थप समाचारबुधबार, २० चैत्र , २०७५

काठमाडौंको फोहर फाल्न अवरोध

रासस

टिपरको ठक्करबाट एक बालकको मृत्यु र एक बालक घाइते भएको विरोधमा नुवाकोट सिसडोलबासीले काठमाडौं उपत्यकाको फोहर विसर्जनमा अवरोध पुर्‍याएका छन् ।


फोहर फाल्न गएका टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु भएको थियो भने १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए ।

घटनाको विरोधमा १९ चैतदेखि स्थानीयवासीले पुर्‍याएको अवरोध आज पनि कायमै छ । उपत्यकाबाट फोहर बोकेर गएका करीब १०० बढी कन्टेनरलगायतका सवारी विरोधका कारण सडकमा नै रोकिएका छन् ।


उनीहरुले नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेमा गाडी रोकेर अबरोध गरेका छन् । दुर्घटनापछि स्थानीयले मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारवाहीको माग राखेका थिए।

तर काठमाडौं महानगरले भने ललितपुर महानगरपालिकामार्फत परिचालन भएको टिपर भएकाले समाधानका लागि सोही निकायबाट नै पहल गर्नुपर्ने बताएको थियो ।

विरोधमा उत्रिएका पीडितपक्षले काठमाडौंस्थित ग्राण्डी अस्पतालमा रहेको शव बुझ्न अस्वीकार गर्दै आएका छन् । घाइते अर्का बालक राजनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस