ब्लगबुधबार, २० चैत्र , २०७५

गोलबजारको मन दुख्ने खबर

मिलन बगाले

स्रोतसाधनले सम्पन्न भए पनि हरेक चिज असरल्ल र अलपत्र जस्तो देखिएको गोलबजारलाई सुव्यवस्थित बजार बनाउन सकिन्छ। 

पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्दा बाटोछेउ जोडिएका धेरै बस्ती आँखामा ठोक्किन आइपुग्छन् । जता पुगे पनि रिबनझैं तन्किएका घरैघरको समूह र त्यसभित्र चलिरहेका जीविकाका अनेक आयाम उस्तै देखिन्छन् । खाना खुवाउने होटलदेखि हातहातै अनेक सामान बेच्न यत्रतत्र दौडिरहेका मानिसहरू । शौचालय नभएका होटल, चाइनिज सामान बेच्ने दोकानका लस्कर, कतै हरियाली नदेखिने रुखो बस्ती ।

यस्तै एउटा आमबजार हो, सिरहाको गोलबजार । तर, राजमार्गमा तन्किएको मुख्य बजार छोडेर उत्तर र दक्षिणतिरका ग्रामीण भेग पुगेपछि भेटिन्छन् संस्कृति र प्रकृतिको सुन्दर तादात्म्य झ्ल्किने घर, बस्ती तालतलैया र विशाल घाँसे मैदानसम्म । रैथाने समुदायदेखि मधेशमा विरलै देखिने तामाङ बस्ती पनि ।

गोलबजारस्थित धमिनी माईको मन्दिर परिसरमा हरेक मंगलबार र शुक्रबार लाग्ने हाट । तस्वीरहरु : मिलन बगाले


गोलबजार नगरपालिकाको मुख्य बजार क्षेत्रमा आरसीसी ढलान घर बन्ने क्रम बढेसँगै पुराना घरहरूले अस्तित्व गुमाइसकेका छन् । तर, यी नयाँ घरहरूमा भूकम्प प्रतिरोधी निर्माण तथा राष्ट्रिय भवन संहिताको पालना भएको देखिंदैन ।

काठमाडौंको निर्माण कार्यमा अधिकांश निर्माणकर्मी मधेशका छन् । बलिया घर बनाउने अनेक तौरतरिका जानेका उनीहरूले त्यो सीप यता फैलाउन नसकेको हो कि, महँगो भनेर बेवास्ता गरिएको हो या मनभित्र भूकम्पले बास नगरेर हो भन्ने प्रश्न जन्मिन्छ ।

गोलबजार क्षेत्रको जीविकोपार्जनको मुख्य आधार नै कृषि र पशुपालन हो । अधिकांश घरका भुईंतलामा सटर–कवल छन् । तर, कृषि उपजचाहिं सटरमा भन्दा बढी हाटबजारमै बिक्छ । बजारको छेउमै छ, धमिनी माईको मन्दिर । मन्दिर परिसर र उत्तरपट्टिको खाली जग्गामा हरेक मंगलबार र शुक्रबार ठूलो हाट लाग्छ । गुदरी बजार भनिने हाटबजारमा सिंगै सेरोफेरो ओइरिन्छ, थामिनसक्नु भीड हुन्छ । तर; यति ठूलो, पुरानो र नियमित लाग्ने बजारमा ढुंगाका ढक चलिरहेको देख्दा अचम्म लाग्छ ।

हाटबजार यहाँको अर्थतन्त्रको मेरुदण्ड भए पनि व्यवस्थित छैन । यद्यपि, गोलबजारका मेयरको गर्नैपर्ने कामको सूचीमा रहेछ, गुदरी बजार व्यवस्थापन । शौचालय, पार्किङ, खानेपानी, व्यवस्थित भण्डारण सहितको गुदरी बजारको खाका कोरेका मेयर देवनाथ साहको क्रियाशीलता हेर्दा गुदरी बजार व्यवस्थापनको काम असम्भव लाग्दैन ।

बुढ्यौली र शारीरिक अपाङ्गता उनका लागि अवरोध बनेको छैन । देवनाथ ‘काका’ स्थानीयका समस्या समाधान गर्न थलोमै पुग्छन् र समाधान निकालेर फर्कन्छन् । जनप्रतिनिधिप्रतिको भरोसा र जनताप्रति उत्तरदायित्व निर्वाहको उदाहरण हुन् उनी ।

लामाडाँडाको घाँसे मैदान, जहाँ एअरपोर्टको सम्भाव्यता अध्ययन समेत भएको थियो ।


गुचुमुच्च परेका भित्री भागका बस्तीमा नयाँ बाटाहरू खुल्दै र विस्तार हुँदैछन्, यी बाटाहरूसँगै बस्ती फैलने क्रम पनि जारी छ । भित्री बस्तीमा फुसको छाना र बाँसको टाटीमा माटो लिपेर बनेका पुराना घरहरू अझै प्रशस्तै छन् । जाडोमा न्यानो र गर्मीमा शीतल हुने गरी बनाइएका परम्परागत घरका भित्ता विभिन्न आकृति र बुट्टाले सिंगारिएका छन् । बस्तीपिच्छे विभिन्न देवीदेवताका मन्दिर र पोखरीहरू छन् ।

खुला दिसामुक्त क्षेत्र घोषणा भएर अधिकांश घरमा बनेका शौचालयमध्ये धेरैजसो प्रयोगविहीन रहेको तथ्य खुला क्षेत्रमा कायमै रहेको शौच दृश्यबाटै थाहा हुन्छ ।

गोलबजारको दक्षिणपट्टि गाँगन खोला नजिकै छ, निपाने गाउँ । निपाने अर्थात् पानी नभएको, सुक्खा ठाउँ । खोला नजिकैको सडकपुर टोलमा भेटिए, सियाराम हरिजन । उनले समस्या यसरी सुनाए— “खानेपानीको राम्रो प्रबन्ध छैन, सर्पदंशकोे उपचार छैन, छठ मनाउने पोखरी छैन, ढल नहुँदा बर्खायाममा बस्ती थप दुर्गन्धित बन्छ, बिहे र अरू कार्जेमा पाहुना आउँदा राख्ने सामुदायिक भवन छैन । फुसको छाना भएका घरहरूमा आगलागीको जोखिम छ ।”

राजमार्गको नजिक र, शिल्पी समुदायको बाक्लो बसोबास रहे पनि यो बस्तीमा दुःखको खात छ । गरीबी, छुवाछूत र अन्धविश्वास त बेस्सरी चुलिएको छ । बजारमा ग्याँस सिलिन्डरको प्रचलन भए पनि सेरोफेरोका अधिकांश बस्तीमा खाना पकाउन गुइँठा बालिन्छ ।

यता गोबरसँगै गृहिणीको स्वास्थ्यलाई धुवाँ बनाइरहेछ गुइँठाले तर, गोबरग्याँस प्रोजेक्ट पहाडतिर बढी देखिन्छ । यो असङ्गति मन दुख्ने खालको छ । नगरपालिका, प्रदेश सरकारसँगै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यसतर्फ ध्यान दिनुपर्छ ।

गोलबजारको उत्तरी भेगमा विशाल घाँसे मैदान, विभिन्न सानाठूला ताल र तामाङ बस्ती छ । पुरानो पहाडी घरको ढपक आउने घरमा खपडा, टाटीको संयोजनले तामाङ घरका डिजाइन आकर्षक देखिन्छन् । घर–बस्ती सफा राख्न, फूलबारी बनाउन र गर्मी छल्ने काइदा जानेका ती घरहरूमा होमस्टेको सम्भावना छ ।

कोइरी, यादव, मुसहर आदि जातजातिका घर–बस्ती पनि सुन्दर छन् । तर, त्यो सुन्दरतामा स्वच्छता लेपन गरिनुचाहिं नितान्त जरूरी छ । वर्षौंदेखि गरीबी, अशिक्षा र विभेदग्रस्त शिल्पी समुदायको बस्तीमा भने सरसफाइ बेवास्तामा परेको बुझन सकिन्छ ।

गण्डकी अञ्चल सेरोफेरोमा हुर्के, भिजेको जोकोहीलाई पनि तालजति जम्मै पोखरा सेरोफेरोमा मात्र छन् भन्ने लाग्दो हो । पोखरेलीले धेरै र ठूला ताल पाए, त्यसलाई पर्यटनसँग जोड्न सके । जमेका हैन, बगेका ताल भएकाले ती अन्यत्रका भन्दा अलि बढी सफा र स्वच्छ पनि भए, हिमाल हेर्ने ऐना जस्ता बने ।

तर, मधेशका ताल राम्ररी बग्न पाएनन् । स–साना पोखरीझैं जमेर बसे । तिनले स्याहार पाएनन्, प्रचार पाएनन्, अनि झडीमा पुरिएर बसे । वर्षमा एकदिन छठ मनाउन सफा पारिए पनि अरू दिन ती बेवारिसे बने ।

मुसहरनियास्थित प्रकाश तामाङको घर ।


गोलबजार सेरोफेरोमा पनि अति नै सुन्दर तालहरू छन् । एकाधबाहेक अधिकांशले स्याहार, संरक्षण नपाएकाले दलदल बनेर बसिरहेका छन् । उत्तरी भेगमा रहेका बुद्ध ताल (काली ताल र सेती ताल), कुम्भीखाडी ताल मन बहलाउने खालका छन् ।

तर, सरसफाइ र स्याहारसम्भार अभावमा ती पोखरी जस्ता देखिएका छन् । जमीन मुनिबाट पानी तानेर नियमित भर्ने, माछा पाल्ने, फोहोर पानीको निकास निकाल्ने, डुंगा चलाउने जस्ता गतिविधि गर्न सकिए स्थानीय पर्यटक यो सेरोफेरोमा पक्कै रमाउने छन् । कुम्भीखाडी तालमा दैनिक करीब ५० जना पर्यटकहरू पुग्ने गरेको ताल हेरचाहमा खटिएका ताराबहादुर सुनुवार बताउँछन् ।

बाटो सहज नभएको र प्रचारप्रसारको कमीले बुद्ध ताल परिसरमा जानेको संख्या कम छ । लामाडाँडाको सुन्दर र विशाल मैदानी क्षेत्र पिकनिकका लागि प्रख्यात छ । तर, त्यहाँ शौचालय, फोहोरमैला संकलन केन्द्र र पिकनिक स्थलहरू व्यवस्थित गरिएका छैनन् ।

ग्रामीण बस्तीहरूमा होमस्टे, बजारमा सुविधासम्पन्न होटल, बाटोघाटोको स्तरोन्नति र आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरी यो क्षेत्रको पर्यटन विकास गर्न सकिन्छ । गोलबजारलाई क्षेत्रीय तहमा आकर्षणको केन्द्र बनाउन पर्यटकीय पूर्वाधारको विकास जरूरी छ । नगर क्षेत्रका भित्री बस्तीका सडकहरूमा ढुंगा वा इँटा छाप्न सके अझ् राम्रो बन्नेछ ।

राजमार्ग र सहायक सडकका दायाँबायाँ घर थप्दै जाने बस्ती निर्माणको आम प्रचलन गोलबजार क्षेत्रमा पनि चलेको छ । बेलगाम बस्ती विस्तारसँगै फोहोरमैला व्यवस्थापन, खुला ठाउँ, बत्ती, पानी लगायत समस्या थपिने हुँदा अहिले नै बस्ती विकासको गुरुयोजना आवश्यक छ । साइकलको प्रचलन अत्यधिक रहेकाले त्यसलाई प्रोत्साहन गर्न साइकल लेन सहितको सडक बनाउनु उपयुक्त हुन्छ ।

स्रोतसाधनले सम्पन्न भए पनि हरेक चिज असरल्ल र अलपत्र जस्तो देखिएको गोलबजारलाई सुव्यवस्थित बजार बनाउन सकिन्छ भन्ने आत्मविश्वास बोकेर काम गर्ने जनप्रतिनिधि र त्यसमा सघाउने स्थानीयवासीको जय होस् ! 

प्रतिकृया दिनुहोस