ओलम्पिक छनोट फूटबलमा नेपाल–म्यान्मार भिड्दै
ओलम्पिक छनोटको दोस्रो चरणको महिला फूटबलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।
म्यानमारको मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे हुने दोश्रो चरणको खेलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाललले आजको खेल जित्ने वा बराबरी हुने लक्ष्य राखेको छ । खेलअघि आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि खेल्ने बताए ।
पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो ।
पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको शुरुआतमै सावित्रा भण्डारीको गोलमार्फत अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको थियो । त्यसपछिका दुई खेलमा भने नेपाल म्यान्मारसँग पराजित भएको थियो ।
नेपाल फिफा बरियतामा १०३ स्थानमा छ भने म्यानमार ४४ स्थानमा छ । नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग यही चैत २३ गते खेल्नेछ ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग यही चैत २६ गते खेल्नेछ । म्यानमारमा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बङ्गलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।