आमाको पुण्यतिथिमा दुई विद्यालयमा अक्षयकोष
रुपन्देहीको सैनामैनाका दुई दाजुभाइले आफ्नी आमाको तेह्रौं दिनको पुण्यतिथिमा दुई विद्यालयमा रु तीनलाख बराबरको अक्षयकोष स्थापना गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव लोकराज भुसाल र नेपाल शैक्षिक परामर्श संघका प्रथम सचिव दिपकराज भुसालले रुपन्देहीको सैनामैना मावि र अर्घाखाँचीको मालारानी–५ स्थित सिद्ध माविमा प्रति विद्यालय १ लाख ५१ हजार रुपैयाँका दरले अक्षयकोष स्थापना गरेका हुन् ।
आमा टुमकला भुसालको तेह्रौं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा उनीहरुले सैनामैनामा ‘चूडामणि–टुमकला भुसाल स्मृति छात्रवृत्ति कोष’ र सिद्ध माविमा ‘तारा प्रसाद भुसाल र रुपा भुसाल छात्रवृत्ति अक्षयकोष’का लागि रकम हस्तान्तरण गरे ।
ती विद्यालयका प्रधानाध्यापकहरु शिव बस्याल र दिनेश केसीले रकम ग्रहण गर्दै दिवंगत व्यक्तिहरुको समाजसेवामा उच्च योगदान रहेको र अक्षयकोष स्थापनाले उनीहरुको नाम अमर रहने बताए ।
अक्षयकोषबाट जेहेन्दार विद्यार्थीहरुको लागि छात्रबृत्ति प्रदान गरिने उनीहरुले घोषणा गरे ।