टिप्पणीशनिबार, १६ चैत्र , २०७५

सम्पदा क्षेत्रमा घातक कंक्रिट मोह

वसन्त महर्जन

वसन्त महर्जन

ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा सिमेन्टको प्रयोग गर्न नहुने मापदण्ड विपरीत कंक्रिट मोह देखिनु घातक छ। 

ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा सिमेन्टको प्रयोग चिन्ताको विषय बनेको छ । नयाँ प्रविधिले निर्माण संरचनालाई बलियो बनाउने जिकिर एकातिर छ भने अर्कोतिर सम्पदा क्षेत्रमा सिमेन्टको प्रयोग मापदण्ड विपरीत हुने धारणा छ । यही दुई विपरीत सोचका कारण सिमेन्टको प्रयोगबारे सम्पदा क्षेत्रको निर्माण वा पुनर्निर्माण कार्य प्रभावित हुने गरेको छ । 

सांस्कृतिक सम्पदा सम्बन्धी हरेक कुराको जिम्मेवारी कानूनतः पुरातत्व विभागसँग छ । नवनिर्माण वा पुनर्निर्माण कार्यमा इतिहास, संस्कृति, परम्परा तथा मौलिकतामा आँच आउन नदिनु उसको दायित्व हो ।

तर, विभागले सो दायित्व निर्वाह गर्ने भन्दा पनि आफ्नो उपस्थिति मात्रै देखाउने गरेको छ । काठमाडौंको ऐतिहासिक रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर निर्माणमा सिमेन्टको प्रयोग गर्ने विषय नै मूल रूपमा विवादित बनेको थियो । पानी रसाएर आउनुपर्ने पोखरी किनारमा पनि ढुंगा र सिमेन्टको प्रयोग गर्ने र सतहमा सिमेन्ट प्लास्टर गर्ने योजना थियो ।

तर यसमा स्थानीय सम्पदाप्रेमीहरूले व्यापक विरोध र काममा अवरोध गरे । अन्ततः सिमेन्ट प्रयोग गर्ने योजना गलत रहेको ठहर भइसकेको छ ।

रानीपाेखरी बीचकाे बालगाेपालेश्वर मन्दिर                                    तस्वीर:विक्रम राई

रानीपोखरीको पुनर्निर्माण कार्यमा शुरूदेखि नै संलग्न पुरातत्व विभागको सहमति विना निर्माणसँग सम्बन्धी अरू कसैले पनि केही गर्न सक्दैनन् । यसर्थ त्यहाँ सिमेन्टको प्रयोग गर्न दिनुमा पुरातत्व विभागकै लापरबाही हो । पुनर्निर्माण प्रक्रियामा भएको विवादकै कारण रानीपोखरीमा खासै काम हुन नसके पनि रु.३ करोडभन्दा बढी खर्च भइसकेको छ ।

भूकम्पले असर पारेका सम्पदाहरूमा सबैभन्दा छिटो पुनर्निर्माण सम्पन्न भएकोमा प्रशंसित खास्ति महाचैत्य (बौद्ध) मा सिमेन्ट प्रयोग गर्न नदिएको भनी पुरातत्व विभागका अधिकृतहरू सन्तोष व्यक्त गर्छन् । तर, तिनै अधिकृतका आँखा छलेर कसरी सिमेन्टको प्रयोग गर्न सफल भयौं र चुप लगायौं भनेर निर्माण कार्यमा संलग्न व्यक्तिहरूले अनौपचारिक रूपमा सुनाउने कुराले विभागको कार्यकुशलतामा प्रश्न उठाउँछ ।

पशुपति क्षेत्र विकास कोषले मापदण्ड विपरीत मृगस्थलीमा पैदलमार्ग बनाएपछि विभागले गएको २ पुसमा उक्त संरचना हटाउन र थप काम रोक्न निर्देशन दिएको थियो । तर कोषले अटेर गरेपछि स्थानीय सम्पदाप्रेमीहरू गएर अवरोध गरेका थिए । पशुपति क्षेत्रमा सिमेन्टको प्रयोग यो पहिलो पटक होइन । पाशुपत क्षेत्रका साथै अन्य सम्पदास्थलहरूमा सिमेन्टका संरचनाहरू अहिले पनि यथावत् छन् ।

भूकम्पपछि पुनर्निर्माण गरिएका कतिपय मन्दिर लगायत संरचनाहरूमा पुरातत्व विभागले नै सिमेन्टको प्रयोग गर्न स्वीकृति दिएको कुरा सार्वजनिक भएको छ । यसले विभागको दोहोरो मापदण्ड देखाउँछ ।

जबकि सम्पदा क्षेत्रमा सिमेन्टको प्रयोगमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले समेत आपत्ति प्रकट गर्छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा सिमेन्टको प्रयोग गर्न नहुने थाहा हुँदाहुँदै किन प्रयोग गरिन्छ त ? प्रयोग गर्न हुँदैन भन्ने आदर्श वाक्य पढेका विद्यार्थी सम्बन्धित क्षेत्रमा कार्यरत छन् र उनीहरू नै कार्य क्षेत्र अनुसार सिमेन्ट प्रयोग गर्ने र नगर्ने कित्तामा विभक्त छन् ।

सम्पदाको नवनिर्माण र पुनर्निर्माणमा सिमेन्ट वर्जित गर्नुपर्ने कारणहरू प्रष्ट छन् । पहिलो कारण, सिमेन्ट रैथाने प्रविधि नभएका कारण मौलिक सम्पदाका लागि यो उपयुक्त हुँदैन । दोस्रो, सिमेन्टको प्रयोगबाट निर्मित संरचना तत्कालका लागि बलियो देखिए पनि टिकाउ हुँदैन ।

५० देखि ६० वर्ष मात्रै आयु भएको सिमेन्टभन्दा माटो निर्मित संरचनाको आयु बढी हुने प्राविधिज्ञहरूको अनुभवले पनि सिमेन्टलाई सम्पदा क्षेत्रमा निरुत्साहन गर्न खोजेको हुनसक्छ । ऐतिहासिक तथा पुरातात्विक सम्पदा हुनका लागि हामीकहाँ त्यो वस्तु १००वर्षभन्दा पुरानो हुनुपर्ने प्रावधान छ । तर, सिमेन्ट नयाँ प्रविधि भएकाले त्यसबाट निर्मित संरचनाले १०० वर्षभन्दा कम मात्रै देखाउँछ । 

प्रतिकृया दिनुहोस