व्यक्तित्वआइतबार, १७ चैत्र , २०७५

चिन्तनशील अर्थशास्त्री, प्रिय गुरु

प्रा. डा. मदनकुमार दाहालको सम्झना

हिमालखबर

- प्रा. डा. मोहन लोहनी

सात दशकमा सात वटा संविधान र १४ वटा विकास योजना लागू हुँदा तिनको उपलब्धि के भयो भन्ने प्रश्न प्रा. डा. मदनकुमार दाहालको थियो ।

प्रा.डा. मदनकुमार दाहालको निधनबाट हामीले एक कुशल र अनुभवी अर्थशास्त्री गुमाएका छौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागमा झण्डै चार दशकसम्म प्राध्यापन गरेका उनी विभागीय प्रमुख समेत भएका थिए ।

त्रिविबाट अवकाश पाएपछि पनि उनी अर्थशास्त्रका एमफिल विद्यार्थीलाई पढाउँथे । विद्यावारिधि गर्न इच्छुक छात्रछात्रा उनलाई शोध निर्देशकका रूपमा पाउँदा आफूलाई धन्य ठान्थे ।

दाहालको क्षेत्र अर्थशास्त्र र मेरो अंग्रेजी साहित्य भए पनि एउटै विश्वविद्यालयमा प्राध्यापन गर्ने भएकाले हाम्रो भेटघाट र विचार आदानप्रदान भइरहन्थ्यो । नेपाल राष्ट्र ब्याङ्कका प्रथम गभर्नर हिमालयशमशेर राणाको नेतृत्वमा २०६० सालमा स्थापना भएको नेपाल नागरिक मञ्चमा सम्मिलित भएपछि हाम्रो घनिष्टता बढेको थियो ।

प्रा.डा. दाहालको प्राज्ञिक व्यक्तित्वको उदाहरण उनका अनुसन्धानमूलक लेख, शोधपत्र र पुस्तकहरूले दिन्छन् । मेगा ब्याङ्कका संस्थापक अध्यक्ष रहेका दाहालले आर्थिक क्षेत्र सम्बन्धी संगठनहरूको नेतृत्व वहन गरी तिनलाई सक्षम, प्रभावकारी र परिणाममुखी बनाउन पनि योगदान गरे ।

सार्वजनिक वित्तमा समेत दक्खल राख्ने उनी कर प्रणालीका ज्ञाता थिए । कर सम्बन्धी अनुसन्धानमा विद्यावारिधि गरेका उनलाई कर प्रशासनलाई चुस्त राख्न र राजस्व परिचालनमा ठोस सुझाव र प्रस्ताव पेश गर्न सरकारले राजस्व परामर्श समितिमा जिम्मेवारी दिएको थियो । उनी अर्थशास्त्रीहरूको साझा संस्था नेपाल आर्थिक संघका पूर्वअध्यक्ष थिए ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेल र प्रा.डा. दाहालको सम्पादनमा सन् २०१८ मा प्रकाशित ‘नेपालः अ कन्ट्री इन ट्रान्जिसन’ पुस्तकमा प्रा.डा. दाहालको ४१ पृष्ठको अनुसन्धानमूलक लेख ‘द अनरिमिटिङ स्ट्रगल फर इकोनोमिक सर्भाइभल एन्ड ग्रोथ’ छापिएको छ ।

विस्तृत सन्दर्भ सामग्रीको आधारमा तथ्यांकसहित लेखिएको उक्त लेखबाट देशको अर्थतन्त्रको पृष्ठभूमि, वर्तमान स्थिति र सुधारका उपायबारे धेरै कुरा प्रकाश पारिएको छ ।

प्राध्यापनबाट अवकाशपछिको एक दशकयता दाहाल विभिन्न सञ्चारमाध्यमबाट देशको आर्थिक स्थितिको अध्ययन, समीक्षा र विवेचना गरिरहेका थिए । सात दशकमा सात वटा संविधान र १४ वटा विकास योजना लागू हुँदा तिनको उपलब्धि के भयो भन्ने उनको प्रश्न हुन्थ्यो । औद्योगिक विकासको धिमा गति र न्यून आन्तरिक उत्पादनका कारण देशमा उपभोग्यदेखि विलासितासम्मका सम्पूर्ण वस्तुको आयात हुने गरेकोमा उनको चिन्ता थियो ।

कुल व्यापार घाटा अचाक्ली बढेको, भुक्तानी सन्तुलन नकारात्मक रहेर प्रतिव्यक्ति ऋण वृद्धि भएको औंल्याउँदै उनी आयातबाट प्राप्त हुने कमिसन र राजस्व परिचालनबाट हुने भ्रष्टाचारले अधिकारसम्पन्न व्यक्तिहरू रातारात धनी हुने र परिश्रम तथा लगानी नै नगरी नवधनाढ्य हुने अर्थतन्त्रको पछिल्लो प्रवृत्तिप्रति तिखो आलोचना गर्थे ।

विद्यमान आर्थिक विसंगति र विगतका त्रुटिको समीक्षा गर्दै निश्चित समयसीमाभित्र अपेक्षित प्रतिफलको सुनिश्चितता गर्न आगामी पञ्चवर्षीय योजना मार्फत व्यावहारिक रणनीति तर्जुमा अविलम्ब हुनुपर्नेमा उनको जोड थियो ।

प्रा.डा. दाहाल प्रष्टसँग भन्थे, ‘कृषि क्षेत्रको लगानीबाट लागत उठ्न नसकेको, उद्योग र पर्यटन क्षेत्रले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसकेको, राजनीति, भ्रष्टाचार आदिका कारण परियोजनाहरू समयमा कार्यान्वयन नहुँदा राष्ट्रिय आय अपेक्षाकृत बढ्न नसकेको र यो स्थितिमा सुधार नभए अर्थतन्त्र टाट पल्टिन्छ ।’

छिमेकी देशहरू, अन्य दुईपक्षीय र बहुपक्षीय निकायबाट समेत अधिकतम सहयोग जुटाउन प्रयत्नशील हुनुपर्ने र उपयुक्त कदम चाल्न नसके ‘अविकासको कुचक्रले हाम्रो सार्वभौमसत्ता जोखिममा पर्ने सम्भावना बढेको’ उनले औंल्याएका छन् ।

दिवंगत हुनुभन्दा केही दिन अघि राष्ट्रिय एकताका लागि अपील गर्दै दाहालले प्राचीन सभ्यता, संस्कृति र मौलिकता बचाउन र जनतालाई समृद्ध बनाउन आह्वान गरेका थिए । त्यसले नै संसारमा हाम्रो पहिचान र अस्तित्व रहने उनको निष्कर्ष थियो । दाहालको विचारमा सम्मति जनाउँदै उनीप्रति हार्दिक श्रद्धासुमन !

प्रतिकृया दिनुहोस