ब्लगशुक्रबार, १५ चैत्र , २०७५

जेल बसाइका दश महीना

भैरव रिसाल

सदरखोरमा डाडु–पन्युलाई हतियार भनिन्थ्यो। कैदी–बन्दीले अर्कोलाई आक्रमण गर्लान् भनेर साँझ नपर्दै डाडु–पन्यु नाइकेलाई बुझाउनुपर्ने नियम थियो।

२०४३ सालताका म ‘राजधानी’ साप्ताहिकमा स्तम्भ लेख्थें । त्यसै क्रममा ‘एशियाली मापदण्डः मन्त्रिमण्डलको ठगिखाने भाँडो’ शीर्षकको लेख लेखे बापत पञ्चायत सरकारले मलाई थुन्यो ।

‘ठगिखाने भाँडो’ भन्दा राजालाई पर्छ भनेर मन्त्रिमण्डल लेखेको थिएँ । तर, राजालाई नै भनेको अभियोग लगाएर राजकाज मुद्दा लगाउँदै जेल सजाय भयो । १० महीनाको जेल बसाइमध्ये मलाई नौ महीना डिल्लीबजार सदरखोर र त्यसपछि २२ दिन नक्खु कारागारमा राखियो ।

सदरखोरमा २७ मंसीर २०४३ पुगेको थिएँ । त्यहाँ पाँच वटा कोठा थिए । तीमध्ये चार कोठा कैदी–बन्दीलाई सुत्न व्यवस्था गरिएको थियो भने एउटामा भान्सा थियो । सुत्नलाई अडबाङ्गे काठहरू ओछ्याइएका थिए । पाँच नम्बर कोठामा मलाई पनि पुराना थुनुवाहरूले सुत्ने ठाउँ दिए । त्यो कोठामा ३० जना जति सुत्थ्यौं ।

ठाउँ कति साँघुरो थियो भने, एउटा थुनुवा अर्कोसँग टाँसिएर सुत्नुपर्ने ! दुई–चार दिन त जीउ चिलाएर हैरान भयो । मेरो छेउमा सुत्ने ‘बेडमेट’ मध्ये एकातिर चोरी मुद्दामा र अर्कोतिर हुलदङ्गा मुद्दामा थुनिएका युवक थिए । एक हप्तापछि चोरीका अपराधी छुटेपछि भने सुत्न अलि सजिलो भयो ।

त्यतिबेला सदरखोरमा लागूपदार्थ कारोबारीहरू धेरै थुनिएका थिए । कागको बथानमा बकुल्लो जस्तो राजनीतिक बन्दी म एक्लो थिएँ । कारागारहरूमा त्यहाँभित्रको व्यवस्थापन मिलाउन थुनुवाहरूमध्येबाटै चौकीदार, भाइ चौकीदार, नाइके, भाइनाइकेहरूको व्यवस्था गरिएको हुनेरहेछ । कुनै जेलमा चौकीदार प्रमुख हुने रहेछ भने कुनैमा नाइके ।

सदरखोर, डिल्लीबजार ।

सदरखोरमा चौकीदार र नक्खु कारागारमा नाइके प्रमुख थिए । बन्दीगृहभित्र प्रहरी प्रशासनको शासन नभई तिनै चौकीदार र नाइकेको काइदा–कानूनमा चल्नुपर्ने रहेछ । कैदी–बन्दीले रातिको खाना कुन मौसममा कति बजे खाइसक्ने, सुत्ने घण्टी कति बजे लगाउने जस्ता काम हेर्ने रहेछ, त्यो प्रशासन टोलीले । सदरखोरमा सामान्यतः राति दश बजे सुत्ने घण्टी लाग्थ्यो । त्यसपछि सामसुम भएर सुत्नुपथ्र्यो ।

सदरखोरमा खानेकुरा चोरी हुँदैनथ्यो, पानी भने चोरिने ! पानी जोगाउनै कठिन हुन्थ्यो । करीब २०० कैदी–बन्दीका लागि कारागारमा जम्मा चार वटा मात्र शौचालय थिए । कहिलेकाहीं त खुस्कला भन्ने पीर । पछि आन्दोलन गरेर थप चार वटा शौचालय थप्न लगाइयो । हामी पुरानालाई दोब्बर हुँदा सुविधा जस्तो लाग्यो । तर, नयाँ आउनेहरूलाई त त्यो अपुग नै थियो ।

हतियार ‘डाडु–पन्यु’ र साक्षर अभियान
त्यसैताका सदरखोरमा ‘साप्ताहिक मञ्च’ का पत्रकार पदम ठकुराठीलाई गोली हानेको काण्डमा पूर्व सहायक मन्त्री भीमप्रसाद गौचन र उनका भाइ जगत गौचन, नरशमशेरका छोरा विनोदशमशेरलाई थुन्न ल्यायो । त्यसपछि सो खोरको वातावरणमा अपराध प्रवृत्तिको आवाज ठूलो हुन थाल्यो । एक दिन भीमप्रसादलाई भेट्न तत्कालीन पञ्चायत नीति तथा जाँचबुझ केन्द्रबाट नुतनदेव खनाल र यज्ञप्रसाद आचार्य पनि आएका थिए ।

सदरखोरमा साँझ नपर्दै डाडु, पन्यु नाइकेलाई बुझाइसक्नुपथ्र्यो । कैदी–बन्दीले डाडु, पन्युले अर्को कसैलाई आक्रमण गर्लान् भनेर त्यसो गरिएको रहेछ । डाडु, पन्यु सुरक्षित राख्नेलाई हतियार नाइके भनिन्थ्यो । खोरभित्रै कैदीले एउटा किराना पसल चलाएका थिए, त्यहाँ चिया पनि पाइन्थ्यो ।

म त्यहाँ रहँदै वाणिज्य ब्याङ्कका दोस्रो हाकिम पुण्यकेशरी उपाध्यायको टोलीलाई नै भ्रष्टाचार काण्डमा थुन्न ल्यायो । त्यसपछि अलि रमाइलो भयो । त्यो पढालेखा समूह थियो । त्यसपछि कारागारमै पढाउने अभियान चलायौं ।

‘कालकोठरी’ नामको हावा र उज्यालो नछिर्ने एउटा कोठा थियो, त्यहाँ बत्ती जोड्न लगायौं र नेपाल वातावरण पत्रकार समूहले मलाई पठाइदिएको बिजुली पंखा चलाएर कक्षा सञ्चालन गर्‍यौं । त्यस क्रममा साहित्य सम्मेलन, कथा, कविता र निबन्ध प्रतियोगिता, वादविवाद कार्यक्रम आयोजना गर्‍यौं ।

चित्रकला प्रतियोगिता आयोजना गरेर प्रधानमन्त्रीलाई उद्घाटन गर्न बोलाइएको थियो, उनी नआएपछि जेलरबाटै गरायौं । त्यस्तो प्रतियोगिता मार्फत राम्रो काम गरेर पनि सम्मानित जीवन बिताउन सकिन्छ भन्ने सन्देश कैदी–बन्दीलाई दिने हाम्रो प्रयास थियो ।

पैसा कसको ?
सदरखोरमा एक जना थुनुवाले रु.५० भन्दा बढी रकम साथमा राख्न नपाइने नियम रहेछ । त्यसभन्दा बढी रकम भए जेलरलाई राख्न दिनुपथ्र्यो । त्यसरी राख्न दिएको खासगरी विदेशीहरूको रकम कता जाँदो रहेछ कता !

दक्षिण कोरियाका लागि कोष्टारिकाका तत्कालीन आवासीय राजदूत सुनकाण्डमा गौचर विमानस्थलमा समातिएर सदरखोरमै थुनिए । उनले आफूसँग भएको नगद जेलरलाई राख्न दिए ।

दुई सातापछि उनलाई कोष्टारिका फिर्ता गरियो । जेलरलाई राख्न दिएको रकम त्यत्तिकै गयो उनको । राजदूत हैसियतका व्यक्ति पक्कै पनि सुविधामा थिए । त्यस्ता व्यक्तिले सदरखोरको अस्तव्यस्तता भोगेर गए ।

प्रतिकृया दिनुहोस