परीक्षा स्थगित भएको विरोधमा प्रदेश २ मा तोडफोड र आगजनी
प्रश्नपत्र बाहिरिएर परीक्षा स्थगित भएपछि प्रदेश २ का माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थी आन्दोलित भएका छन् ।
उक्त प्रदेशका विभिन्न ठाउँमा प्रदर्शन गरेका आन्दोलित विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
प्रदेश २ मा लगातार प्रश्नपत्र बाहिरिएपछि विज्ञान र सामाजिक विषयको परीक्षा रद्द भएको थियो ।
शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको प्रश्नपत्र पनि बाहिरिएपछि शिक्षा मन्त्रालयले उक्त प्रदेशमा एसईई परीक्षा नै स्थगित गरेको थियो ।
आन्दोलित विद्यार्थीले बारा, पर्सा र सप्तरीका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
बाराको जितपुरका विद्यार्थीले सवारीसाधन तोडफोड गर्न खोज्दा प्रहरीसँग झडप भएको छ । विद्यार्थीले प्रहरीमाथि ढुंगामुढा गरेपछि भीड तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
धनुषामा प्रदेश २ का भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगन्द्रराय यादव चढेको गाडी तोडफोड भएको छ ।
आन्दोलनरत विद्यार्थीले सप्तरीको राजविराजमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गर्दै पुत्ला जलाएका छन् ।
आन्दोलनरत जिल्लाहरूमा लामो दूरीका गाडी चलेका छैनन् । आन्दोलनलाई अराजक हुन नदिन प्रहरी परिचालन गरिएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खरचुहियामा चक्काजाम गर्दा सयौं सवारी साधन रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् ।