नवलपरासीका पहाडी भेगमा सवारीसाधन सञ्चालनमा रोक
अत्यधिक दुर्घटना हुने गरेको भन्दै प्रहरीले नलवलपरासीको पहाडी क्षेत्रका कच्ची सडकमा सवारी साधन चलाउन रोक लगाएको छ ।
शनिवार, ११ मंसीर राति बुलिङटार— ८ बतासामा जीप दुर्घटना परी सात जनाको ज्यान गएपछि त्यसक्षेत्रका कच्ची सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलसँगको समन्वयमा सवारी रुट परमिट नभएको भन्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाका उत्तरी भेगमा चल्ने सवारीमा रोक लगाइएको उनले बताए ।
यातायात ब्यवस्था कार्यालयले रुट परमिट दिएका सडकहरुमा हामीले सवारी रोक्दैनौं डिएसपी थापाले भने, “अनुमति नै नभएको सडकमा सवारी साधन चलाउन पाइँदैन ।”
दुम्किबास— धुर्कोट, अरुणखोला—पाल्पा–मित्याल, डण्डा—रुम्सी, कावासोती—बालुवाडाँडा, दलदले—बुलिङटार, गैडाकोट—कोटथर सडकमा रुट अनुमती पत्र नभएको भन्दै सवारी साधन चलाउन रोकिएको हो ।
‘दुर्घटनाको कारण देखाएर रोक्न पाइँदैन’
दलदले—बुलिङटार सडक खण्डमा १८ बर्षदेखि सवारी साधन सञ्चालन गर्दै आएपनि यस पटक दुर्घटनाको कारण देखाउदै सवारी चल्न नदिनु दुखद भएको रुचाङ्ग गाविसका सचिव हुमनाथ पाण्डेले बताए ।
दुर्घटनाकै कारण देखाएर रोक्ने हो भने पूर्व पश्चिम राजमार्गमा समेत सवारी दिनहुँ दुर्घटना हुने गरेको बताउँदै उनले नियमनकारी निकायले काम गर्दा सर्वसाधरणमा यातायात सेवाको पहुँचको पनि ख्याल गर्नुपर्ने बताए ।
वर्षाका दुई महिना बाहेक यी पहाडी भेगमा झण्डै दुई सय सवारी साधनहरु दैनिक सञ्चालन हुने गरेका थिए ।
सवारी साधन नचलेपछि ढुवानीमा समस्या देखिन थालेको छ भने । मानिसहरुले सवारी साधनको अभावमा अव राजमार्गमा निस्कन दिनभर हिड्नु पर्ने अवस्था छ ।
पहाडी भेगमा मुख्य रुपमा सवारी छुट्ने नाका दलदलेमा प्रहरी नै तैनाथ गरी सवारी साधन चल्न रोक लगाइएको छ ।
रुट परमिटका बिषयमा छलफल भए पनि एकीन हुन बाँकी नै रहेको निमित्त प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले बताए ।
‘पोष्टमार्टम भएन’
यता शनिवार राति बुलिङटार— ८ बतासामा दुर्घटनामा परेकाहरु अहिले सम्म पोष्टमार्टम हुन सकेको छैन ।
मृतकका आफन्ताट जाहेरी दरखास्त नआएकाले पोष्टमार्टम रोकिएको प्रहरीले जनाएको छ । उनीहरु शव प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा रहेको छ ।
विद्रोही गिरी, नवलपरासी