आज पनि खेल्दै छन् सन्दीप
इन्डियन प्रिमियर लिग (आइपीएल)को शनिबारको पहिलो खेलमै शानदार शुरुआत् गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आजको खेलमा पनि मौका पाएका छन् ।
दिल्ली क्यापिटल्सको आजको खेल किंग्स एलेभेन पञ्जाबविरुद्ध उसैको घरेलु मैदान मोहालीमा हुँदैछ । दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ ।
कोलकाता नाइट राइर्डससँगको अघिल्लो खेलमा सबैको मन जितेका सन्दीप आजको खेलमा दोहोरिने धेरैंको आँकलन थियो । र, भइदियो पनि त्यस्तै।
शनिबार कोलाकाता नाइट राइर्डससँगको आफ्नो पहिलो खेलमै सन्दीपले ओपनर निखिल नायकको विकेट लिएका थिए । उनले चार ओभरमा २९ रन मात्र दिए । उनकै बलिङ र स्टम्पिङमा अर्को खेलाडी रन आउट पनि भए ।
उनी सर्वाधिक किफायती बलर बने ।
खेलमा सुपर ओभरमा दिल्ली विजयी भएको थियो ।
आइपीएलको अहिलेसम्मका तीन खेलमा दिल्लीले दुईमा जीत र एकमा हार बेहोरेको छ ।
सन्दीपलाई शुरुआत्का दुई खेलमा समावेश नगराएकोमा क्रिकेट पण्डितहरुले समेत आश्चर्य प्रकट गरेका थिए ।
चेन्नाइसँगको खेलको समीक्षाका क्रममा अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज पनि दिल्लीले प्लेइङ ११ टोलीमा सन्दीपलाई नखेलाएको आफू छक्क परेको बताएका थिए ।
“सन्दीपले चेन्नईका मध्यक्रमका ब्याट्समेनको लय तोडन सक्छन्”, क्रिकइन्फोसँगको अन्तर्वार्तामा हजले भनेका थिए ।
अन्ततः मध्यक्रमको ब्याट्समेनकै साझेदारीले चेन्नईले जित हासिल गरेको थियो ।