प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाइ आजदेखि
प्रमुख निर्वाचन आयुक्तका लागि सिफारीस भएका दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रकृया आजदेखि शुरु हुने भएको छ ।
संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बिहान ११ बजे बैठले थपलियाको सुनुवाइ प्रकृया शुरु गर्न लागेको हो ।
सुनुवाइ समितिले समावेशी आयोगको सदस्य पदका लागि सिफारीस भएका विष्णुमाया ओझाको सुनुवाई पनि आजै शुरु गर्ने जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा रहेका थपलियालाई संवैधानिक परिषदले ११ चैतमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिको लागि सिफारिस गरेको थियो ।
निर्वाचन आयोगका निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादवले १० चैतमा अवकास पाएपछि रिक्त पदमा नियुक्तिका लागि थपलियालाई सिफारीस गरेको हो ।
संविधानको धारा २८४ को उपधारा ३ मा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
तर परिषदले पद रिक्त भएपछि मात्र आयोगमा प्रमुख आयुक्त सिफारिस गरेकाे हाे । थपलिया बहालवाला सचिव पनि हुन् ।
यादवसंगै अवकास पाएका आयुक्त इला शर्माको पदमा भने परिषदले अझै सिफारीस गरेको छैन ।