रज्ज्वलनशील निर्माण सामग्रीको कम प्रयोग होस् भन्नेमा सचेत बन्न समेत आवश्यक हुन्छ ।

भूकम्प प्रभावित जिल्लाहरूमा निजी आवास निर्माण कार्य चलिरहेको छ । तराई–मधेशमा भने प्राकृतिक विपत्पछि पुनर्निर्माणको काम प्रभावकारी रूपमा हुन नसकेको सन्दर्भ यहाँ विचारणीय छ । २०७४ साउन अन्तिम साताको बाढी, पहिरो र डुबानबाट करीब १ लाख ९० हजार घर आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

१३४ जनाले ज्यान गुमाएका थिए भने प्रत्यक्ष/अप्रत्यक्ष रूपमा १७ लाख मानिस प्रभावित भएका थिए । तर, पुनर्निर्माण कार्य कता पुग्यो, कस्ता घर बने, कुनै प्रतिवेदन र समाचार पढ्न पाइएको छैन । बारा–पर्सा विपत्पछिको घरबस्ती निर्माणमा त्यस्तो परिस्थिति ननिम्तियोस् भनेर अग्रसर हुने सबैको जय होस् !

पढ्नुहाेस्:

विनाशबाट जोगिन विकास बुझ

त्यो निमेषभरको कहर

प्रतिकृया दिनुहोस