ब्रुनाईमा समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले हानेर मारिने
ब्रुनाईमा बुधबारदेखि नयाँ इस्लामिक कानून (शरिया) लागू भएको छ ।
यो कानूनले समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले हानेर मार्न अनुमति दिएको छ । यस्तो सजाय दिन कि अभियुक्त स्वयंले यस्तो सम्बन्ध स्वीकार गर्नुपर्नेछ कि चार प्रत्यक्षदर्शीले वयान दिनुपर्नेछ ।
इस्लामिक राष्ट्र ब्रुनाईमा यसअघि पनि समलिङ्गी सम्बन्ध राखेको थाहा पाए १० वर्ष जेल सजाय तोकिएको थियो ।
बलात्कार, इस्लाम धर्मको निन्दा गर्नेलाई मृत्युदण्डको नयाँ व्यवस्था गरेको छ । चोरी चोरी गर्नेको हात काटनेदेखि अन्य अपराधमा पनि कडा कानूनी कारवाहीको व्यवस्था गरिएको छ ।
नयाँ कानूनमा भ्रुण हत्या गर्नेलाई सार्वजनिक रुपमा कुटपिट गर्न पाउने व्यवस्था छ ।
चार लाख २० हजार जनसंख्या भएको यो मुलुकमा दुई तिहाई जनता मुस्लिम छन् । यहाँ सन् १९६७ देखि सुल्तान हसनल बोल्कियाले शासन गरिरहेका छन् ।
७२ वर्षीय हसनल बेलायतकी महारानी एलिजाबेथ द्वितीयपछि विश्वमा सबैभन्दा लामोसमय शासन गर्ने व्यक्ति हुन् । उनी विश्वकै धनी व्यक्तिमा गनिन्छन् ।
दक्षिणपूर्वी एशियाली मुलुक ब्रुनाईले यस्तो कानून लागू गरेकोमा सर्वत्र आलोचना गरिएको छ ।
ब्रुनाईको यो कानूनको विरोध गर्दै हलिउड अभिनेता जर्ज क्लुनी, गायक सर एल्टन जोन, टेलिभिजन प्रस्तोता एलेन डिजेनेरेसलगायत थुप्रैले सुल्तानको लगानीमा सञ्चालित विश्वका आलिशान होटलहरु बहिस्कार गर्न आग्रह गरेका छन् ।
ब्रुनाईले सन् २०१४ मा पहिलोपटक शरिया कानून लागू गर्ने घोषणा गरेको थियो । तर, व्यवहारमा पुरानो कानून पनि मानिदैं आएको थियो । र, समलिङ्गी यौन सम्बन्धजस्ता कुरामा कानून केही खुकुलो थियो ।
बुधबारदेखि नै शरिया नै पूर्ण रुपमा कार्यान्वयनमा आउने भएको छ ।
शरिया कानून साउदी अरबलगायतका खाडी मुलुकमा प्रयोगमा छ । तर, पूर्वी वा दक्षिण पूर्वी एसियामा यस्तो कानून पूर्ण कार्यान्वयनमा ल्याउने ब्रुनाई पहिलो राष्ट्र हो ।
संयुक्तराष्ट्र सङ्घले पनि ब्रुनाईले लागू गरेको शरिया कानुनका व्यवस्थाहरु “क्रुर, अमानवीय र अपमानजनक” रहेको जनाएको छ ।
ब्रुनाइको कदमलाई अरब राष्ट्रले भने स्वागत गरेका छन् । -एजेन्सी