ब्लगआइतबार, १७ चैत्र , २०७५

गण्डकी प्रदेशको पहेंलो ढुंगा

कनकमणि दीक्षित

कसको आइडिया हो, पोखराको ऐतिहासिक चिप्लेढुंगालाई आँखै खाने पहेंलो रंगाउने? यस्तो सोचको कारक के थियो?

पहेंलो रंगिएको चिप्लेढुंगा । तस्वीरः सुरज हजारे दाहाल

स्थानीय सरकार र प्रान्तीयमा केन्द्रीकृत राज्य व्यवस्था भन्दा सुझबुझ र सामाजिक नियमन बढी हुन्छ भन्ने सोच थियो।

तर, पर्यटन उद्योगमा आफ्नो आर्थिक भविष्य बनाउन चाहने गण्डकी प्रदेशको हालै पोखरा–मुस्ताङ भ्रमण गर्दा धेरै कुरा बिग्रिएको अथवा बिग्रँदै गएको देखियो, जसले पर्यटनकै सम्भावनाहरुलाई धक्का दिएको छ।

आज प्रदेशका डाँडाकाँडा सर्वत्र पुरानो शैलीका घर भत्कँदैछन्। गुरुङको घुमाउने घर अब बन्दैनन्, मुस्ताङका मौलिक माटोका छतलाई नीलो करुगेटेड् छानोले ढाक्दैछन्।

जोमसोममा बन्दै गरेका घरहरू कलंकी र ग्वार्कोभन्दा कत्ति पनि फरक छैनन् — पिलर सिस्टम्, प्लेट ग्लास इत्यादि। मुक्तिनाथ मन्दिर वरपर बन्दै गएका ठूला–साना होटलहरूमा न वास्तुकला, न ‘स्केल’ लाई ध्यान दिइएको छ। ‘बब् मार्ली’ नामको एउटा मात्र होटल छ जसको निर्माणमा फरक सोच देखियो।

मार्फामा पनि नीलो छानो छिरेछ।

मुक्ति क्षेत्रको ऐतिहासिक बौद्ध–बोन–हिन्दू सम्पदा मुक्तिनाथ मन्दिर र प्राचीन नरसाङ गुम्बा (ज्वालामाई) हो। यस्तो महत्वपूर्ण दुई परिसरको बीच आज शाक्यमुनि बुद्धको बडेमानको ३५ फिटे प्रतिमा खडा गरिएको छ, जसले छेवैका दुई सम्पदा स्थललाई छायाँमा पार्छ। सस्तो पर्यटनको ध्याउन्नमा हामी तीर्थालुको संवेदनशीलता र सम्पदा स्थलको गरिमा बिर्सन्छौं।

मुक्तिनाथमा रहेको बुद्धको मूर्ति।

अहिले कालीगण्डकीको तीरैतीर उत्तरको कोरला नाकादेखि बनिरहेको राजमार्गमा काम भइरहेछ। चौडा हाइवे बन्दैछ, तर यसले थाकखोलाका ऐतिहासिक बस्तीहरू कोबाङ्ग, टुकुचे, जोमसोम, लार्जुङ र तातोपानीलाई छिन्नभिन्न पार्दैछ। बाटोलाई पुराना बस्तीको छेउबाट लैजान सकिन्थ्यो, जसको लागि प्रान्तीय र स्थानीय राजनीतिक नेतृत्व सक्रिय हुनुपथ्र्यो, तर भएको देखिंदैन।

स्थानीय बासिन्दालाई त बस/कार आफ्नै दैलोमा आइदेओस् भन्ने लाग्छ नै, तर यसले सांस्कृतिक, आर्थिक, सामाजिक आदि पाटोमा पार्ने दूरगामी असरबारे बुझाउने काम पर्याप्त भएन जस्तो छ।

धन्न थाकखोलाको सबैभन्दा ठूलो बस्ती मार्फा चाहिं कोरला राजमार्गको ‘कटान’ बाट बचेको छ ∕ मार्फा रमणीय त छँदैछ, ऊर्जाशील बन्दै गरेको देखिन्छ। मार्फालाई झैं अन्य बस्तीलाई बचाउन अझै पनि समय छ, राजमार्गलाई बस्तीको छेउ लगाएर लैजाने।

पोखरामै झरौं र हेरौं। शहरको पहिचान झल्काउने पीपल चौताराहरू अब विरलै भेटिन्छन्। पोखराको भौगर्भिक उत्पत्ति करीब एकहजार वर्षअघि चट्टान र बालुवासँग बोकेर आएको बाढीसँग सम्बन्धित छ, जसले मध्यपहाडी उपत्यकालाई पुरेर समथर मैदान बनायो।

पुरानो उपत्यकाका पहाडका चुचुराहरू पोखराको फाँटमा टापु जस्ता रहे। आजका हामीले ढुंगाखानी बनाउँदै यी टापुहरू ध्वस्त बनायौं, एउटा भौगर्भिक सम्पदालाई नै नष्ट पार्‍यौं।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि निसन्देह यो उपत्यकाले काठमाडौंलाई राम्रै चुनौती दिनेछ, आकर्षण, बसोबास र बजारको हिसाबले।

तर जो आश थियो त्यो नहुने जस्तो छ — काठमाडौंबाट पोखराले सिकोस्, अव्यवस्थित शहरीकरण, प्लास्टिक र वायु प्रदूषण, प्लटिङ र अनर्थको वास्तुकला।

कोरला राजमार्ग।

पोखराले आफूबारे फुरुङ्ग पर्दा पर्दै आफ्नो सौन्दर्य गुमाउँदो छ। हवाईजहाजबाट पोखरा उत्रँदा मैले भिडियो खिचें। यो डेढ मिनेटका दौरानमा तपाईंले जे देख्नुहुन्छ, त्यो तपाईं हामीले चिनेको पोखरा नै होइन।

हेर्नुहोस् भिडियो–

 

प्रतिकृया दिनुहोस