रिपोर्टआइतबार, २४ चैत्र , २०७५

त्यो निमेषभरको कहर

बारा चक्रवातको स्थलगत रिपोर्ट

किरण नेपाल

प्राकृतिक विपत्ति अब बाढी, पहिरो, चट्याङ जस्ता कहरमा मात्र सीमित नरहने सन्देश दिएको बारा चक्रवातले विपत्‌पछिको तयारीबारे घोत्लिन झनै बाध्य तुल्याएको छ।

ग्राउण्ड जिरो बारा चक्रवातमा परी सर्वाधिक मानवीय क्षति (१२ जनाको मृत्यु) व्यहोरेको फेटा–६, पुरैनिया । तस्वीरः कृष्ण पौडेल
परिवारका चार सदस्य गुमाएका इजहार अन्सारीको घर भएको ठाउँ (रातो घेरामा माथि) र तल्लो रातो घेरामा फैजुल मिया हकको क्षतिग्रस्त घर, जहाँ उनकी श्रीमती र बुहारीको मृत्यु भयो ।

१७ चैत, आइतबार साँझ ७ः४५ बजे आसपास । बाराको जितपुरमा प्रत्येक सोमबार लाग्ने पशुहाटमा साहु फिरंगी मिया अन्सारीका दुई वटा भैंसी बेचिदिन हिंडेका फैजुल मिया हक ठकुराईका लागि हावाहुरी र मेघ गर्जन सहितको असिना–वर्षा बाधक बनिदियो ।

जितपुर पुग्नुअघि हरपुरमा ओत लाग्न पुगेका फैजुलले भैंसीलाई घाँस दिए, आफूचाहिं श्रीमती मुस्तकिमा खातुनले पोको पारिदिएको भुजा, नून, खुर्सानी सिध्याएर त्यतै रात बिताउने सुरसार गर्न थाले । चैत मासको यो रूप उनका लागि नौलो थिएन ।

उता, केही किलोमिटर पर पर्साको आकाशमा बनेको चक्रवात जगरनाथपुरबाट शुरू भएर फैजुलको घर फेटा गाउँपालिका–६, पुरैनियातर्फ तीव्र गतिमा बढ्दै थियो । करीब ९ बजेतिर उनको नाम लिंदै खोज्न आएका हरपुरका स्थानीयबाट फैजुलले थाहा पाए, उनको घर मात्र नभई श्रीमती मुस्तकिमा र बुहारी बिबियालाई समेत चक्रवातले निलिसकेको थियो ।

१९ चैतमा हिमाल सँग भेट्दा भोलिपल्ट मलेशियाबाट आउँदै गरेका छोरा रइस आलमलाई पर्खिबसेका फैजुलले भने “एकै निमेषमा हामी बाबुछोरा आधा–आधा भयौं ।”

फैजुलकै छिमेकी हुन्, इजहार मिया अन्सारी (६०) । श्रीमती, छोरा, बुहारी र दुई नातिनी (छोरीपट्टिका) सहित दुई वर्षअघि छाप्रोबाट ‘पक्की घर’ मा सरेका इजहार गाउँमा सम्पन्न मानिन्छन् । छोरा हैदर अन्सारी (३५) ले कतारमा सिलाइको कामबाट कमाएको रकमले घर–खेत जोडेका इजहारको सम्पन्नता नै उनको विपत्तिको कारक बनिदियो ।

श्रीमती मीमा खातुन (५५), बुहारी सकिमा खातुन (२९) र नातिनीहरू समसीदा (११) र रुख्सार (९) को चक्रवात सामना गर्न नसकेको त्यही ‘पक्की घर’ भित्रै इन्तकाल हुनपुग्यो । एकै निमेषमा परिवारका चार जना सदस्य गुमाएका इजहार जनाजामा सामेल हुन र मट्टी समेत दिन पाएनन् ।

परिवारका अन्य सदस्यसँगै घरमै रहेका छोरा हैदर अन्सारी (३५) घाइते छन् । “आमा, श्रीमती, भान्जीहरू र म घरमै थियौं । अचानक हावाहुरी आउन थालेपछि कोही सामान समेट्न थाल्यौंं, कोही झयाल बन्द गर्दै थियौं” हैदर भन्छन्, “भाग्ने समय पनि मिलेन, अचानक ५/७ सेकेन्डमै सबै खत्तम भयो । मलाई भत्किएको भित्तोले थिचेको थियो, बल्लतल्ल बाहिर निस्कन सकें ।”

एक मिनेटको कहर
बारा भन्दा सयाैं किलोमिटर टाढा पोखरा आसपासको आकाशमा विकसित भएको हुरीभित्रै सिर्जित चक्रवातले निम्त्याएको विपत्तिबाट पीडित सयौंमध्येका हुन्, फैजुल र इजहार । जल तथा मौसम विज्ञान विभागको अनुमानमा पोखराबाट दक्षिणपूर्व हान्निएको हुरी चितवनको आकाशमा पुगेर तीव्र वेगमा पर्सातर्फ सोझियाे ।

चक्रवातमा परेको घर भत्कँदा श्रीमती र बुहारी गुमाएका बाराको फेटा गाउँपालिका–६ पुरैनियाका फैजुल मिया हक । तस्वीरहरुः किरण नेपाल

जगरनाथपुरको जमीनमा ठोक्किएर ९० किलोमिटर प्रतिघण्टा वेगको चक्रवातमा परिणत भएको यो हुण्डरीले एक मिनेटभित्रै ७ बालबालिका, १५ महिला र १२ पुरुषको ज्यान लियो । करीब ७०० घाइते भए ।

पर्साको जगरनाथपुरदेखि बाराको पचरौता नगरपालिकाको बैरियासम्म विध्वंश मच्चाएको बवण्डरले कलैया उपमहानगरपालिका, महागढीमाई र पचरौता नगरपालिका सहित परवानीपुर, फेटा, सुवर्ण, प्रसौनी र देवताल गाउँपालिकाका धेरै बस्ती तहसनहस पार्‍यो । (हे.चक्रवातको रुट) बारा र पर्सा जिल्ला प्रशासन कार्यालयका अनुसार बारामा एक हजार ८९५ र पर्सामा ३०९ वटा संरचनामा यो कहरले क्षति पुर्‍याएको छ । (हे.इन्फो) बालीनाली र पशुमालमा पुगेको क्षतिको आँकडा अझै तयार भइसकेको छैन ।

करीब १०० मिटर चौडाइ सहित ३० किलोमिटर अनुमानित यात्रा गरेको यो चक्रवातले आफ्नो भुमरीभित्र पारेका घर, ईंटाभट्टादेखि विद्युत् पोल, बाँसका झ्याङ, ठूला रूखलाई समेत उखेल्दै अघि बढ्यो । जगरनाथपुरबाट पूर्व लागेको चक्रवातले बाराको परवानीपुर गाउँपालिका–४ को चैनपुर, शिवपुर रामटोल र विर्ताटोलका ५४८ घरमा क्षति पुर्‍यायो भने एक जनाको ज्यान लियो ।

त्यसपछि प्रसौनी गाउँपालिका–४ को खुट्वा र वीरगञ्ज–कलैया सडकमा पर्ने भलुवी चोक हुँदै सडकै सडक दक्षिणतर्फ हान्निएर फेटा गाउँपालिका–१ को भरवलिया र वडा नम्बर ६ पुरैनियाको मुख्य बस्ती ध्वस्त बनाउँदै वडा नम्बर ७ भएर अझैं दक्षिण पूर्व लाग्यो । यो विपत्तिमा ज्यान गुमाएका २८ जनामध्ये फेटाका तीन वटा वडाका मात्रै १८ जना छन् ।

फेटापछि कलैया उपमहानगरपालिकामा प्रवेश गरेको चक्रवातमा वडा नम्बर १२ र १८ का पाँच जनाको ज्यान गएको छ । क्रमशः पूर्व–दक्षिण हान्निने क्रममा देवताल गाउँपालिका–७ को रामपुर्वा र महागढीमाई–७ को तेलगाई पुगेको चक्रवातले सुवर्ण गाउँपालिका–१ को बगही र चरमोहना, वडा नम्बर ४ को हर्दिया, वडा नम्बर ५ को औरहिया र वडा नम्बर ८ को परशुरामपुरमा ठूलो क्षति पुर्‍याएको छ । त्यसपछि पनि दक्षिणपूर्वकै बाटो रोजेको चक्रवातको अन्तिम कहर पचरौताको वडा नम्बर ७ को बेनौली र वडा नम्बर २ को बैरियाले भोग्नु पर्‍यो ।

हिमाल ले भेटेका अधिकांश पीडितहरूको भनाइमा एकदेखि सवा मिनेट बीचको यो विपत्ति उनीहरूको जीवनमै पहिलो अनुभव थियो । भरवलियाका पूर्व प्राथमिक शिक्षक साहेबप्रसाद कुर्मी (६३) भन्छन्, “मेघ गर्जन, असिना र भारी वर्षाका बीच भयानक अवाज सहित आएको भुमरी प्रलय झैं थियो ।”

सक्रिय उद्धार, असरल्ल राहत
कामविशेषले बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेश पौडेल र प्रहरी उपरीक्षक एसपी सानुराम भट्टराई हावाहुरीका बेला जितपुरमा थिए । त्यसैबीच सदरमुकाम फर्कंदै गर्दा जिल्लाको केही स्थानमा जनधनको क्षति पुगेको थाहा पाएका उनीहरूले जिल्ला अस्पताल पुगेपछि मात्र विपत्तिको आयतन अनुमान गर्न सके । “हावाहुरीले सधैं सताउने नै हो, तर यो हदसम्मको विनाश चाहिं अस्पताल पुगेपछि मात्र थाहा भयो”, प्रजिअ पौडेल भन्छन् । उनका भनाइमा कलैया आउँदै गर्दा सम्बन्धित स्थानका प्रहरी युनिटहरूलाई परिचालन गरिसकिएको थियो ।

हावाहुरी लगत्तै विद्युत् आपूर्ति बन्द भएकाले राति नै सीमित संख्यामा घटनास्थल पुगेका प्रहरी घाइतेहरूलाई अस्पताल पुर्‍याउनमै केन्द्रित थिए । एम्बुलेन्सको कमीका कारण स्थानीय जनप्रतिनिधि र अरूका गाडी मागेर अस्पताल पुर्‍याउने काम भएको प्रजिअ पौडेल बताउँछन् । १८ चैत सखारै सेना पुगेपछि मात्र भत्किएका घरका थुप्रोबाट लाशहरू उठाउन थालियो ।

आमा, श्रीमती र दुई भाञ्जी गुमाएका फेटा–६ पुरैनियाका हैदर अन्सारी मावली दाइको वीरगञ्जस्थित डेरामा । तस्वीरः सुरेश बिडारी

वास्तवमा, राति सवा ८ बजेतिर कलैयास्थित जिल्ला अस्पतालमा धमाधम घाइतेहरू पुर्‍याउन थालिएपछि मात्र सदरमुकामले जिल्लाभित्र ठूलै वितण्डा मच्चिएको महसूस गरेको हो । राति साढे १२ बजेसम्ममा अस्पताल ल्याइएका घाइतेको संख्या १५० नाघेपछि भने अस्पताल नै अस्तव्यस्त बन्न पुग्यो ।

८ जना पारामेडिक्स र १० जना नर्सिङ स्टाफ सहित ८ चिकित्सकलाई विद्युत् आपूर्ति बन्द भएको बेला ‘क्रस इन्जुरी’ र ‘हाइपोथर्मिया’ का बिरामी सम्हाल्न हम्मेहम्मे थियो । “बिरामीको अवस्था र संख्या आत्तिने खालकै थियो” निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवनचन्द्र झा भन्छन्, “तैपनि अवस्था अनुसार प्राथमिकता निर्धारण गरी उपचार गर्ने र मेरुदण्डमा चोट लागेका १० जना बिरामीको व्यवस्थापनमा ज्यादा केन्द्रित भयौं ।”

२८ को दरबन्दी भए पनि ८ जना मात्र चिकित्सकबाट चलिरहेको कलैया अस्पताल उदाहरण हो, यसखाले विपत्तिका लागि हाम्रा स्वास्थ्य संस्थाहरू तम्तयार छैनन् भन्ने ।


परिवारका चार सदस्य गुमाएका फेटा–६ पुरैनियाका हैदर अन्सारी वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा टाउको, आँखा, ढाड, हात, घुँडा र खुट्टाको उपचारपछि यतिखेर अस्पताल नजिकै मावली दाइको कोठामा आराम गरिरहेका छन् ।

डाक्टरले उनको ढाड भाँचिएकाले आराम गरेरै ठीक बनाउनुपर्छ भनेका छन् । परिवारका सदस्य गुमाएपछि सम्हालिन नसकेका बाबु इजहार र छोरा साहेब गाउँमै रहेको थाहा पाएका हैदर घरमा राहत, क्षतिपूर्ति केही पुगे/नपुगेको बारे जानकार छैनन् । सरकारसँग के आशा छ भनेर सोध्दा भक्कानिंदै भने, “सबै सकियोे, सरकारले घर बनाइदेओस्, छोरालाई पढ्ने व्यवस्था मिलाइदेओस् ।”

पति हरिनारायण दासलाई गुमाएकी फेटा–१ की कलावती देवी, क्षतिग्रस्त घर अगाडि ।

कुनै पनि विपत्तिले पारेको प्रभावलाई राज्यले उद्धार, राहत, पुनर्निर्माण र पुनस्र्थापना गरी चार चरण मार्फत व्यवस्थित गर्छ । २०७२ वैशाखको भूकम्पमा पनि यही प्रक्रिया अवलम्बन गरिएको थियो– यद्यपि, त्यो प्रक्रियामै धेरै त्रुटि भए ।

विपत्तिसँग जुध्नकै लागि केन्द्र, प्रदेश र स्थानीय तहमा विपत् व्यवस्थापन समिति गठन गरिएका छन् । विपत्को आकार अनुसार तहगत रूपमा यी समिति परिचालन पनि हुन्छन् । बारा चक्रवात लगत्तै यी समिति क्रियाशील भए पनि तत्कालको राहतमा भूकम्पकालीन कमजोरी यसपटक पनि दोहोरियो ।

१८ चैत बिहान आसपासका गाउँदेखि वरपरका जिल्लाबाट आएका राहत सामग्रीको समुचित वितरण हुन सकेन । सडकछेउका पीडितहरूमा सीमित कतिपय राहत सामग्री त चक्रवातको कुनै असर नपरेकाहरूबाट लुटियो पनि । १९ चैतमा हिमाल संवाददाता फेटा गाउँपालिकाको भलुही, भलवरिया र पुरैनिया पुग्दा राहत सामग्रीको वितरण प्रक्रिया भद्रगोल थियो ।

विपत्ति पीडित क्षेत्रमा पनि दलीय भोटब्याङ्कको राजनीति हावी हुँदा पहुँचवालाले त्रिपाल लगायतका सामग्री पाउन थालिसकेका थिए भने पीडितहरूको ठूलो संख्या चाउचाउ, चिउरा र मिठ्ठामा सीमित थिए । बारा–३ बाट प्रतिनिधिसभा सदस्य रामबाबु यादव भन्छन्, “राहत वितरणमा समस्या रहेको साँचो हो, दाताको असीमित उदारता र पीडितको आवश्यकताबीच तालमेल मिलाउन निकै गाह्रो भइरहेको छ ।” यद्यपि, ढिलै भए पनि जिल्ला प्रशासन कार्यालय बाराले २२ चैतदेखि राहत वितरणमा एकद्वार प्रणाली अपनाउने निर्णय गरेको छ ।

१९ चैतमा फेटा–१ भरवलियामा सामूहिक भोजन गराइँदै ।

नजिकिंदै गरेको वर्षात्‌काे मौसम चक्रवात पीडितका लागि ठूलो चिन्ता बनेकोे छ । थुप्रै पीडितहरूको एउटै चिन्ता छ– घर कसरी बनाउने ? २१ चैतमा बसेको संघीय मन्त्रिपरिषद्को बैठकले गरेको वर्षा शुरू हुनुअघि नै आवास निर्माण गर्न सेनालाई जिम्मा दिने निर्णयले आशा जगाए पनि यस्तो कार्यका लागि नागरिक संयन्त्र अप्रभावकारी रहेको पुष्टि स्वयं सरकारकै निर्णयबाट भएको छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको पुनर्निर्माण प्राधिकरणलाई बारा चक्रवात पीडितका लागि पनि आवास निर्माणको जिम्मा दिन किन नसकिएको हो भन्ने प्रश्न सिंहदरबारले प्रष्ट्याउन सकेको छैन ।

‘पक्का मकान’ बाट क्षति
श्रीमती, बुहारी र दुई नातिनी गुमाएका फेटा–६ पुरैनियाका इजहार अन्सारी अझै पनि परिवारका सबै सदस्य जीवितै रहेको भन्दै भौंतारिरहेका छन् । एकोहोरो बर्बराइरहेका घाइते हजुरबुबा इजहारलाई सम्हाल्न प्रयास गरिरहेका नाति साहेब अन्सारी (१३) यतिखेर आफूलाई बेसहारा महसूस गरिरहेका छन् । स्थानीय मदरसामा कक्षा–४ मा पढ्ने उनी संयोगवश हावाहुरी चल्दा कलैयास्थित फुपूको घरमा थिए ।

अहिले हजुरबुबालाई सम्हाल्न खोज्दै भग्नावशेषमा परिणत घर कुरेर बसेका उनले हिमाल सँग भोजपुरीमा गरेको संवादको आशय थियो, “फुपूलाई फोन आएपछि राति नै हामी घर गयौं । घर त थिएन, भत्किएको ठाउँ खोस्रिएर हेर्दा आमा भेटिइन्, त्यसपछि हजुरआमा, अझ् खोतल्दै जाँदा दुई जना बहिनीहरू भेटिए, म रोइरहें ।”

फेटा–६ पुरैनियामा चक्रवातले उखेलेको रुख ।

महानगरपालिकादेखि गाउँपालिकासम्मका ९ वटा स्थानीय तहका १८ वटा वडाका २० वटा बस्तीमा विध्वंश मच्चाएको चक्रवातको प्रभाव तुलनात्मक रूपमा सानै भूगोलमा सीमित भए पनि यसले पुर्‍याएको क्षति भयावह छ । किन ? यसको जवाफ जान्नका लागि सामाजिक सोच र रेमिटेन्स अर्थतन्त्रको प्रभाव बुझ्नुपर्ने हुन्छ ।

कृषिमा निर्भर मधेशको ठूलो जनसंख्याको मुख्य बस्तीको पहिचान भनेकै फुस र खपडाको घर हो । पहाडमा ढुंगाको गारो सामान्य भए झैं मधेशका अधिकांश ग्रामीण घरको स्वरुप काठको खाँबोमा बाँसको टाटीको बेरा र खर÷खपडाको छाना सहितको हो । खपडा वा खर तथा भुईंतले वा दुईतले भन्ने आर्थिक हैसियतको प्रतिबिम्ब पनि हो ।

‘पक्का मकान’ चाहिं परम्परागत घरको तुलनामा निकै हैसियतपूर्ण । ‘कोठा’ पनि भनिने पक्का मकानप्रतिको स्वाभाविक मोहलाई वास्तविकतामा परिणत गरिदिएको छ– रेमिटेन्सले । र, त्यही रेमिटेन्स आप्रवाहको एउटा उल्लेख्य हिस्सा दूरदेहातमा समेत यस्ता घर निर्माणमा खर्च भएको छ । तर, पक्की भनिए पनि यी घर बलियो गरी बनाइएको छैन, सुरक्षालाई बेवास्ता गरिएको छ ।

चारैतिर माटोले जोड्दै उठाइएको ईंटाको गारोलाई खपडाको छानोले ढाकिएको छ । नक्शा पास, इन्जिनियरिङ नियमन, कुशल डकर्मी बेगर नै बनाइएका यस्तै अधिकांश घरले चक्रवातको भुमरी थेग्न सकेनन् र गल्र्यामगुर्लुम भए– भित्र बसेकालाई पुर्दै ।

फैजुल र इजहार– फेटा, पुरैनियाका यी दुवै छिमेकीले आ–आफ्ना परिवारका सदस्य तिनै घरमा गुमाए, जसको निर्माणमा उनीहरूले विदेशमा श्रमको साहस देखाएका थिए ।

साउदी अरबमा तीन वर्ष काम गरेर आएपछि झण्डै चार लाख रुपैयाँ खर्चेर ८ महीनाअघि बनाएको घरमै फैजुलले श्रीमती र बुहारी गुमाए । त्यस्तै कथा छिमेकी इजहारको पनि छ । पेशाले दर्जी इजहारका छोरा हैदरले कतारमा पुगेर कमाएको रकमबाटै दुई वर्षअघि बनाएको घरमा परिवारका चार सदस्यको इन्तकाल हुनपुग्यो ।

यतिखेर मधेशका दूरदेहातभित्र पनि पक्का मकानको आसक्तिमा माटोको जोडाइबाट नौ इञ्च मोटो ईंटाको गारो ठड्याएर त्यसमाथि खपडाको छानो हाल्ने प्रवृत्ति निकै फस्टाएको छ ।

चक्रवातमा परी मृत्यु भएका २८ मध्ये आधाभन्दा धेरैको मृत्यु यस्तै खाले असुरक्षित आवासबाट थिचिएर, पुरिएर भएबाट पनि ‘पक्का मकान’ हरू कति असुरक्षित छन्, बुझ्न सकिन्छ । समयमै यस्ता घर निर्माण नरोकिने र बनिसकेकालाई बलियो नबनाउने हो फेरि निम्तिने विपत्ति झ्नै भयावह हुनसक्छ ।

उद्धारमा खटिएको नेपाली सेना ।

‘असम्भव थिएन पूर्वानुमान’
बाढी, पहिरो, चट्याङ जस्ता मौसम सिर्जित प्रकोप हाम्रा लागि नौलो होइन । तर यसपटक बाराको घटनाले देखाएको छ– टोर्नाडो वा ह्र्वीलविण्ड भनिने चक्रवात पनि नेपालका लागि मौसम सिर्जित नयाँ विपत्ति बन्न पुगेको छ ।

बारा र पर्सामा चक्रवातको ‘रुट’ मा परेका घर मात्र नभई निकै बलियो मानिने बाँसका झ्याङदेखि सिसौ, पीपलका रूखहरू पनि जरैदेखि उखेलिएका छन् । उखेलिन नसकेका रूखहरू काण्डमै भाँचिएका छन् । बचेका देखिन्छन् त ताडका रूख र भाँती पुर्‍याएर बनाइएका ढलान घरहरू ।

यत्रो विध्वंश मच्चाउने हुरी र त्यसभित्र सिर्जित चक्रवातको पूर्वानुमान किन हुन सकेन ? जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जु वैद्यको भनाइमा “खासमा यति छिटो विकसित हुने मौसमको पूर्वानुमान (नाउ कास्टिङ) गर्न सक्ने सामर्थ्य विभागसँग छैन ।” हालसम्म नेपालमा ‘फर कास्टिङ’ विधि मात्र प्रचलनमा छ ।

तर, त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र विभागले बारा र पर्सामा विनाश लीला मच्चाएकोे जस्तो हुण्डरीकोे न्यूमेरिकल वेदर प्रिडिक्सन विधिबाट पूर्वानुमान गर्न सकिने दाबी गरेको छ ।

विभागको प्रयोगशाला प्रमुख प्रा.डा. रामप्रसाद रेग्मीका अनुसार १७ चैतमा दिन ढल्किंदै गर्दा पोखराको उत्तरी क्षेत्र (माछापुच्छ्रेकाे फेद) मा चिसो हावा जम्मा भयो जुन समुद्र सतहदेखि करीब ४ हजार मिटरको उँचाइमा जमीन भन्दा केही माथि मात्र थियो ।

जमीनबाट ४ देखि १० किलोमिटरमाथि माइनस ४ देखि माइनस १३ डिग्रीसम्म चिसो भएर आर्द्रता असिना बन्न पुग्यो । सँगै ४ देखि ६ किलोमिटरको उँचाइमा भर्टिकल क्लाउड टावर विकसित भयो । रेग्मीका अनुसार त्यहाँ जम्मा भएको चिसो हावा र आर्द्रताको उक्त टावर गुरुत्वाकर्षणको कारण होचो भागमा सर्दै जाँदा वेगसाथ चितवन हुँदै साढे तीन घण्टापछि साँझ ७ः४५ मा बारा र पर्सामा ‘ब्रस्ट’ भएको थियो ।

मौसममा हुँदै गरेको यस्तो विकासको प्रक्रिया ‘न्यूमेरिकल’ विधिबाट करीब दुई दिन अगाडि नै थाहा पाउन सकिने प्रा.डा. रेग्मी बताउँछन् । उनी भन्छन्, “हामीले गरेकोे अनुसन्धान अनुसार त्यहाँ ६९ किलोमिटर प्रतिघण्टाको वेगमा वेदर ब्रष्ट भएको थियो ।” जल तथा मौसम विज्ञान विभागका महानिर्देशक वैद्यको अनुमानमा भने हुण्डरीको वेग ९० किलोमिटर प्रतिघण्टा थियो ।

त्रिविको भौतिकशास्त्र विभागको प्रयोगशालाले बारा र पर्सामा भएको उक्त घटनाको अनुसन्धान विद्यावारिधि अध्ययनरत छात्रछात्राको प्रयोगात्मक अध्ययनका लागि मात्र गरेको थियो । विभागले विद्यार्थीहरूको अनुसन्धान प्रयोजनको लागि अहिले काठमाडौंलाई केन्द्रविन्दु मानेर न्यूमेरिकल वेदर प्रिडिक्सन विधिबाट ९० किलोमिटर वर्गाकार क्षेत्रको ७२ घण्टासम्मको मौसम पूर्वानुमान गरिरहेको जनाएको छ ।

त्रिविको उक्त प्रयोगशालाको कम्प्युटरमा तीन दिनअघि नै उक्त क्षेत्रभित्रको मौसममा आउन सक्ने परिवर्तनको संकेत सञ्चित भइरहेको प्रा.डा. रेग्मी बताउँछन् ।

कतिपय विकसित मुलुकमा यो खालको पूर्वानुमान विधि प्रयोगमा ल्याइएको भए पनि नेपालमा यसलाई आधिकारिक रूपमा प्रयोगमा ल्याइएको छैन । २०७२ सालमा जल तथा मौसम विज्ञान विभाग र त्रिवि भौतिकशास्त्र विभागबीच मौसम अध्ययनको यो विधिमा सहकार्यका लागि सम्झाैता भए पनि काम अघि बढेको छैन ।

प्राथमिकतामा नपरेको मौसम विज्ञान
५० वर्षअघि स्थापना भएको जल तथा मौसम विज्ञान विभागमा अहिले पनि अनुसन्धान र विकास इकाई छैन । आधा शताब्दी पुरानो प्रविधिको भरमा चलिरहेको विभागमा जनशक्ति पनि पर्याप्त छैन । मौसम विज्ञानलाई बुझ्ने मामिलामा दक्षिणएशियामा नेपाल र भूटान पुछारमा रहेको बताउँछन् विभागका महानिर्देशक सर्जुकुमार वैद्य ।

करीब एक दशकयता जलवायु परिवर्तनबारे विश्वमा बढ्दो बहस र चेतनाका कारण मौसम विज्ञानप्रतिको चासो बढिरहेको भए पनि विभागमा प्राविधिक जनशक्तिको अभाव उत्तिकै छ ।

शीघ्र विकसित भइरहेको मौसमको तत्काल पूर्वानुमान गर्न ‘नाउ कास्टिङ’ विधि जरुरी हुन्छ । महानिर्देशक वैद्यका अनुसार यस्तो विधि प्रयोगमा ल्याउन ४०० देखि ६०० किलोमिटर ब्यास क्षेत्रभित्र आकस्मिक रुपमा विकसित हुने मौसमको विश्लेषणका लागि चाहिने ‘वेदर रेडार’ भर्खर सुर्खेतमा जडान हुँदैछ, जुन आउँदो डिसेम्बरदेखि औपचारिक प्रयोगमा आउने अनुमान गरिएको छ ।

पाल्पा र उदयपुरमा पनि एक एक वटा यस्ता ‘रेडार’ जडान गर्न अर्थ मन्त्रालयले बजेट स्वीकृत गरिसकेको तर नेपाली भू–बनोट अनुकूलको एउटा रेडार जडान गर्न कम्तीमा दुई वर्ष लाग्ने उनी बताउँछन् । भन्छन्, “तीन वटा रेडारले नेपालको पूर्वदेखि पश्चिमसम्मको मौसमी पूर्वानुमान गर्न सकिन्छ तर, काठमाडौं, पोखरा उपत्यका र अन्य ठाउँका खोंच तथा गल्छीहरूका लागि अलग्गै साना रेडार जडान गर्नुपर्छ ।”

तीनवटा रेडार जडान भइसक्दा मौैसम विज्ञ र मौसम सम्बन्धी तथ्यहरूको विश्लेषणका लागि कम्तीमा २५ जना प्राविधिक चाहिन्छ । तर, विभागसँग यस्तो दक्षता भएका प्राविधिक एक जना मात्र छन् । मौसम विज्ञान सरकारको प्राथमिकतामा नपर्दा समस्या आएको वैद्य बताउँछन् ।

वैद्यका भनाइमा मौसमी परिवर्तनसँगै आकाशमा हावाको रुप एक्कासी बदलिंदा सृजना हुने चक्रवातबारे ठ्याक्कै पूर्वानुमान गर्न सकिने प्रविधि भने हालसम्म विकसित भइसकेको छैन । त्यही कारण, यस्ता विपत्तिका बेला आश्रय लिनकै लागि विकसित मुलुकहरूमा आवासगृहको भूमिगत तला बलियो गरी बनाइएको हुन्छ ।

- बाराबाट फर्केर

साथमा सुरेश विडारी, वीरगञ्ज र गोपाल गड्तौला, काठमाडौं

प्रतिकृया दिनुहोस