पञ्जाबविरुद्ध सन्दीपको शान, लिए दुई विकेट
महत्वपूर्ण दुई विकेट लिँदैं नेपाली युवा स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल)को आजको व्यक्तिगत दोस्रो खेलमा पनि आफूलाई प्रमाणित गरेका छन् ।
किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा सन्दीपले आफ्नो पहिलो र चौथो ओभरमा विकेटले लिए ।
खेलको चौथो र आफ्नो पहिलो ओभरको पाँचौं बलमा सन्दीपले साम कुरानलाई एलबीडब्लू धरापमा पारे, जतिबेला कुरान १० बलमा २० रन बनाएर खेलिरहेका थिए ।
पञ्जाबले बलियो रनस्कोर खडा गर्ने संकेत गरिरहकै बेला सन्दीपले १३.५ ओभरमा भरपर्दा ब्याट्समेन सरफराज खानलाई विकेटकिपर ऋषभ पन्तको हातबाट क्याच गराए ।
सन्दीपको यो ब्रेकथ्रू विकेटसँगै पञ्जाबको धर्मराएको थियो । पञ्जाबले २० ओभरमा १६६ रन मात्र बनायो ।
चार ओभरमा २७ रनमात्र दिएका सन्दीपले ६.७५ को किफायती बलिङ गरे ।
अहिले दिल्ली जवाफी ब्याटिङ गरिरहेको छ ।
दिल्लीका लागि क्रिस मोरिसले तीन, कगिसो रबाडाले दुई विकेट लिएका थिए ।
पञ्जाबको घरेलु मैदान मोहाली भइरहेको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो ।
शनिबार कोलाकाता नाइट राइर्डससँगको आफ्नो पहिलो खेलमै सन्दीपले ओपनर निखिल नायकको विकेट लिएका थिए । उनले चार ओभरमा २९ रन मात्र दिए । उनकै बलिङ र स्टम्पिङमा अर्को खेलाडी रन आउट पनि भए ।
खेलमा सुपर ओभरमा दिल्ली विजयी भएको थियो ।
कोलकाता नाइट राइर्डससँगको अघिल्लो खेलमा सबैको मन जितेका सन्दीप आजको खेलमा दोहोरिने धेरैंको आँकलन थियो । भइदियो पनि त्यस्तै ।
आइपीएलको अहिलेसम्मका तीन खेलमा दिल्लीले दुईमा जीत र एकमा हार बेहोरेको छ ।