चिकित्सक संघ डिन केपी सिंह हटाउने मागको विपक्षमा
नेपाल चिकित्सक संघ दशौं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको मागमध्ये आइओएमका डिन डा. केपी सिंहलाई हटाउनु पर्ने मागको विपक्षमा देखिएको छ ।
शनिवार भएको छलफलका क्रममा संघका पदाधिकारीहरुले डा केसीका अन्य मागमा समर्थन जनाउन सकिए पनि चिकित्सा शास्त्र अध्ययन् संस्थान (आइओएम) डिन हटाउने मागमा भने समर्थन जनाउन नसकिने बताएका थिए ।
चिकित्सक संघ कार्यकारी समिति, संघका वरिष्ठ सदस्यहरु, विभिन्न स्पेशलिस्ट सोसाईटीका पदाधिकारीहरु तथा नेशनल रेजिडेन्ट्स डाक्टर्स एसोसिएसन, रेजिडेन्ट्स एसोसिएसन अफ न्याम्स, जुनियर रेजिडन्ट्स सोसाइटी, नेशनल डक्टर्स एसोसिएसन, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, डक्टर्स सोसाइटी अफ नेपाल, सोलिडारिटी अफ मेडिकल फ्याटर्निटी र सोलिडारिटी फर डा केसी अलायन्सका प्रतिनिधिहरु सम्मिलित
आकस्मिक बैठकका क्रममा संघका पदाधिकारीले सिंहलाई आईओएमको डिनबाट हटाउन नसकिने बताएका थिए ।
छलफलका क्रममा डा. केसीले उठाएका सबै मागमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा संघका सदस्य तथा पदाधिकारीहरुका बीचमा चर्काचर्की परेको थियो ।
त्यसै क्रममा संघका पूर्व अध्यक्ष डा. चोपलाल भुषालले वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने नियम नभएको बताए ।
“डा केसीले माग राख्दैमा केपीलाई फाल्ने भन्ने हुँदैन”, भुषालले भने, “आइओएममा रतेन्द्र हुँदा जगदिशलाई डिन बनाउने विषयमा आईओएमका ८० प्रतिशत फ्याकल्टीले विपक्षमा हस्ताक्षर गरेका थिए । त्यसैले वरिष्ठताको आधारमा डिन नियुक्त गर्ने विषयमा समस्या पर्न सक्छ । संघ बीचमा बसेर अघि बढ्नुपर्छ ।”
बैठकमा भुषालले आफ्नो धारणा राखेपछि अधिंकाश सदस्यले उनलाई समर्थन गर्दै बोलेका थिए ।
छलफलका क्रममा डा. नबिन शर्माले डा. केसीको मागमा चिकित्सक भित्रैदेखि प्रतिबद्ध हुन नसकेको आरोप लगाएका थिए ।
शर्माले भने, “डा. केसीका माग सम्बोधन गर्न चिकित्सक संघ आफैमा विभाजित छ भने विज्ञप्ति निकालेर मात्र कसरी समस्या समाधान हुन्छ ?”
संघले दिनभरको छलफल टुङ्गोमा पुग्न नसकेपछि डा. केसीले उठाएका ‘जायज माग सम्बोधन गर्न’ सरकार समक्ष आह्वान गरेको थियो ।
विज्ञप्तिबाटै संघ डा. केसीले उठाएका सबै मागमा प्रतिबद्ध भएर समर्थन गर्न नसकेको देखिन्छ ।
त्यसो त संघले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकलाई डा. केसीले कारवाहीको माग राखेको बेला उनका जायज माग सम्बोधन गर्नुपर्ने भन्दै विज्ञप्ति निकालेको थियो । त्यतिबेला संघ डा. केसीले उठाएका मागमा प्रतिबद्ध हुन नसकेको भन्दै चौतर्फी आलोचना भएको थियो ।
हालै भएको चिकित्सक संघको निर्वाचनमा अधिकांश नेपाली कांग्रेस निकट प्रजातान्त्रिक समुहका सदस्यहरु बिजयी भएका छन् । डा. केपी सिंह पनि कांग्रेस निकट हुन् ।
संघको बैठकमा उपत्यकामा रहेका अस्पताल र मेडिकल कलेज सञ्चालकहरुलाई पनि उपस्थित हुन आमन्त्रण गएिकोमा उनीहरु बैठकमा उपस्थित थिएनन् ।
नेपाल चिकित्सक संघ र डा.गोविन्द केसीका प्रतिनिधिहरुका बीचमा १० मंसीरमा भएको छलफलपछि संघले आफ्ना सम्पूर्ण सदस्य, पदाधिकारी र अस्पताल तथा मेडिकल कलेज सञ्चालकलाई डा. केसीले राखेका मागबारे छलफल गर्न ११ मंसीरमा आकस्मिक बैठक बोलाएको थियो ।
रामु सापकोटा