ब्लगबिहिबार, २१ चैत्र , २०७५

चुरे सुरुङ र चन्द्रनहर निर्माता

भैरव रिसाल

इतिहासमा लुकेको पाटो झैं रहेको चुरिया सुरुङदेखि देशको पहिलो सिंचाइ नहर लगायतका संरचनाको डिजाइन सिभिल इन्जिनियर डिल्लीजंग थापाले गरेका थिए।

तस्वीरहरु: अनलाइनखबर

राणा शासकको आग्रह बमोजिम स्वीस सरकारले पठाएको अगुवा टोलीको सदस्यका रूपमा सन् १९५० मा पहिलो पटक नेपाल आएका भूगर्भविद् डा.टोनी हागनले करीब एक दशक यहाँका विभिन्न ठाउँ पैदल चहारे ।

त्यही यात्रापछि हागनले सन् १९६१ मा सचित्र पुस्तक ‘नेपालः द किङ्डम इन द हिमालय’ (नेपालीमा ‘नेपालको चिनारी’, २०५८) प्रकाशन गरी नेपाललाई विश्वमा परिचित गराए ।

उनले सो पुस्तकमा नेपालको पहिलो सुरुङ अर्थात् चुरिया पहाड मुनिको सुरुङबारे चर्चा गरेका छन् । यात्राका क्रममा सुरुङ देखेर उनी चकित परेछन् ।

यी नेपालप्रेमी भूगर्भविद्ले उक्त सुरुङलाई आठौं आश्चर्य भनेको हेटौंडाको श्री चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण व्यवस्थापन समितिद्वारा प्रकाशित पर्चामा उल्लेख छ । 

अमलेखगञ्ज–भीमफेदी सडक निर्माणको क्रममा बनाइएको चुरेको मानवनिर्मित सुरुङ हाल भग्नावशेष अवस्थामा छ । यो सुरुङ सडक नेपालका पहिलो स्नातक सिभिल इन्जिनियर डिल्लीजंग थापाले वि.सं. १९७४/७५ तिर डिजाइन गरेका हुन् ।

उक्त सडक निर्माण गर्दा चुरिया पहाड छिचोल्न चीफ इन्जिनियर थापाका सामु तीन विकल्प आएछन् । एउटा विकल्प– सडक नागबेली घुमाउँदै चुरेको शिरमा पुगेर तल झर्ने, अर्को– चुरे पहाड काट्ने र तेस्रो विकल्प सुरुङ खन्ने ।

१९७४७/५ सालताका मानव श्रम लगाएर सुरुङ खन्ने कुरा कति पेचिलो थियो होला, कल्पना गर्न सकिन्छ । सुरुङ खन्ने प्रविधि, उपकरण के, कस्ता उपलब्ध थिए होलान् ! तर, इन्जिनियर थापाले त्यही तेस्रो चुनौती रोजे ।

सुरुङ संरक्षण व्यवस्थापन समितिले उल्लेख गरे अनुसार, सुरुङ खन्ने सूचना उनले सपनामा पाएका थिए । उनको सपनामा देवी आएर भनिछन्, “सुरुङको मुखैमा रहेको मेरो स्थानमा विधिपूर्वक पूजाआजा गरेर मात्र खन्ने काम गर्नू ।” नभन्दै इन्जिनियर थापाले चुरिया माईको मूर्ति उत्खनन गरी विधिपूर्वक चुरियामाईको प्राणप्रतिष्ठा गरेर मात्र सुरुङ खन्न लगाएछन् ।

नौ फिट चौडा र १० फिट उँचाइ भएको सुरुङ ७८५ फिट लामो छ । मैले पनि २००९ सालमा बस यात्रा गर्दा उक्त सुरुङ पार गरेको थिएँ । उतिबेला अनुभूति गरेको रोमाञ्च ताजै छ ।

सिमेन्ट प्रयोग नगरी चन्द्र नहर 
डिल्लीजंग थापाले १९६८ सालमा भारतको उत्तराखण्ड राज्यमा रहेको रुड्कीस्थित तत्कालीन थोमसन कलेज अफ सिभिल इन्जिनियरिङ बाट स्नातक गरेका थिए ।

सिभिल इन्जिनियरिङ सेवाको ३५ वर्षे कार्यकाल (वि.सं. १९६८ देखि २००३ सम्म) मा उनले १२ वटा ठूला काम सम्पादन गर्न सफलता पाए । श्री ३ भीमशमशेरको समयमा पूरै र श्री ३ जुद्धशमशेरको कार्यकालमा पनि उनले काम गरे ।

देशको पहिलो सुरुङ निर्माणको ऐतिहासिक दायित्व पूरा गरेका इन्जिनियर थापाको कौशल अर्को महत्वपूर्ण काममा पनि परेको रहेछ । श्री ३ चन्द्रशमशेरको समयमा सप्तरीको फत्तेपुरमा देशको पहिलो सिंचाइ परियोजना चन्द्र नहर उनैले निर्माण गरेका थिए ।

चन्द्रशमशेरको राज्यकालको उत्तराद्र्ध वि.सं. १९८५ मा नहर निर्माण शुरू भई १९८९ मा तयार भएको थियो । प्रतिसेकेण्ड चौध घनमिटर पानी प्रवाह गर्ने क्षमताको २९ किलोमिटर लामो सो नहरबाट १० हजार ५०० हेक्टर जमीनमा सिंचाइ हुने क्षमता छ ।

त्रियुगा नदीमा बाँध बाँधेर निर्माण गरिएको नहरमा त्यसबेला एक चिम्टी पनि सिमेन्ट प्रयोग गरिएको थिएन । पाको इँटको धूलो, चुन र मास मिसाई बनाइएको बज्र प्रयोग गरी बाँध बनाइएको थियो । उक्त नहर निर्माणको सूक्ष्म इन्जिनियरिङबारे अध्ययन गर्न विदेशी प्राविधिकहरू आउने गरेका छन् ।

इन्जिनियर थापाको कार्यकुशलता यतिमा सीमित हुँदैन । हेटौंडा–काठमाडौं रोपवे, जनकपुर–जयनगर रेलवे, भारतको जयपुरको ढाँचामा सप्तरीको राजविराजमा बनाइएको टाउन प्लानिङमा पनि उनको इन्जिनियरिङ कौशल प्रयोग भएको छ ।

१९९० सालको महाभूकम्पमा भत्केका धरहरा र घण्टाघरको पुनर्निर्माण, टोखा सेनेटोरियम (टीबी अस्पताल), टोखा सडक र डिल्लीबजार चारखाल अड्डाको निर्माण पनि उनकै डिजाइनमा सम्पन्न भएका हुन् ।

डिल्लीजंग गोदार थापा क्षेत्री हुन् । ब्रिगेडियर कर्णेलको दर्जा पाएपछि उनलाई नेपालको पहिलो ग्राजुएट इन्जिनियर ब्रिगेडियर कर्णेल भन्न थालियो । उनका सन्तति गोदार थापाहरूले पुर्खाको कीर्ति रहोस् भनेर संग्रहालय निर्माणका लागि अहिले प्रदेश–३ सरकारलाई आग्रह गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस