थप समाचारशनिबार, १६ चैत्र , २०७५

भ्रुणको मुटुको चाल थाहा भएपछि गर्भपतन गर्न नपाइने !

हलिउडकर्मीद्वारा जर्जिया नजाने चेतावनी

रासस

अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको ‘मुटुको चाल’ थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी नयाँ कानूनमा हस्ताक्षरको तयारी गरेका छन् ।

गर्भपतनविरोधी विधेयकविरुद्ध प्रदर्शन गर्दै जर्जियाका महिला । तस्वीरः एपी

 

स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले ‘मुटुको चालसम्बन्धी विधेयक’ पारित गरेको थियो । विधेयकको पक्षमा आवश्यकभन्दा एक मत बढी अर्थात् ९२ मत परेको थियो भने विपक्षमा ७८ ।

यो कानुन अनुसार भ्रुणको पहिलो मुटुको चाल थाहा पाएपछि गर्भपतन गर्न पाइने छैन । सामान्यतया भ्रुणको मुटुको चाल ६ सातामा थाहा हुन्छ । जबकि कतिपय गर्भवती आमालाई ६ सातासम्ममा आफ्नो पेटमा बच्चा छ भन्ने समेत थाहा हुँदैन ।

गर्भनरले हस्ताक्षर गरे यो कानून जनवरी १ २०२० देखि लागू हुनेछ ।

हलिउडका कलाकारहरुले भने उक्त कानून पारित गरिए जर्जियामा कुनै पनि चलचित्रको छायांकन नगर्ने र यसबारे राज्यलाई ठूलो क्षति पुग्ने चेतावनी दिएका छन् ।

संयुक्तराज्य अमेरिकामा केही वर्षदेखि गर्भपतनको विषयले राजनीतिक रुप लिएको छ । केही अमेरिकी राज्यहरुले गर्भपतनलाई सीमित गर्ने प्रयास पनि गरेका छन् । गर्भपतनको पक्ष र विपक्षमा पूरै राजनीति बाँडिएको छ ।

“जर्जियाले प्राण वा जीवनलाई महत्व दिन्छ । हामी निर्दोष र आवाजविहीनको पक्षमा छौं,” गभर्नर ब्रायन केम्पले भनेका छन् । रिपब्लिकन पार्टीका गभर्नर केम्पले सांसदहरुलाई सम्बोधन गरेर लेखिएको वक्तव्यमा उल्लेख छ ।

अमेरिकाको अमेरिकी नागरिक स्वतन्त्रता यूनियन (एसीएलयू) ले जर्जिया राज्यको उक्त कदम विरुद्ध अदालतमा चुनौती दिने जनाएको छ ।

“गभर्नर केम्पले उक्त विधेयकमा लालमोहर लगाए हामीसँग एउटा मात्र विकल्प छः अदालतको ढोका घच्घच्याउने,” एसीएलयूका कार्यकारी निर्देशक आन्द्रे योङले बताएका छन् ।

अमेरिकी सर्वोच्च अदालतले सन् १९७३ मा एक आदेश मार्फत देशव्यापी रुपमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो ।

रिपब्लिकन पार्टी र राष्ट्रपति ट्रम्प गर्भपतनको विपक्षमा छन् । रिपब्लिकन पार्टी र यसका समर्थकहरु “जीवनको अधिकार” को पक्षमा उभिएका छन् भने डेमोक्र्या्टिक पार्टी “छनोटको अधिकार” को पक्षमा छन् ।

जर्जिया राज्य फिल्म र टेलिभिजन उत्पादनका लागि प्रमुख गन्तव्य हो । दर्जनौं हलिउड कलाकारले महिला विरुद्धको यस कानुनका कारण आफ्नो व्यवसाय अन्यत्र राज्यमा लैजाने भन्दै चेतावनी समेत दिएका छन् ।

करिब ५० जना कलाकारको एक पत्र लेख्दै यस्तो चेतावनी दिएका हुन् । जसमा कलाकारहरु एलिसा मिलानो, एलेक बाल्डवीन, एमी शुमर, बेन स्टिलर, सराह सिल्भरम्यान, मिया फारो, सिन पेनलगायत छन् ।

 

प्रतिकृया दिनुहोस