गढीमाईमा बलिप्रथा रोक्नु पर्छः योगगुरु रामदेव
भारतीय योगगुरु रामदेवले बाराको गढीमाईमा दिइने सामूहिक बलिको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
वीरगञ्जमा सञ्चालित पाँच दिने योग विज्ञान शिविरको अन्तिम दिन सहभागीहरुलाई योग प्रशिक्षण दिँदै गर्दा रामदेवले गढीमाईमा हुने पशुबली अन्त्य गर्न आग्रह गरेका हुन् ।
“मानिसलाई जस्तै अन्य जीवजन्तुलाई पनि पृथ्वीमा बाँच्ने हक छ,” योगगुरुले भने, “विगतमा जे भयो त्यो गलत भयो, अब त्यसो हुनु हुँदैन्, गढीमाई मन्दिरमा हुने पशुबली रोकिनुपर्छ ।”
उनले त्यसका लागि आफू आएर धर्नामा बस्नै परे पनि तयार रहेको बताए ।
अन्तिम दिन रामदेवले योगका माध्यमबाट स्वास्थ्यमा सुधार ल्याउन सफल भएका केही नेपाली तथा भारतीयहरुलाई उदाहरणको रुपमा प्रस्तुत गरेका थिए ।
उनले योगको माध्यमबाट अलौकिक र अविश्वसनीय परिवर्तनहरु आउने दावी गर्नुको साथै नेपालका प्रत्येक जिल्लामा पतञ्जलीको शाखा खोल्ने बताए ।
सुरेश बिडारी, वीरगञ्ज