बैंगलोरविरुद्ध दिल्लीको जीत, सन्दीपको ५०औं विकेट
सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्स्ले रोयल च्यालेञ्जर्स बैंगलोर (आरसीबी)विरुद्धको आजको खेल चार विकेटले जितेको छ ।
दिल्लीको छैटौं र व्यक्तिगत चौथो खेलमा मौका पाएका सन्दीपले आज पनि एक विकेट लिए । उनले १४.३ ओभरमा मोइन अलीलाई विकेट किपरबाट स्टम्पिङ गराएका थिए ।
यो विकेटसँगै टी ट्वेन्टीमा सन्दीपले ५०औं विकेट लिएका छन् ।
तर, समग्रमा भने सन्दीप खर्चिला बलर सावित भए । उनले चार ओभरमा ४६ रन दिए । आरसीबीका कप्तान विराट कोहलीले सन्दीपको बलमा लगातार दुई छक्का प्रहार गरेका थिए ।
टस जितेर फिल्डिङ रोजेको दिल्लीले आरसीबीलाई १४९ मा रोकेको थियो । आरसीबीले ८ विकेटको नोक्सानीमा औसत स्कोर बनाउँदा कप्तान बिराट कोहलीले सर्वाधिक ४१ रन बनाए ।
दिल्लीका लागि कगिसो राबडाले ४ विकेट लिए । क्रिस मोरिसले दुई, अक्षर पटेल र सन्दीपले एक, एक विकेट लिए ।
१५० को जवाफी ब्याटिङमा ओर्लिएको दिल्लीले १८.५ ओभरमै लक्ष्य पूरा गर्यो । दिल्लीका लागि कप्तान श्रेयश ऐय्यरले ६७ रन बनाए ।
आरसीबीका नवदीप सैनीले दुई विकेट लिए ।
आरसीबीको यो छैटौं हार हो ।
६ खेलमा तीन जीतसँगै दिल्ली अंकतालिकाको पाचौं स्थानमा उक्लिएको छ ।